धार्मिक पर्यटकको आकर्षणको केन्द्र राम्दी सुनगुफा

0
628

पाल्पा । नेपालका मुख्य हिमनदी मध्ये कालीगण्डकी पनि पर्दछ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकोले यसलाई उत्तरवाहिनी नदीको रुपमा पनि चिनिन्छ । धार्मिक मुल्य मान्यता अनुसार उत्तर बाहिनीको आफ्नै बेग्लै महत्व रहेको छ ।

कालीगण्डकीलाई शालग्रामी नदी, कालीनदी र काली आदि जस्ता नामबाट पनि परिचित छ । शालग्राम यस कालीगण्डकीमा मात्र पाइने भएकोले यसलाई शालग्रामी नदी वा चक्रनदीको रुपमा पनि चिनिन्छ ।
यसैकालीगण्डकी अन्र्तगत राम्दी क्षेत्रको आफ्नै बेग्लै पहिचान छ । रामनदी धाममा खासगरि एकादशी र माघेसक्रान्तीको समयमा बिशेष मेला लाग्ने गर्दछ । एकादशीको बेला यहाँ स्यांगजा लगायतका जिल्लाहरुबाट किसानले सुन्तला ल्याई बेच्ने गर्छन् । माघे संक्रान्तिमा सखरखण्ड, तरुल लगायत डालो सुपो लगायतका बस्तुहरु पनि यहाँ बिक्री बितरण हुन्छ । यो समयमा यहाँ धेरै तीर्थालुहरु जाने गर्दछन् । यो ठाउँ घाटको रुपमा परिचित छ ।

यो नदीसँगै रहेको २०२८ सालमा भारत सरकारको सहयोगमा निर्मित सो पूल भारतको वंगालको हावडा पुल जस्तै ब्रिज गुम्वज आकारमा रहेको पुलले पनि थप पर्यटकहरुको मन जितेको छ । यो पुल ९३ मिटर लामो रहेको छ भने उक्त पुलले सबैको मनलाई लोभ्याउने अहिले सेल्फी पूलको रूपमा सबैको आकर्षणको केन्द्र बनेको छ । यो पुलको बीच भागमा उभिएर उत्तरदक्षिण हेर्दा कालीगण्डकीको निलो हरियो दृष्य, सुमधुर वेग, त्यसको वरपर व्यवस्थित तटहरू, अग्ला होचा पहाडहरूले बनेको दृष्यले सबैको मन लोभ्याउने गर्दछ । यही पुललाई बिषय बनाएर धेरै चर्चित नेपाली गीतहरु पनि बनेका छन् ।

रामनदी र सिद्धगुफा
रामनदीधाम तथा यहाँ अवस्थित सिद्धगुफाको छुट्ट्रै महत्व रहेको छ । पौराणिक कथनअनुसार यस गुफाभित्र सत्य युगमा कपिलमुनीले, त्रेता युगमा हनुमान, रामचन्द्र र सिता भगवानहरूले र द्वापर युगमा बलरामले तपस्या गर्नुभएको धामिक विद्वानहरूको भनाइ छ ।

कलीयुगमा पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको पालामा सुनवीर माझीले तपस्या गरेको र तपस्या गर्दागर्दै गुफाभित्रबाट बाहिर नआइ अलप भएको भन्ने कुरा बगनासकाली–५ सुनादीका अग्रजहरुले बताउनुहुन्थ्यो । किम्वन्ती अनुसार वि.सं १८६५ सालमा स्थायी घर छेर्लुङ रहेका उनी बाबु आमाको मृत्यपछि तानसेन नजिकैको गोर्खेकोट भन्ने गाउँमा मावली बस्दै आएका केशव भट्टराईले पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिएवापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउँमै भट्टराईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सघाई सुनवीर माझी नामक गोठालो राखिदिएछन् ।

गोठालो भने रातको समयमा नजिकैको बगनास गाउँमा भजन गाउन जादो रहेछ । यो कुरा थाहा पाएपछि केशवले गोठमा निरीक्षण गर्न गएछन् । उनले गाइगोठमा बाघहरूले गाइभैसीलाई पहरा दिए राखेको देखेछन् । बिहान पख गोठालो फिलिलि गरी उडेर आएछ । त्यसपछि भट्टराईले गोठालोलाई गाली गर्दा म सिद्ध हुँ भनी तलतिर गएर त्यही गुफाभित्र पसेछ र त्यही अलप भएछ । पछि गाउँलेहरूले सोही स्थानमा पुजा आजा गर्न थालेछन् । त्यसैको आधारमा सुनसिद्ध अर्थात सुनगुफा नाम रहेको किम्वदन्तीमा पाइन्छ ।

यसै किम्बदन्तीका आधारमा आसपासका गाउँ दर्लमडाँडा, खानीछाप, पिपलडाँडा, यम्घा, चापपानी लगायत स्याङजा जिल्लाका मालुङ्का, कृष्ण गण्डकी गाउँपालिका क्षेत्रका साथै गुल्मी अर्घाखाची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउने गर्दछन् । यसरी दुध चढाउँदा गाई भैसी निरन्तर ब्याउछ भन्ने जन बिश्वास रहदै आएको पाइन्छ ।

यस सुन सिद्धगुफासित जेडिएर अर्को एतिहासिक किम्वदन्ति पनि छः वि.सं. १९६५ सालमा गुफा नजिकैबाट कालीगण्डकी पार गर्ने झोलुङ्गे पुल निर्माणको क्रममा यस गुफादेखि तल रहेको बगैँचामा चुना पकाउन थालेछन् । चुना पकाउँदा चुना नपाकेपछि ठेकेदारले धामीलाई देखाएछन् । धामीलाई झाँक आयो र सिद्ध उत्रिएर भनेछन्, म सिद्ध हुँ पहिले गुफासम्म जाने बाटो बनाइदे र तेरो चुना पाक्छ । धामीले भने अनुसार ठेकेदारले बाटो बनाइदिएपछि मात्र चुना पाकेछ । त्यही पहाड कोपेर बनाइएको बाटो गुफा मन्दिर जाने बाटोको रूपमा अहिलेसम्म रहेको छ ।

यसरी सिद्धको शक्ति रहेछ भन्ने कुरा घटनाक्रमहरूबाट जनमानसमा प्रभाव पर्न थाल्यो । गुफामा जाने बाटो बनिसकेपछि सन्त महात्माहरू आएर बस्न थाले जसले गर्दा भक्तजनहरूको उपस्थिति बाक्लो हुँदै गयो । २०१० सालमा खण्डेश्वर बाबा भन्ने साधु यहाँ आए, उनले एउटा हात सँधै माथि उठाएर राख्थे यसरी उनले एउटा हात सिद्धलाई चढाए । उनको देहान्तपछि तारा पुरी, टिकाराम अधिकारी, नरभुपाललगायतका महात्माहरूले मन्दिरको पुजापाठलाई निरन्तरता दिए । त्यसपछिका क्रममा हाल मोहनीलाल बाबा र विष्णु प्रसाद बस्यालबाट पुजाआजा चलिरहेको छ । यहाँ सुनौली बुटवलबाट पोखरा हिडेका र पोखराबाट बुटवल सुनौली हिडेका साधु सन्त र धर्मात्माहरु पसेर सिद्धगुफाको दर्शन गरि फर्कने गर्दछन् ।

यस मन्दिरभित्र प्रवेश गर्दा करिब ५ मिटर लम्बाइ र ४ मिटर चौडाइ रहेको गोमनसाँपको आकृतीजस्तै गुफाको बनोट देखिन्छ । त्यसका बीचबीचमा सर्पका बच्चाहरूको आकृति, गणेश भगवान, शिव पार्वती र सिद्धको प्राकृतिक स्वरूपका साथै पानीको सानो तलाउ, तलाउमा माछा देख्न सकिन्छ । यसै मन्दिर भागमा अखण्ड दीप जलिरहेको छ भने सिद्धबाबाको वायाँ भागबाट पश्चिम उत्तरको भागमा करिब २ मिटरको गोलाईको सुरूङ्ग देखिन्छ । यस गुफामा झण्डै १०० वर्षभन्दा अघिदेखि निरन्तर अखण्ड धुनी बल्दै आएको छ ।

मन्दिरलाई संस्थागत बनाई दिगो विकासका लागि वि.सं. २०६८ सालमा जिल्ला प्रशासन कार्यालय पाल्पामा श्री सिद्धगुफा धार्मिक पर्यटकीय क्षेत्र विकासको नाममा दर्ता भई विभिन्न किसिमका भौतिक र्कायहरू गर्दै आएको छ ।

विगतको तुलनामा भौतिक रूपमा सुधार भएको मन्दिरमा भक्तहरूको आस्था बढ्दै गएको पाइन्छ । दैनिक रूपमा हुने पुजा पाठ, रूद्री, अखण्ड दीपजस्ता कार्यहरूले भक्तजनहरूलाई थप आकर्षित बनाएको छ । यस मन्दिरमा हरिबोधनी एकादशी, शिवरात्री, माघे सक्रान्ति, साउन महिनाको सोमबार, बैशाखे सक्रान्ति साथै अन्य विशेष दिनहरूमा दर्शनार्थीहरू घुइचो लाग्ने गर्दछ ।

बगनासकाली गाउँपालिका ५ दर्लमडाँडाका वडाध्यक्ष ओमप्रकाश गैरेले राम्दी सिद्धगुफा सहित दर्लमडाँडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान हुने गरि वडाले निकालेको प्रोफाइलमा पनि समेटेको र धार्मिक बृत्तचित्र पनि बनाई प्रचारप्रसार गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि धार्मिक तथा साँस्कृतिक पहिचानको प्रचारप्रसार सहित प्रवर्धनका लागि स्थानीय सरकारको तर्फबाट राम्रो भुमिका रहने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here