spot_img
Home Blog Page 4

पाल्पा महोत्सवको तयारी तीव्र

पाल्पा । यही पुस ९ गतेदेखि १८ गतेसम्म बगनासकाली गाउँपालिका–१ चिलाङ्दी खेलमैदानमा हुने पाल्पा महोत्सवको तयारी तीव्र पारिएको छ ।

कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा हुने महोत्सवको प्रमुख उद्देश्य जिल्लाको समग्र पर्यटन प्रवर्धन, ब्यापार एवम् स्थानीय कला संस्कृति एवम् धार्मिक साँस्कृतिक महत्वको प्रचार प्रसारको अपेक्षा राखिएको कुटुम्ब मिडिया नेटवर्कका सञ्चालक एवम् मेला संयोजक नारायण न्यौपानेले बताउनुभयो ।

महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि सहित ब्यापारका गरी १ सय ५० सय बढी स्टल रहनेछन् । स्टल बुकिङ खुल्ला गरिएको उहाँले बताउनुभयो । महोत्सवमा बालउद्यान तथा फोटो प्रदर्शनी बिशेष आकर्षणको रुपमा रहने उहाँले बताउनुभयो ।

महोत्सवमा स्थानीय कला संस्कृति झ्याउरे, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेबाजा लगायत प्रर्दशन हुनेछ । महोत्सवमा कुमाल र बोटे जातिको संस्कृति समेत प्रस्तुत गरिने बताइएको छ । हरेक दिन कला केन्द्रहरुको प्रस्तुतीसँगै स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । महोत्सवमा कम्तीमा १० वटा स्टल होटल तथा रेष्टुरेन्ट रहनेछन् । होटल रेष्टुरेन्टमा स्थानीय खानाका परिकारहरु ब्यवस्था गरिनेछ । होटल तथा रेष्टुरेन्टमा स्थानीय दुनाटपरीको उपयोगलाई प्राथमिकता दिइनेछ ।

यो महोत्सवले धेरै सम्भावना हुदा हुदै पनि प्रचार प्रसारको अभावमा रहेको बगनासकाली सहित जिल्लाको पर्यटन विकासमा थप टेपा पु¥याउने बिश्वास रहेको मूल आयोजक समितिका सहसंयोजक यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो ।

महोत्सवको सफलतापूर्वक सञ्चालनका लागि आयोजकले स्थानीय समुदायहरुसँग छलफल अन्तरक्रिया कार्यक्रम गरेका छन् महोत्सवको अवसरमा पुस ९ गते स्थानीय कला संस्कृति बिशेष कार्यक्रम संचालनको तयारी गरिएको बताइएको छ । महोत्सवको सफलताका लागि पालिका अन्तरगतका हरेक वडामा भेला तथा अन्तरक्रिया, सरोकारवालाहरुसँगको छलफल अन्तरक्रिया चलिरहेको महोत्सव मूल आयोजक समितिका सहसंयोजक बिष्णु प्रसाद घिमिरेले बताउनुभयो ।
महोत्सवको माध्यमबाट पाल्पाको पर्यटनमा थप टेवा पुग्ने बिश्वास आयोजकले गरेका छन् । महोत्सवको अफिसियल मिडियाको रुपमा पाल्पा समाचारपत्र साप्ताहिक रहेको छ ।

सिद्धबाबा मन्दिरमा महायज्ञ आयोजना गरिने

धातानन्द शर्मा गैरे । पाल्पा
बगनासकाली ८ बराङ्दी घिउसीबासमा रहेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिको आयोजना तथा महायज्ञ सम्पन्न गर्न सहजीकरण गर्ने “हाम्रो समन क्याम्प” संस्थाको यज्ञ व्यवस्थापनमा २०८१ माघ १ देखि ९ गतेसम्म सिद्धबाबा मन्दिरमा वृहत धार्मिक महायज्ञ हुनेभएको छ । यज्ञ सम्पन्न गर्नका लागि आयोजक संस्था, यज्ञ व्यवस्थापन गर्ने संस्था “हाम्रो समन क्याम्प” र महायज्ञ मूल समारोह समितिको संयुक्त बैठकमा व्यापक छलफल र अन्तक्र्रिया पछि महायज्ञ सम्पन्न गर्ने सम्बन्धी लिखित सम्झौतामा हस्ताक्षर गरिएको छ ।

बैठकमा यज्ञ व्यवस्थापन सहजकर्ता संस्थाका कार्यकारी निर्देशक शैलेशराज अर्यालले महायज्ञमा आर्थिक व्यवस्थापन र यसको पारदर्शिता, दानमा प्राप्त जग्गा र जिन्सीको व्यवस्थापन, आर्थिक पारदर्शिताका लागि एउटामात्र रसिदबाट आम्दानी गर्ने, दैवीप्रकोप तथा अनाथ बालबालिका कोष व्यवस्थापन, दानपेटिका व्यवस्थापन अपनाइने नीतिका बारेमा प्रष्ट पार्नुभयो ।

उहाँले यज्ञ व्यवस्थापनका लागि आफ्नो संस्थाका तर्फबाट सम्पन्न गरिने जिम्मेवारीका सन्दर्भमा प्रमुख वाचक, उपवाचक, लाइभ मिडिया, क्यामेरा, टेन्ट, पण्डाल (वाटरप्रुफ), मूलगेट स्थापना, १०० जना अट्ने मञ्च र त्यसको सजावट, बत्ती, जेनरेटर, पण्डाल प्रवेशद्वार, निमन्त्रणा पत्र, फ्ल्याक्सबोर्ड, इन्धनसहित १० दिनका लागि प्रचारप्रसार गर्न सवारी साधनको व्यवस्था, उद्घाटनमा अतिथिलाई ओढाउने खादा, सचिवालय स्थापनाका लागि आवश्यक सामाग्री, उद्घाटन र कलशयात्राका लागि आवश्यक सामाग्री र मायाको चिनो आदि कामका लागि आफ्नो संस्थाले दायित्व लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यी सेवा प्रदान गरेवापत यज्ञमा उठेको रकमको चालिस प्रतिशत रकम आफ्नो संस्थाको र बाँकी ६० प्रतिशत आयोजक संस्थाको हुने, धेरै रकम उठे पनि १८ लाख भन्दा बढी आफ्नो संथाले नलिने र कथं कदाचित दानमा अत्यन्त न्यून रकम उठेर आयोजक संस्थालाई समस्या पर्न गएमा यज्ञको सबै खर्च आफ्नो संस्थाले बेहोर्ने वचनवद्धता पनि शैलेशराज अर्यालले गर्नुभयो ।

आयोजक संस्था सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका तर्फबाट खानपिन, आवास, चियानास्ता, गुरुवरणी, पञ्चेबाजा, खादा, फ्रेम आदिको व्यवस्था मिलाउनेलगायत रहेको छ । महायज्ञमा सम्पन्न गरिने चौरासी पूजा, तुलादान, व्रतबन्ध, रुद्री, लाखबत्ती प्रज्वलन, सन्ध्याआरती सम्पन्न गर्न चाहने भक्तजनका लागि सहयोग शुल्क निर्धारण गर्ने पनि आयोजक संस्थाको जिम्मेवारी हुने निर्णय भएको छ । कुनै दिनको चियानास्ता, खाना खर्चको जिम्मेवारी लिई त्यसको व्यवस्थापन गर्न ईच्छुक व्यक्ति तथा संस्थालाई त्यसको न्यूनतम शुल्क निर्धारण गर्ने काम पनि आयोजक संस्थाले गर्नेछ ।

बैठकमा छलफलको क्रममा अहिले धर्ममा विकृति मौलाउँदै गएको, हैसियत भन्दा बढी र व्यक्तिको ईच्छा विपरित दान बोलकबोल गर्न प्रेरित गरी दान उधारो राख्दा दान कहिल्यै नउठ्ने, दाताको धार्मिक आस्था विचलित भई दाता मन्दिरमै प्रवेश नगर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरियो । अब विगतको अवस्थामा सुधार ल्याई धर्ममा शुद्धिकरण र सुधारको पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरियो । महायज्ञमा दाताको ईच्छा र क्षमता अनुसार जतिसुकै दान दिए पनि स्वीकार गर्ने, दान नगद मात्र लिने उधारो नराख्ने, उठेको रकम बैंक दाखिला गरी चेकबाटमात्र कारोबार गरी पूर्ण आर्थिक पारदर्शिता अपनाउने, हरेक दिन उठेको दानको हिसाब सुनाउने पनि निर्णय गरियो ।

महायज्ञ मूल समारोह समितिले आउँदो पौष छ गतेका दिन मन्दिर परिसरमा वृहत बैठक बोलाई महायज्ञ सम्पन्न गर्न उपसमितिहरू गठन गरी जिम्मेवारी हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ । महायज्ञ सम्पन्न गर्ने सम्झौतापत्रमा हाम्रो समन क्याम्पका तर्फबाट संस्थाका कार्यकारी निर्देशक शैलेशराज अर्याल र सहायक यज्ञ व्यवस्थापक प्रज्वलराज पौडेल, महायज्ञ मूल समारोह समितिका तर्फबाट संयोजक गणेशप्रसाद बस्याल, उपसंयोजक युवराज गैरे, महासचिव जीवलाल बस्याल र सहसचिव सुशील बस्यालका साथै सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष मोहन अर्याल र सचिव कृष्णप्रसाद बस्यालले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता बगनासकाली गाउँपालिका वडा नं ८ का वडाध्यक्ष मोतिलाल बस्यालको रोहवरमा भएको थियो । बैठक महायज्ञ मूल समारोह समितिका अध्यक्ष गणेशप्रसाद बस्यालको अध्यक्षता तथा महासचिव जीवलाल बस्यालको सञ्चालनमा चलेको थियो ।

रम्भा गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा

0
पाल्पा / गाउगाउमा कृषि एम्बुलेन्स सञ्चालन भएपछि रम्भा गाउँपालिकाका तरकारी उत्पादक कृषक खुशी भएका छन् ।  कोरोना कालको झझल्को दिंदै रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स चलाउन थालेपछि स–साना तरकारी उत्पादक कृषक खुशी भएका छन् । कोरोना महामारी हुदा जनतालाई तरकारी उपलब्ध गराउन एम्बुलेन्स चलाए पनि आजभोलि भने गाउँमा उत्पादन भएका तरकारी र फलफुल बजारमा निकासा गर्न एम्बुलेन्स चलाईएको हो ।
बढी उत्पादन भई खेर जाने तरकारीलाई माग भएको क्षेत्रमा लगेर बेच्ने तथा कृषकमा व्यवसायीकरणको विकास गर्न कृषि एम्बुलेन्स सञ्चालन गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।  एम्बुलेन्स सञ्चालन गरिएपछि एकातिर खेरगएको तरकारीको बिक्री हुने र अर्को तर्फ तरकारी उत्पादक किसानमा आत्मबिश्वास बढ्न गइ तरकारी व्यवसायीकरण हुने उहाले बताउनु भयो ।  उहाँले किसानको सवलीकरण र उनीहरुले उत्पादन गरेका कृषि उत्पादनको सहज बजारीकरणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
रम्भा गाउँपालिका कृषि शाखाको सहजीकरणमा गाउँपालिकाका ५ वटै वडाका विभिन्न तरकारी उत्पादन क्षेत्रमा हरेक हप्ता स्थानीय स्तरमा उत्पादन भएका तरकारी संकलन गरि बजारीकरण गरिएको रम्भा गाउँपालिका कृषि शाखा प्रमुख प्रभा गौडेलले बताउनु भयो ।
गाउपालिकाले सबै वडालाई समेटेर तरकारी संकलन केन्द्रबाट तरकारी निकासा गरिएको गौडेलले बताउनुभयो । बारीमा खेर गएको कागतीहरू आजभोली बजार पुग्ने गरेको र धेरै थोरै आम्दानी समेत भएको रम्भा २ रानीबासका कृषक हेमा सारुले बताउनुभयो ।
उहाले कागतीसंगै रुखे टमाटर, साग, बोडी, सिमी, बेचेको अनुभूति सुनाउनुभयो ।  ग्रामीण क्षेत्रबाट गएको कार्तिक महिनामा फर्सी, बोडी, करेला, साग, स्कुस, मुला, काउली, कागती, बन्दा जस्ता तरकारी संकलन गरि निकासा गरिएको छ ।  गाउघरमा भैंसी र बंगुरलाई खुवाईने फर्सी मात्र साढे ६ क्वीन्टल बेचिएको कृषि शाखा प्रमुख प्रभा गौडेलले बताउनुभयो । त्यस्तै बोडी, साग, काउली,मुला लगायतका तरकारीहरू धेरै निकासा गरिएको छ ।

नेपाल सरकारका गृहमन्त्री र पाल्पाका स्थानीय तहका प्रमुखहरुविच परिचयात्मक तथा अन्तरक्रिया

पाल्पा ,नेपाल सरकारका गृहमन्त्री र पाल्पाका स्थानीय तहका प्रमुखहरुविच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । रामपुर नगरपालिकाकाे आयाेजनामा गृहमन्त्री रमेश लेखकलाई स्वागत तथा  पाल्पाका १० वटै पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु विच परिचयात्मक कार्यक्रम सहित अन्तरक्रिया भएकाे हाे ।

नगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा बाेल्दै गृहमन्त्री लेखकले स्थानीय सरकार संविधानले सबैभन्दा धेरै विश्वास गरेकाे र जिम्मेवारी बढी भएकाे सरकार भएको बताउनुभयो । जनता सबैभन्दा छिटो र सजिलो नजिक जाेडिने निकाय स्थानीय सरकार भएको बताउनुभयो । सिमित स्राेत साधनका विच काम गर्नु परे पनि उत्साह र आत्मबलका साथ जनताकाे सेवामा लाग्न आग्रह गर्नुभयो । पछिल्लो समय प्रहरी प्रति जनताकाे विश्वास बढेकाे भन्दै जनताकाे शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध भएर लागेकाे उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले हरेक स्थानमा प्राय प्रहरी र इलाका प्रशासनकाे माग बढी आउने गरेकाे भन्दै आवश्यकता अनुसार सबै स्थामा व्यवस्था गरिने बताउनु भएकाे छ ।

कार्यक्रममा ताजसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले ऐतिहासिक महत्त्व बाेकेका क्षेत्रकाे संरक्षण रका लागि स्थानीय सरकारकाे बचेटले मात्र सम्भव नभएको भन्दै केन्द्र सरकारले विषेश प्राथमिकता दिन आग्रह गर्नुभयो । साथै स्थानीय सरकारलाई सहज रुपमा काम गर्नका लागि संघ सरकारले सहज कानुन बनाउन आवश्यक रहेकाे बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समग्र जिल्लाकाे शान्ति सुरक्षाका लागि दरबन्दी अनुसारको प्रहरी जनशक्ति खटाउन र प्रहरी चाैकीकाे स्तराेन्नती गर्न माग गर्नुभयो ।उहाँले रामपुरमा तत्काल डिएसपि पठाउन,अव्यवस्थित जग्गाको स्रेस्ता कायम भएकाेले तत्काल वेच विखन गर्नका लागि कानुनी बाटो फुकाउन ,इलाका प्रशासन कार्यालय मार्फत राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सेवा नियमित प्रदान गर्न आग्रह गर्नुभयो ।यस्तै रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भाकाे हुँगि प्रहरी चाैकीकाे स्तराेन्नति संगै अन्य अस्थायी पाेष्टलाई स्थायी बनाउन माग गर्नुभयो ।साथै रम्भाकाे वडा नं.१ दुरी र सहजताका हिसाबले रामपुर पायक पर्ने भएकाले प्रशासनिक कामका लागि इलाका प्रशासन कार्यालय रामपुरबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले वेग्रह र हाेङ्सी सिमेन्ट खानीमा प्रहरी चाैकी आवश्यक रहेकाेले तत्काल स्थापना गर्न आवश्यक व्यवस्था गरिदिन आग्रह गर्नुभयो । यस्तै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ गाउँपालपका तराई र भारतीय सिमा क्षेत्रका मानिसको आवतजावत धेरै हुने पालिका भएकाले अपराधीक घटना र विभिन्न दुर्घटना हुने गरेकाले आवश्यक सुरक्षा र नीतिगत व्यवस्था बनाउन माग गर्नुभयो । रैनादेवि छहरा गाउँ पालिकाका अध्यक्ष रसक्माङगत भट्टराईले सालझण्डीकाे अस्थाई प्रहरी चाैकीलाई स्थायी बनाई भवन निर्माण गर्न र अर्घाखाँचीकाे पणेना र तिनगिरे संगकाे सिमाना विवाद तत्काल समाधान गरिदिन आग्रह गर्नु भएको छ ।

यसैगरी माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले गाेठादीमा रहेकाे प्रहरी चाैकी , माडी अस्थायी प्रहरी चाैकीकाे स्तराेन्नती संगै जनशक्ति थप गर्न माग गर्नुभयो। रिब्दिकाेट गाउँपालपकाका अध्यक्ष नारायण बहादुर कार्कीले फेकमा प्रहरी चाैकी स्थापना गर्न माग गर्दै सिजि सिमेन्ट उद्योगले रिब्दिकाेटबासी बढी पिडित रहेकाे भन्दै आवश्यक परिणाममुखी पहल गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम उपप्रमुख बाल कुमारी थापाकाे स्वागत र प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

सानाहुँगी माविको ६९ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

एवत सारु
सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोकिसङ्गकोट पाल्पाले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रम गरी मनाएको छ ।  विद्यालयले विभिन्न खेलकूद तथा बौद्धिक कार्यक्रम समेत संचालन गरि सोमबार औपचारिक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सानाहुँगी माध्यमिक विद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लागि परेको बताउँदै विद्यालयको भौतिक तथा आर्थिक पक्ष संगै अबको मुद्दा गुणस्तरीय शिक्षा नै हुनुपर्ने बताउनु भयो ।  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवतकुमार सारुले विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै करिब १ करोड ४ लाख ५१ हजार ५१० रुपिया बराबरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नु भयो ।
गाउँ छोड्दै शहर पस्ने प्रवृत्तिले गर्दा सबै विद्यालयमा विद्यार्थी संख्या घट्दै गरेको प्रसङ्ग उठान गर्र्दै समय सापेक्ष गुणस्तरीय शिक्षाको लागि विद्यालय प्रतिबद्ध रहेको बताउनु भयो ।  कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारु, रम्भा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मुक्तिप्रसाद अधिकारी, सिकाई प्रवर्धन परियोजनाका प्रमुख कृष्ण कुवँर, रम्भा गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत एवम चन्दादात भक्तुजङ्ग राना, रम्भा २ फोक्सिङ्गकोटका कार्यवाहक वडा अध्यक्ष दुर्गाबहादुर थापा, कार्यपालिका सदस्य सरस्वती बिक, समाज सेवी टेकबहादुर राना, भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारु लगायतले विद्यालयको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा थानबहादुर, जमुनी स्मृति अक्षयकोषदाता धनकुमारी सारु, चन्दा दाता खडगबहादुर सारु, मीनबहादुर स्मृति अक्षयकोषदाता हुमीसरा सारुलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा दिलमाया पाडेले स्वर्गीय पति यामबहादुर पाडेका स्मृतिमा १० हजार रुपियाको अक्षयकोष स्थापना गर्न भएको छ यसै गरि स्थानीय समाजसेवी चन्द्रबहादुर सारुले स्थापना गरेको अक्षयकोषमा ८ हजार रुपिया थप गरि २० हजार पु¥याउनु भएको छ ।
विद्यार्थी पार्वती सिंजाली तथा संगम गाहाको सञ्चालन तथा शिक्षक शोभा सारुको स्वागत मन्तव्यबाट शुरु भएका कार्यक्रममा २०८० सालको शैक्षिक विधामा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक तथा नगद पुरस्कारका साथै अक्षयकोषबाट प्राप्त ब्याज रकम वितरण गरिएको थियो ।  कार्यक्रम विद्यालय व्यवस्थपन समितिका अध्यक्ष भिमबहादुर सारुको .अध्यक्षतामा चलेको थियो ।

कालिका उपशाखाद्वारा डेंगी सचेतना

पाल्पा । नेपाल रेडक्रस सेसाइटी कालिका उपशाखाको आयोजना र पाल्पा जिल्ला शाखाको संयोजन तथा सहजीकरणमा तानसेन ३ बसन्तपुरमा डेंगी रोग नियन्त्रणका लागि सचेतनात्मक गतिविधि खोज र नष्ट गर अभियान सम्पन्न गरेको छ ।

कार्यक्रममा डेंगी रोग सम्वन्धी छलफलमा कालिका उपशाखाकी सभापति एन्जिना खनाल, स्वयम्सेवक संजीत थापा र जिल्ला शाखा अधिकृत बिनोद भारतीले सहजीकरण गरेका थिए । हाल जिल्लामा ४४७ जना डेंगी संक्रमीत व्यक्तिहरु रहेको जानकारी गराईएको थियो । कार्यक्रममा ४१ जनाको उपस्थित रहेको थियो ।

उपशाखाको स्थापनाको पहिलो कार्यक्रम हाल जिल्लामा डेंगी संक्रमण बढेको हुनाले खोज र नष्ट गर अभियान संचालन गरेको हो । तानसेन ३ बसन्तपूरका केही समुदायमा भरिएका पानीका भाँडाहरु, ड्रमहरु, तथा लामो समय देखी पानी भरीएर रहेका भाडाँहरुको पानी फाल्ने काम समेत गरीएको थियो । कार्यक्रम कालिका उपशाखाकी उपाध्यक्ष पद्मा भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

रामपुर नगरको प्रथम चौमासिक समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको थियो ।
   सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विकासका पूर्वाधार निर्माणको काम अघि बढिरहेको भन्दै निर्माणकार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो । निर्माण सम्पन्न भएका पूर्वाधारको मर्मत सम्भारमा नगरपालिका संगै स्थानियको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले समय मै योजना निर्माणका लागि स्थानीयको साथ संगै गुणस्तरको लागि सबैले निगरानी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कृषक तथा व्यवसायीहरुको प्रोत्साहनका लागि नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो । सबैको सहभागीता र सल्लाह सुझाव बाट मात्रै विकासले गतिलिने बताउनुभयो । नगरको विकासका जनताको सुझाव अपरिहार्य रहेको भन्दै थापाले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो ।
   रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ११ करोड ६६ लाख १७ हजार ३४ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ४८ लाख ३५ हजार विनियोजन भएकोमा ५७ लाख ३४ हजार ६३० खर्च भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा हाल सम्म नगरपालिकामा भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी मध्ये १८ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । सहभागीले घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, घरहरुको अभिलेखिकरण, छात्रवृति, धानबालीमा देखिएको समस्या, सार्वजनिक यातायातको भाडादर, निकासी कर, नागरिकता सहित सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवर, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले सम्बोधन गरेका थिए ।
नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको थियो । उपप्रमुख बालकुमारी थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार विष्णु घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कुटुम्ब सहकारीको तेस्रो साधारणसभा सम्पन्न

धातानन्द शर्मा गैरे
पाल्पा मंसिर १६ । पाल्पाको तानसेनमा कार्यालय रहेको लुम्बिनी प्रदेश स्तरीय कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो तेस्रो साधारणसभा संस्थाका अध्यक्ष थानेश्वर गैरेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेमबहादुर सारुको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष थानेश्वर गैरेले संस्थाले गरेका विभिन्न गतिविधि, यसको प्रगति र भविष्यका कार्यक्रमसमेत समेटिएको संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । आफ्नो प्रतिवेदनमा उहाँले संस्थामा अहिले ३०४ जना पुरुष र २४६ जना महिला गरी जम्मा ५५० जना शेयर सदस्य रहेको, १ करोड ९४ लाख ४५ हजार शेयर पुँजि रहेको बताउनुभयो । देशमा राष्ट्रिय स्तरमा देखिएको सहकारी समस्याले मानिसहरुको धारणा बदलिएको वर्तमान अवस्थामा संस्थामा आउने समस्याको निराकरण गर्न समिति सक्षम रहेको छ भन्नुभयो ।
कोषाध्यक्ष विष्णुप्रसाद खनालले २०८०/०८१ को आम्दानी खर्च र २०८१/०८२ का लागि अनुमानित आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभयो । उहाँले. संस्थामा खराब कर्जा नरहेको र यस वर्ष उद्यमशील र उत्पादनशील क्षेत्रमा ३० लाख रु. सहुलियत ऋण प्रदान गर्ने लक्ष्य रहेको पनि बताउनुभयो । संस्थाका तर्फबाट नेपाल रेडक्रस सोसाइटी पाल्पाका प्रमुख बाबुराम कार्कीलाई ब्लड बैंक स्थापनार्थ रु १५ हजारको चेक हस्तान्तरण गरिएको थियो ।
प्रमुख अतिथि माननीय मन्त्री खेमबहादुर सारुले छोटो समयमै राम्रो आर्थिक कारोबार सञ्चालन गर्न सफल भएकोमा संस्थालार्ई बधाई दिनुभयो । पैसा बचत गर्ने कुरामा जोड दिँदै उहाँले पैसा कमाएर मात्र हुँदैन । पैसाको वचत गर्न र उचित ठाउँमा लगानी गर्न जान्नुपर्छ भन्नुभयो । भौतिक विकास आर्थिक विकाससंग जोडिएको हुन्छ तर हाम्रा भौतिक विकासले पर्याप्त आर्थिक विकासका क्रियाकलाप बढाउन नसकेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले शेयर सदस्यहरुमा सहकारीप्रति अपनत्त्वको भावना जगाउन प्रेरित गर्दै शेयर सदस्यहरुलाई उद्यमशील बन्न र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा शुभकामना दिने क्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका अध्यक्ष बाबुराम कार्कीले कुटुम्ब सहकारी ठिक बाटो पहिल्याएर अघिबढिरहेको भन्दै यसको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो । नेपाल रेडक्रस सोसाइटी पाल्पाले पाल्पामा ब्लड बैंकको नितान्त खाँचो महसुस गरी निकट भविष्यमा ब्लड बैंक स्थापना र यसको दिगो व्यवस्थापनका लक्ष्यमा आफू अघि बढिरहेको बताउनु भयो । उहाँले ब्लड बैंक स्थापनाका लागि संस्थागत तथा व्यक्तिगत रुपमा पनि दाताहरुबाट ४६ लाख रकम जम्मा भैसकेको र अझै आउने क्रम जारीरहेको बताउँदै दाताहरुलाई सहयोगका लागि धन्यवाद दिनुभयो । अन्य दाताहरुलाई पनि सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले ब्लड बैंक स्थापनार्थ निःशुल्क जग्गा पनि प्राप्त भैसकेको जानकारी गराउनु भयो ।
पत्रकार महासंघ पाल्पाका सदस्य कृष्ण पोखरेलले कुटुम्ब सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।
उद्घाटन पछिको बन्द सत्रमा अध्यक्षका तर्फबाट राखिएका विभिन्न प्रस्ताव माथि व्यापक छलफल भई सर्वसम्मतरुपमा पारित भएका थिए । छलफलका क्रममा सहभागीहरुले विभिन्न जिज्ञासा तथा सुझावहरु पनि राख्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट आर्थिक कारोबार गर्ने र उद्यमशील शेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्षले प्रमुख अतिथिलाई शेयर सदस्यहरुलाई प्रेरित गर्ने मन्तव्य राख्नुभएकोमा धन्यवाद दिँदै संस्थाको लोगो अंकित मायाको चिनो प्रदान गर्नुभएको थियो । उहाँले कार्यक्रम सफल पार्न आ–आफ्ना ठाउँबाट योगदान पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष महेश शर्मा आचार्यको स्वागत तथा संस्थाका सचिव नारायण न्यौपानेको सञ्चालनमा चलेको थियो ।

जुम्लाका ‘काफ्ले बा’ २५ वर्षदेखि घरदैलोमा ब्यापार गर्दै

सुशीला रेग्मी
विहान उज्यालो हुनासाथ पिठ्युमा कपडा बोक्यो गाउँ निस्क्यो । कपडाको ओजनले शरीर थकित हुन्छ । तरपनि मुहारमा झल्किएको त्यो हँसिलोपन र मुस्कानले थकितजस्तो अनुभुती नगर्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको बिशेषता हो । घामपानी, जाडो गर्मी जुनसुकै याममा पनि उहाँ कामको बोँझले भित्रभित्रै थाकेपनि बाहिर भने सबैका सामु खुशी र हँसिलो बनेर आफ्नै दैनिकीमा हिड्नुहुन्छ ।

जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नं ८ सिंजा बस्ने काफ्ले ढाका टोपी, ईस्टकोटको भेषमा पिठ्युमा राडीपाखी, गलैचा बोकेर गाउँ–गाउँमा पुग्ने गर्नुहुन्छ । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैचा, स्वीटर बोकेर गाउँका वस्तीमा व्यापार गर्नु उहाँको दिनचर्या बनेको छ । उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उहाँको यो कार्य रहरले होइन बाध्यताले गर्नु परेको छ । तैपनि उहाँ यसमै रमाउनुभएको छ ।

उहाँले बिगत २५ वर्षदेखि पिठ्युमा कपडा बोकेर घुमन्ते व्यापार गर्दै आउनुभएको छ । अहिले उहाँ पाल्पाको रामपुरमा कोठा भाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्नुहुन्छ । रामपुरमा निरन्तर व्यापार गर्न थालेको उहाँले १४ वर्ष भयो । करिव पाँच वर्ष भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमान्चल, पिथरागढ, चम्पाव, डिडिहाट लगायतका बजारमा राडीपाखीको व्यापार गरेको उहाँले बताउनुभयो ।

स्वदेशी उत्पादन स्वदेशमै बिक्रि गर्ने उद्धेश्यले भारतको व्यापार छाडेर नेपालका विभिन्न जिल्लामा व्यापार गर्न पुग्नुभयो । उहाँले पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनमा बसेर लामो समय व्यापारिक अनुभव बटुल्नुभएको छ । तानसेनमा व्यापार गर्ने क्रममा उहाँ रामपुर आउनुभएको हो ।

“तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँ–गाउँमा राम्रो व्यापार हुन्छ भन्नुभयो, म त्यही आशा बोकेर करिव २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु” उहाँले भन्नुभयो ।

रामपुरमा अन्य ठाउँको तुलनामा सुरुका वर्ष राम्रै कमाई भयो । पछिल्ला वर्षमा भने अघिल्ला वर्षको तुलनामा व्यापार अति कम छ । यहाँ पसल, व्यापार, व्यवसाय बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उहाँले सुनाउनुभयो । उहाँको व्यापार भनेको राडीपाखी हो । तर अहिले बढि मात्रामा गलैचा, तन्नाको व्यापार हुन्छ । गलैचा, राडीपाखी एक पटक किनेपछि धेरै समय प्रयोग गर्न पाइने भएकाले गलैचा, राडीपाखीसँगै तन्ना, स्वीटर, ईस्टकोटपनि व्यापार गर्ने गरेको उहाँ बताउनुुहन्छ । व्यापारमा ईमान्दारिपन, अनुशासित, बोलीमा मिठासका कारण उहाँलाई धेरैले मन पराउँछन् ।

गाउँमा कहिलेकाँही मौकाको फाइदा उठाउने गरी आउने व्यापारीले स्थानीयलाई ठगेर जाने गरेका घटना बाहिर आउँछन् । यसकारण पनि घुमन्ते व्यापारीलाई विश्वास गर्दैनन् । तर काफ्लेप्रति भने सबै उमेर समूहका मानिसको विश्वास छ । सुरुमा गाउँ–गाउँमा जादा डर, धम्की समेत भोग्नुप¥यो । तर अहिले त्यस्तो छैन ।
उहाँ भन्नुहुन्छ, “सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउ अनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु” ।
पहिला दिनमा २० हजारसम्म कमाई गर्ने गरेकोमा अहिले व्यापार घटेर दिनमा बढीमा ४ हजार जति कमाई हुने गरेको उहाँ बताउनुहुन्छ । ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकोमा यसमै खुशीका साथ जीवन बिताइरहेको उहाँले बताउनुभयो । राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउनुहुन्छ भने अन्य सामान काठमाडौंबाट खरिद गरी व्यापार गरिरहनुभएको छ ।

जुम्लामा राडीपाखी लिन उहाँ चार÷चार महिनामा जानुहुन्छ भने काठमाडौंमा एक दिनको बाटोमा पुगिने भएकाले एक÷एक महिनामा पुग्ने गरेको उहाँले सुनाउनुभयो । जाडोयाममा राडीपाखीको व्यापार बढी हुने हुनाले सो समयमा व्यापार गर्ने लक्ष्यका साथ सामग्री पहिले नै बन्दोबस्त गरेर राख्नुहुन्छ । राडीपाखी बिशेषगरी पुजाआजामा प्रयोग गरिने भएकाले बजारका सामान भन्दा राडीपाखी नै ग्राहकले रोज्ने गर्छन् । भेडाको उनबाट बनेको हुनाले पूजाआजा गर्न चोखो हुन्छ भनेर राडीपाखी खोज्छन् भने कतिपयले जाडोमा न्यानोका लागि खोजी–खोजी खरिद गर्ने गरेको काफ्लेको भनाई छ ।

उहाँको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन् । उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ । एक व्यक्तिको घुमन्ते व्यापारको कमाईले दुखले परिवारको गुजारा अहिलेसम्म चलेको उहाँ बताउनुहुन्छ । जेठो छोरो स्नातक अध्ययन पुरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन् । कान्छो छोरो एसईई उत्र्तिण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन् । छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उहाँले जनाउनुभयो ।
“अहिले छोराछोरी हुर्के बढेसँगै परिवारको खर्च बढ्दै गयो, सानो खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाईले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँ गाउँमा राडीपाखी, गलैचा लगायतका कपडा बोकेर व्यापारमा हिडेछु” उहाँले भन्नुभयो ।

बाउबाजेको पालादेखि नै चलिआएको यो पेशा उहाँले अहिलेसम्म पनि निरन्तरता दिइरहनुभएको छ । यसरी व्यापार गर्ने हिजोआज पूराना व्यक्तिले छाड्दै गएका छन् । बाउबाजेले गरेको पेशा आजसम्म धान्दै आउनुभएका काफ्ले यो पेशा आफ्ना सन्ततीलाई हस्तान्तरण गर्न ईच्छुक हुनुहुन्न । परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भएपनि पढ्न नपाएको उहाँको गुनासो छ । कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुख गरेरै भएपनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँ–गाउँमा व्यापारमा खट्नुभएको छ ।

अहिले उहाँले रामपुरका अलवा पाल्पाकै पुर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मि, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँमासम्म व्यापार गर्नुहुन्छ । घुमन्ते व्यापारमा उहाँको साथमा पहिला २÷३ जना साथि थिए, अहिले भने उहाँ एक्लै व्यापारको शिलशिलामा गाउँ वस्तीमा पुग्नुहुन्छ । उहाँसँगै व्यापार गर्ने साथीहरु पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन् ।

लामो समयसम्म रामपुरमा व्यापार गर्दै आउनुभएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोँच बनाउनुभएको छ । उहाँले आफ्नो व्यापारिक सम्बन्धलाई फराकिलो बनाउन रामपुरलाई आधार बनाएर रामपुरसँगै अर्घाखाँची र गुल्मी पुग्ने योजना बुन्नुभएको छ ।

“पहिला गाउँघरमा म जस्तै राडीपाखी बेच्ने धेरै व्यापारी थिए, अहिले पूराना व्यापारी यसरी हिड्ने कम छन्, अब नयाँ पुस्ताले यो व्यवसायल अँगालेका छैनन्” उहाँले भन्नुभयो,–“मेरो पनि छोराले कमाउने भएपछि यसरी व्यापार गर्दिन्, अहिले छोराछोरीका लागि गाउँघर छाडेर अर्काको ठाउँमा पिठ्युमा कपडको भारी बोकेर हिड्नु परेको छ” ।
उहाँको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ । जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर, बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ । ठाउँ ठाउँका गाडी स्टेशनपिच्छे ओर्लदै एक गाडीबाट अर्को गाडीमा सामान राख्दै अर्काको गाउँमा व्यापार गर्न सहज छैन । आफ्नो परिवारको पेट पाल्न र छोराछोरीको पढाई खर्चका लागि यसरी काम गर्नु उहाँको बाध्यता छ ।

 

पर्यटक लोभ्याउँदै रामपुरको ‘बुद्धपार्क’

सुशीला रेग्मी

रामपुर (पाल्पा) । झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । तीसमुरे चौर झारपात र झाँडीले भरिएको थियो । झाँडीले भरिएको चौरले पर्यटकीय रुप फेर्ला भन्ने कसैले पनि नजर अन्दाज गर्न सम्म पनि भ्याएका थिएनन् ।

पाल्पा रामपुर नगरपालिका ६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क) लाई अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । यहाँका स्थानीयको सक्रियतामा यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकसित बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जो कोहीले पनि पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।

यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामाकरण गरिएको छ । यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलको रुपमा यो क्षेत्र प्रख्यात बनेको छ । रामपुर नगरपालिका वडा नं.६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो । आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षण बनेको छ ।

पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्ध मूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ । पार्कमा आन्तरिक पर्यटक आउने जाने क्रम बढ्दै जादा व्यायाम गर्नका लागि व्यायामशाला निर्माण गरिएको हो । यहाँ व्यायामशाला निर्माण भएपछि विहान साँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिती छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट्टाएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आ.व.२०७८÷०७९ मा रु. २ लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका कार्यहरु थालनी गरिएको हो ।

बुद्धको मूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक अनुदान सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुई वटा प्रतिक्षालय निर्माण गरिएको छ ।

यस पार्कको सुन्दरतालाई बढाउन गत आर्थिक वर्षमा रामपुर नगरपालिकाले कालीआँप विजयपुर बुद्धपार्क हुँदै तालपोखरा तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ ।

गत आ.व. लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु दश लाख बजेटमा घेराबार, प्रवेद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत बर्ष रु ३ लाख बजेटबाट खुल्ला व्यायमशाला निर्माण गरिएको हो ।

चारैतिर पक्की सडकभित्र पर्ने करिव १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउँछन् । पार्क क्षेत्रमा अमलाका विरुवा लगाइएको छ भने आउँदो वर्ष आँपका विरुवा लगाउने तयारी रहेको अध्यक्ष ढकालले जानकारी दिए । यसलाई बालउद्यानका रुपमा विकास गर्ने योजना रहेको उनको भनाई छ ।

उनी भन्छन्, “पहिला यो क्षेत्रमा मैले जानेअनुसार आँपका बगैचा, बरपिपलको चौतारी थियो, पछि बोटहरु मर्दै गएपछि झारपातले भरियो, अहिले स्थानीयको जोडबलमा यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर संरचना निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यसले राम्रो प्रशंसा बटुलेको छ” ।

खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउँछन्, रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् । खुला सफा चौरमा विहान साँझ आराम गर्न, साथीभाई भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।

धार्मिक तथा पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिक स्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन् । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगर प्रमुख थापाले बताएका छन् ।

“रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रुपमा विकास गर्दै गएका छौँ” नगर प्रमुख थापाले भने,–“भुगोलले मिलेको यो क्षेत्रमा ठाउँ अनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट कामहरु भइरहेका छन्” ।