मासिक प्रतिभा संगम कार्यक्रम सम्पन्न

0
185
गोपाल प्रसाद वश्याल । पाल्पा 
वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाको आयोजनामा ६८ औं मासिक प्रतिभा संगम कार्यक्रम विभिन्न साहित्यकारहरूबाट सिर्जना वाचन, कृति समीक्षा र साहित्यका समसामयिक पक्षहरूको विमर्श गर्दै शनिवार मोहन कन्या माध्यमिक विद्यालय तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिष्ठानको कार्यको चर्चा गर्दै प्रमुख अतिथि धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्यालले रोजगारी पनि विदेशीए शिर्षकको कवितामार्फत मुलुकमा परिवर्तन र विकास निर्माणका कार्य भैरहेको भएतापनि मानिसहरू विदेश पलायन हुने क्रम नरोकिएकोमा ब्यंग्य गर्नुभयो । साहित्यकार उपप्राध्यापक डा. शंकर गरैले संदिग्ध मन शिर्षकको लघुकथामार्फत साहित्यकारहरूप्रतिको नकारात्मक टिप्पणी र उसको सफलतापछि ती ब्यक्तिहरूबाटै प्रशंसाको बाढी आउने गरेका प्रति ब्यंग्य प्रहार गर्नुभयो । त्यस्तै साहित्यकार उपप्राध्यापक महेन्द्र पन्थीले आजकल सहर दुब्लाएको छ भन्ने गद्य कवितामार्फत विकृत, अविश्वसनीय र उकुसमुकुस सहरीया परिवेशप्रति तीखो प्रहार गर्नुभयो ।
साहित्यकार आर बि निश्चलले हालै प्रकाशित कृति उल्टो धारबाट प्रेम र सिर्जना शिर्षकको कविता वाचन गर्दै प्रेमबाट नै नयाँ जीवन प्राप्त हुने श्रृंगारिक भाव प्रस्तुत गर्नुभयो । साहित्यकार भावना खनालले बृद्धावस्था शिर्षकको छन्द कवितामा सन्तान विदेशिने र बृद्धावस्थामा बाबुआमाको विचल्ली अवस्थाको चित्रण गर्दै ती सन्तानको औचित्य नरहेको मार्मिक शब्दहरू प्रस्तुत गर्दा सबै गम्भीर बनेका थिए । साहित्यकार गोविन्द नेपालले कविताभित्रका्े कविता प्रस्तुत गर्दै कवितामा देखिने बिकृत स्वरुप र विकृतीको सम्मान प्रति ब्यंग्य गर्नुभयो । साहित्यकार नेपालले मुक्तकहरू पनि वाचन गरेका थिए ।
कार्यक्रम सञ्चालक वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका सल्लाहकार गोविन्द भट्टराईले रहर शिर्षकको कविता वाचन गरी सहरीया जीवनभन्दा ग्रामीण जीवनको पक्षपोषण गर्दै सहरीया जीवनका विकृतिप्रति प्रहार गर्नुभयो । साहित्यकार भट्टराईले वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका कार्यहरूको चर्चा गर्नुभएको थियो । कार्यक्रमका सभापति प्रतिष्ठाका अध्यक्ष गोपालप्रसाद वश्यालले प्रतिभा संगमको निरन्तरता दिने र आउदो दशैंसम्म प्रतिभा तेस्रो अंक प्रकाशन गर्ने जानकारी गराउनुभयो । अध्यक्ष वश्यालले साहित्यकार आर. बि. निश्चलको उल्टो धार कृतिको संक्षिप्त चर्चा गर्दै कविले कहाली लाग्दो विगतलाई अन्त गरी नयाँ सुनौलो पद्धति विकास गर्न उत्प्रेरित गरेको बताउनुभयो । उहाँले रुवाई  प्रस्तुत गर्दै मुलुकमा फैलिएका विकृतिको आलोचना गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली साहित्यमा भाषिक प्रयोग, प्रबृत्ति र विभिन्न कालखण्डका साहित्यकारले गरेका प्रयोग र भाषिक एवम् प्रायोगिक चलनका बारेमा छलफल गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here