बगनासकाली गाउँपालिकाभित्र संचालन गरिएको घुम्ती शिविरबाट १ हजार बढी नागरिक लाभान्वित भएका छन् । शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले नागरिकलाई सहज र सरल रूपमा घरदैलोमै सेवा प्रवाह गर्नका लागि वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरणसहितको शिविर सञ्चालन गरिएको बताउनुभयो ।
शिविरमा सामाजिक सुरक्षा भत्तातर्फ १ हजार ६ जना र स्वास्थ्य सेवातर्फ ५३० जनाले सेवा लिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले बताउनुभयो ।
शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ, एकल जेष्ठ, विधवा आर्थिक सहायता, क वर्गका अपाङ्गता, ख वर्गका अपाङ्गता र दलित बालपोषण प्राप्त गर्न योग्य लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए भनेस्वास्थ्य परामर्श, चेकजाँच र औषधि वितरण गरिएको थियो ।
बगनासकाली गाउँपालिकामा दोस्रो त्रैमासिकमा वडा नम्बर १ देखि ९ सम्म अन्य जेष्ठ नागरिक १९८३ जना, जेष्ठ दलित १४३ जना, जेष्ठ एकल २७१, विधवा आर्थिक सहायता ४४१, क वर्गका अपांगता भएका ५२, ख वर्गका अपांगता १०८ र दलित बालपोषण १९३ गरी ३ हजार १ सय ९१ लाभग्राही रहेका छन् । ३ हजार १ सय ९१ लाभग्राहीको लागि गाउँपालिकाले ३ करोड १८ लाख ७३ हजार ३ सय ८९ रुपैंया निकासा गरी वितरण गरेको थियो ।