यी हुन् पाल्पाका केही महत्वपूर्ण पर्यटकीय स्थलहरु

0
428
पाल्पा । पाल्पा आफैमा पनि धार्मिक सांस्कृतिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला हो । यहााँ पाल्पाका केही मुख्य पर्यटकीय स्थलहरुको चर्चा गरेका छौं ।
रानीमहलः
जिल्ला सदरमुकाम तानसेनबाट झण्डै १३ किलोमिटर उत्तर पश्चिममा अवस्थित रानीमहल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको छ ।  प्रेमसँग जोडेर भारतको आग्राको ताजमहसँग तुलना गरी “नेपालको ताजमहल” समेत भनेर चिनिने यो दरवारको धीरशमशेरका छोरा एवं पाल्पा गौंडाका तत्कालीन तैनाथवाला र पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारी देवीको वि.स. १९४९ मा पाल्पामै रहेको वेला निधन भए पछि उनकै सम्झनामा निर्माण गरेका थिए ।
वि.स. १९४९ मा शिलान्याश भई वि.स. १९५४ मा उक्त दरवारको निर्माण कार्य सम्पन्न भएको थियो । उक्त दरवार निर्माण कार्य सम्पन्न भएपछि दरवारमा आकर्षक फर्निचर एवम् सजावटका सामग्रीहरू राखिएको थियो । दरवार निर्माण कार्य सम्पन्न भएपछि त्यही दरवारमा रात बिताउने गरेका खड्गसम्सेरले प्रायः जसो रातीको समयमा आफ्नो दिंवगत श्रीमतिको सम्झनामा चिच्याउने गरेको किंवदन्तीमा उल्लेख छ । आधुनिक युवा पुस्ताले यस दरवारलाई एउटा नमुना प्रेमको प्रतिकको लिंदै आएका छन् ।
कालीगण्डकीको तिरमा रहेको भिरालो चट्टानमा रानीमहल बनेको छ । तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाईनबाट निर्माण गरिएको हो । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको सोे दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बाध्ने तवला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् ।
भैरव मन्दिर भैरवस्थान
पाल्पाको सदरमुकाम तानसेनबाट झन्डै ९ किलोमिटरको दुरीमा भैरवस्थान मन्दिर प्रख्यात रहेको छ । रिब्दीकोट गाउँपालिका अन्र्तगत पहाडको उपल्लो भागमा रहेको सो मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरू दर्शन पूजा गर्न पुग्ने गर्दछन् ।
भैरबको मन्दिरमा त्रिशुल तथा रोटी चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दशैको बेला, मंसिर तथा बैशाखमा उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताए । बि.सं. १४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ । यो मन्दिरमा सबैभन्दा ठूलो सुनको त्रिशूल समेत रहेको छ । पाल्पा गौंडाको प्रमुख खड्ग शमशेर राणाले आफ्नी श्रीमतीको इच्छा अनुसार यो मन्दिरमा सुनको जलप लगाइएको ठूलो त्रिशूल राखिएका स्थानीयको भनाई छ ।
दर्लम महाकालीः
बगनासकाली गाउँपालिका ५ दर्लमडाँडामा रहेको दर्लममहाकाली मन्दिर पनि प्रशिद्ध मन्दिरको रुपमा रहेको छ । यो मन्दिरमा दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरूले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्वर्गीय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरू गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरू बढी आकर्षषित हुने गरेका छन् । किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रूपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहुर्तको समयमा) शिलाको रूपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रूपमा दिक्ष दिइन् । सोही दिनलाई प्रत्येक बर्ष उत्सवको रुपमा रथयात्रा गर्ने गरिन्छ ।
रूरू धाम
रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थान हो । यो स्थानको बारेमा हिन्दू पुराण तथा शास्त्रहरूमा उल्लेख भएको पाइन्छ । यो धार्मिक क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगममा अवस्थित रहेको छ । हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहास र स्वस्थानी किताबमा यहाँ सतीदेवीको दन्त पतन भएको वर्णन गरिएको छ ।
नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको चार वटा धार्मिक क्षेत्रहरू (रुरु क्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र) मध्ये यो पनि एक हो । यो स्थानलाई नेपालको बनारस भनेर चिन्ने गरिन्छ । लेखक पर्सिवल ल्यान्डनले स्वयं अनुसन्धान गरि लेखेको पुस्तक नेपालमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू यो स्थानसँग मेल खाने भएकोले यो क्षेत्रलाई नेपालको बनारस भनेर उल्लेख गरेका छन्् । यो धार्मिक स्थल हिन्दूहरूको लागि पवित्र घाट समेत हो । माघे सङ्क्रान्तिको तीन दिनसम्म यो क्षेत्रमा रिडी मेला आयोजना गर्ने गरिन्छ । यहाँ आयोजना हुने मेलाको पहिलो, दोस्रो तथा तेस्रो दिनलाई क्रमशः जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भन्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here