जाने हैन त चिच्याएर बर माग्न सत्यवती

0
245

पाल्पा । चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती मेला बिहीवारबाट सुरू भएकाे छ ।  विगतका वर्षमा जस्तै यो वर्ष पनि यही मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सत्यवती मेला हुने आयोजकले जनाएको छ ।

सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले नेपालमै विशिष्ट पहिचान बोकेको सत्यवतीमा बर माग्ने मेला ५ दिन हुने जानकारी दिनुभयो । भक्तजनको माग र चाहना अनुसार यो वर्ष ५ दिन बर माग्ने मेला लाग्ने उहाँले बताउनुभयो ।

परापूर्व कालमा सत्यवती बज्यै घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर बर मारे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ ।  बर माग्ने मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, साल आदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूजा गरेपछि बर मागेर फर्कने परम्परा रहेको छ ।

किंवदन्ती अनुसार वर्षौ पहिले एक जना स्थानीय केटो सोही सत्यवती ताल वरपर खेल्दै रहेछ । बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भइछन् । एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटो डराएछ र अत्तालिएछ । पछि सत्यवती बज्यैले केटोलाई नआत्तनु भन्दै अगाडि भनिछिन् “म सत्यवती बज्यै हुँ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”

पछि सोही केटोले सत्यवती बज्यैसँगको भेटको कुरा घरमा पुगेर बेलीबिस्तार लगाएछ र लगत्तै उक्त केटोको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ ।

यहाँपरापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुबिधाका लागि सडक निर्माणका लागि हरेक वर्ष काम भइरहेको उहाँले जानकारी दिनुभयो । यो वर्ष पनि सिद्धार्थ राजमार्गको झुम्सादेखि सत्यवती तालसम्म पुग्ने बाटो निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here