१ सय ७० वर्ष पुरानो तानसेन मुल ढोका पुर्ननिर्माण हुँदै

0
145
पाल्पा । १ सय ७० वर्ष पुरानो तानसेनको मुलढोकाको पुर्ननिर्माण कार्य अगाडि बढेको छ । यो ढोका भत्काएर पुरानै शैलीमा निर्माण गर्न लागिएको हो । यो ढोका धेरै पुरानो भएकै कारण जीर्ण भइसकेको थियो । नेपालकै ठूलो ढोकाको रुपमा प्रचारित यो ढोका पाल्पाकै पहिचानको रुपमा रहेको छ ।
तत्कालित प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंह कुवरले दरबार परिसरको सुरक्षाका लागि मूल ढोका बनाउन लगाएको इतिहासमा उल्लेख छ । वि.स. १९११ सालमा दरबारको सुरक्षाका लागि पाल्पा दरबार परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका बनाइएको थियो ।
दरबार क्षेत्रको आन्तरिक सुरक्षा तथा बाह्य सुरक्षालाई ध्यान दिदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको थियो । मूल ढोकाको उचाइ पाँच मिटर बढी र चौडाइ तीन मिटर रहेको छ । यहाँ पर्यटकहरुका लागि यो ढोका आकर्षणको रुपमा रहेको थियो
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले ढोका जीर्ण भएका कारण यसको मर्मतसुधार कार्य अगाडि बढाइएको बताउनुभयो । मर्मत सुधारका लागि ८१ लाख ९५ हजार १२९ रुपैयाँमा निर्माण कम्पनीले सम्झौता गरेको छ ।
त्यस्तै ऐतिहासिक पाल्पा दरबार परिसर अन्तरगत तानसेन मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा दुई महिनादेखि पर्खाल बनाउने काम चलिरहेको छ । बि.सं. १९११ सालमा दरबारको सुरक्षाका लागि परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्व विभाग र लुम्बिनी प्रदेश सरकारको लगानीमा बनाउन थालिएको मेयर श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको ५० लाख लगानीमा प्रशासनदेखि दरबार गेटसम्म ५० मिटर पर्खाल लगाउने काम भइरहेको उहाँले बताउनुभयो । दरबारको गेटदेखि शित्तलपाटी क्षेत्रसम्मको ७३ मिटर क्षेत्रमा ८० लाख रुपैयाँ लगानीमा काम भइरहेको छ । आगामी २०८१ साल असार मसान्तभित्र सक्ने गरी त्यस क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको तानसेन नगरपाालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । ऐतिहासिक स्थलको संरचना र डिजाइन नबिगार्ने गरी पर्खाल बनाउने काम भइरहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
यस्तै दरबार परिसरभित्र र बाहिर ढुंगा छाप्ने काम भइरहेको छ । तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ४१ लाख र लुम्बिनी प्रदेश सरकारको ५० लाख दरबार परिसरबाहिर र भित्र ढुंगा बिछ्याउने काममा लगानी गरेको छ । ऐतिहासिक दरबार क्षेत्रलाई गुरुयोजना बमोजिम पर्यटकीय स्थलका रूपमा विकास गर्ने गरी गत बैशाखमा ५७ घरटहरा भत्काइएको थियो ।
दरबार परिसारको निर्माण कार्य सम्पन्न भएपश्चात यो क्षेत्र थप व्यवस्थित हुने र पर्यटकीय हिसावले अझ धेरै महत्व राख्ने बिश्वास गरिएको मेयर श्रेष्ठले बताउनुभयो । दरबारमा रहेको संग्रहालय पनि पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here