spot_img
Home Blog Page 5

एन्टिमाक्रोवियल रेसिस्टेण्ट जागरुक सप्ताह एक सन्दर्भ

युबराज थापा

प्रति जैविक (Antibiotic)  त्यस्तो औषधि हो, जुन सुक्ष्म जीवनहरूबाट वा रासायनिक प्रतिक्रियाबाट उत्पादन गरी सुक्ष्म जीवाणहरूको विरुद्धमा तिनीहरूलाई मार्न वा तिनीहरूको वृद्धि र विकास रोक्नको लागि अर्थात् जीवाणु जन्य (Bacterial)  संक्रमण तथा रोगको उपचारको लागि प्रयोग गरिन्छ । कुनै पनि जीवाणुजन्य रोगलाई पूर्णरुपमा निको पार्नको लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले जाँचेर रोगको निधान गरिसकेपछि रोगको प्रकृति र अवस्था अनुसार प्रतिजैविक (Antibiotic)  औषधिहरू नियमित र सही मात्रामा सही समयमा कम्तिमा पाँच देखि सात दिनसम्म प्रयोग गर्नुपर्दछ । जसले सूक्ष्मजीवाणु (Micro-organism) लाई मार्दछ र रोग निको पार्दछ,  तथापि हाम्रो जस्तो विकासशील देश तथा समुदायमा चेतनाको कमी आर्थिक अवस्था कमजोर साथै लापरवाही जस्ता विभिन्न कारणले प्रतिजैविक औषधिहरूको समुचित प्रयोग (Rational use)  हुन सकेको छैन ।

कतिपय अवस्थामा पढेलेखेका सभ्य र शिक्षित नागरिकहरूले पनि एन्टिबायोटिक साथै अन्य औषधिहरूको उपयुक्त प्रयोगमा व्यवस्था गरेको पाइन्छ ।  हाम्रो समुदायका आम मानिसहरू रोग लागेपछि ढिलो गरी स्वास्थ्य संस्था पुग्ने र चिकित्सकले जाँचेर सिफारिस (Prescribe)  गरेको औषधिहरु सकेसम्म खान दुःख मान्ने र खाए वा प्रयोग गरिहाले पनि नियमित रुपमा प्रयोग नगर्ने प्रचलन व्याप्त छ । प्रतिजैविक औषधिहरूको दुईचार मात्रा (2/4 Dose) प्रयोग गरेपछि रोगको चिन्ह र लक्षणहरू केही मात्रामा कमी हुने भएकाल बिरामी तथा सर्वसाधारणहरूले यसलाई निको भएको भ्रमपूर्ण अनुभूति गर्दछन् र औषधि प्रयोग गर्न बीचमै बन्द गरिदिन्छन् । जसले गर्दा जुन जीवाणुको विरुद्धमा सिफारिस गरिएको प्रतिजैविक औषधिको दुई चार मात्रले मात्र पूर्ण रुपमा मार्न सक्दैन र यसरी अपुरो प्रतिजैविक औषधिको मात्राको प्रयोगबाट घाइते भएर बाँचेका जीवाणुहरूले उक्त प्रतिजैविक औषधि विरुद्ध Antibody विकास गरी आफूलाई बचाउन सफल हुन्छन् र पुन यस्तै प्रकृतिको रोग लाग्दा उक्त प्रतिजैविक औषधिहरुले काम गर्न वा ती जीवाणुहरूको विरुद्धमा असर गर्न सक्दैन जसलाई हामी एन्टीबायोटिक रेसिस्टेन Antibiotic/Antimicrobial Resistance (AMR)  भनिन्छ । Antibiotic resistant हुनुमा बिरामी साथै बिरामीको अभिभावक वा कुरुवा साथै चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उत्तिकै जिम्मेवार रहेको पाइन्छ ।

धेरैजसो बिरामीहरुले औषधि प्रयोग गरेपछि तुरुन्त निको हुन चाहने (Quick result)  र सकेसम्म थोरै औषधिको मात्रा खान चाहनाले गर्दा एन्टी माइक्रोबियल रेसिस्टेन्ट बढ्दै गएको छ भने अर्को तर्फ नेपाल जस्तो  भूपरिवेष्ठित मुलुकमा एन्टिबेटिक सिफारिस गर्नका लागि गरिनुपर्ने सम्पूर्ण प्रयोगशाला सेवाहरू सबै ठाउँमा  नभएका कारणले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले धेरै जसो अवस्थामा बिरामीहरूको चिन्ह र लक्षणका आधारमा मात्रै पनि एन्टीबायोटिक सिफारिस गर्नुपर्ने अवस्था छ। जसले गर्दा बिरामी तथा आम जनताहरुले अनावश्यक  प्रतिजैविक औषधिहरु साथै अन्य औषधिहरु पनि प्रयोग भइरहेको छ, जसले गर्दा एन्टीबायोटिक रेसिस्टेन्ट बढ्दै गइरहेको छ ।

Antibiotic resistant बढ्नुमा मानव जातिमा मात्रै Antibiotic को प्रयोगले नभई पशुपंक्षीहरूमा  प्रयोग गरिने  एन्टिबायोटिक तथा अन्य औषधिहरू को अनुपयुक्त प्रयोग र औषधि प्रयोग गरिसकेपछि निश्चित  तोकिएको समय भन्दा अगाडि नै मासुको प्रयोग  गर्नु  पनि अर्को एउटा महत्वपूर्ण कारण हो ।  नेपालमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपालन तथा तरकारी खेती गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ, जहाँ पशुपंक्षी तथा तरकारी खेतीमा उपचारको लागि एन्टिबायोटिक तथा विभिन्न खालको औषधिहरू प्रयोग हुने गरेको र यसरी एन्टिबायोटिक तथा औषधि प्रयोग गरिएका पशुपंक्षीको माछामासु वा तरकारीहरु निश्चित समय भन्दा अगाडि नै बजारमा प्रयोग गर्नाले पशुपंक्षीलाई प्रयोग गरिएको Antibiotic तथा अन्य औषधिहरू  तरकारी तथा माछा मासु मार्फत सिधै मानिसको शरीरमा प्रवेश हुन्छ जुन प्रक्रिया  पनि एन्टीबायोटिक रेसिस्टेन्टको मूल कारण बनेको छ ।

एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) तब हुन्छ जब ब्याक्टेरिया तथा परजीवीहरु समय संग परिवर्तन हुन्छ र अब औषधिहरु लाई प्रतिक्रिया गर्दैन, संक्रमणको उपचार गर्न गाह्रो बनाउँछ र रोग फैलने, गम्भीर रोग र मृत्यु को जोखिम बढाउँछ । Antibiotic औषधि प्रतिरोधको परिणामको रूपमा एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल औषधिहरू प्रभावहीन हुन्छन् र संक्रमणहरू बढ्दो रूपमा गाह्रो वा उपचार गर्न असम्भव हुन्छ । हालका वर्षहरुमा विश्वमा १ लाख ३० हजार जनाले एन्टिबायोटिक्स प्रतिरवधका कारण उपचार गर्न नसक्दा मृत्यु भएकोछ भने सन २०५० सम्ममा यो आँकडा ५ लाख पुग्ने विश्व स्वास्थ्य संघले प्रक्षेपण गरेकोछ । एन्टिबायोटिक्स र अन्य Antimicrobial औषधिहरूको प्रतिरोधको बढ्दो समस्यालाई सम्बोधन गर्नको लागि विश्वव्यापी कार्य योजना २०१५ को अठौं विश्व स्वास्थ्य सभामा अनुमोदन गरिएको थियो । योजनाको मुख्य उद्देश्यहरू मध्ये एक प्रभावकारी सञ्चारको माध्यमबाट AMR को बारेमा आम जनमानसमा चेतना र धारणालाई सकरात्मक सुधार गर्नका लागि हरेक वर्ष Nov 18 देखि 24 सम्म विश्व AMR सचेतना सप्ताहलाई विश्वव्यापी अभियानको शुरु गर्यो जुन AMR को बारे मा जागरूकता र बुझाइ सुधार गर्न र जनता, एक स्वास्थ्य सरोकारवाला र नीति निर्माताहरु माझ उत्कृष्ट अभ्यासहरु लाई प्रोत्साहित गर्न को लागी वार्षिक रूपमा मनाइन्छ । आधुनिक चिकित्साको सबै भन्दा महत्वपुर्ण उपलब्धि एन्टिबायोटिकको आविस्कार हो भने 21 औं शताब्दीकको सबैभन्दा ठूलो विश्वव्यापी जन स्वस्थ्य समस्या एन्टिबायोटिक प्रतिरोध (Antibiotic Resistance) हो ।

केहि जीवहरु को लागी, विशेष गरी ग्राम नेगेटिभ ब्याक्टेरिया जस्तै Pseudomonas, Escherichia coli र Klebsiella  त्यसका लागि अत्यधिक सीमित उपचारात्मक विकल्पहरू हुन्छन् । संसार भर एन्टिबायोटिक प्रतिरोध गराउने देशको उच्च सुचिमा चिन, कुवेत र संयुक्त राज्य अमेरिका रहेका छन जहा ४१ प्रतिसत एन्टिबायोटिक प्रतिरोध भएको तथयांक छ । नेपालमा एन्टिबायोटिक रेसिस्टेन बढ्नु मा नेपालको सरकारी तथा गैरसरकारी संस्थाहरू दुवै बराबर जिम्मेवार रहेको पाइन्छ । निजी तथा प्राइभेट संस्था वा क्लिनिकहरु तिर व्यावसायिक दृष्टिकोण र जनताको  छिटो निको हुने चाहना  पुरा गर्नका लागि अनुचित रुपमा Antibiotics औषधिको सिफारिस गर्नु र उक्त औषधिहरू बिरामीले नियमित र उचित मात्रामा पूरा नगर्नु साथै यता सरकारी स्वास्थ्य संस्थाहरूमा Logistic Supply पर्याप्त नभएको र स्वास्थ्य संस्थामा आउने सबै बिरामीहरूलाई औषधि पुर्याउनुपर्ने बाध्यता वाहनामा आम स्वास्थ्यकर्मीहरूले पनि Amoxicillin, Ciprofloxacin तथा Metronidazole जस्ता Antimicrobial  औषधिहरूको पूर्ण मात्रा नपुर्याईकन वितरण गरेको पाइन्छ । तर  मेरो अनुभवमा राज्य पुनरसंरचना भएपछि  आधारभूत औषधिहरूको सप्लाई पालिका आफैले गर्ने भएको हुँदा उल्लेखित औषधिहरूमा खासै अभाव भएको छैन र प्रतिजैविक औषधिहरू सिफारिस गर्दा पूर्ण मात्रामा पुग्ने गरी सिफारिस गर्न पाइएको छ । तर हामी यसबारे पनि चनाखो हुन आवश्यक छ कि हामीले वितरण गरेको Antibiotics tथा अन्य औषधिहरु पनि बिरामी तथा सेवाग्राहीहरुले पूरा मात्रामा प्रयोग गर्यो कि गरेन भनेर फलोअप गर्नुपर्छ । धेरैजसो त हामीहरुले बिरामीलाई follow up मा बोलाउँछौं तर  न्यून सङ्ख्यामा मात्रै बिरामीहरू फलोअपमा आएको पाईन्छ । AMR  रोकथामका लागि अब यसरी  फलोअपमा नआउने बिरामीहरूका लागि पनि छुट्टै प्रोटोकल बनाएर पूर्ण रुपमा फलोअप  गर्नुपर्ने देखिन्छ । निजी स्वास्थ्य संस्थाहरूको अभ्यास अनि बिरामीहरूको र सरकारी स्वास्थ्य संस्थाको अभ्यास वास्तवमा जनस्वास्थ्यको लागि घातक छन् । साथै एन्टिबायोटिक रेसिस्टेन्टकै कारण किटाणु जन्य रोगहरूको उपचार जटिल र महँगो पनि बन्दै गएको छ ।

यद्यपि यस खालको अभ्यास र प्रवृत्ति हाम्रो समुदायमा दिनानुदिन बढ्दै छ । WHO  को अनुसार  नेपालमा Global Antibiotic Resistance Partnership (GARP) गरेको अध्ययन अनुसार Amoxicilin ३९.६%,  Ctrimoxazole १५.९%,  Ciprofloxacin ९% र Azithromycin ९.८% रेसिस्टेन्ट भएको अध्ययनले जनाएको छ । त्यस्तै Streptococcus, Salmonella Typhi, Neisseria Gonococcus, E-coli र Pneumococcus  जस्ता Bacteria  हरुले उल्लेखित बाहेक अन्य एन्टिबायोटिकहरु मध्ये ३०% Antimicrobial औषधिहरु रेसिस्टेन्ट भएको  अध्ययनले बताएको छ । Antibiotics Resistance आम जन मानिसहरूको स्वास्थ्यमा प्रत्यक्षरूपमा नकारात्मक असर पार्ने भएकाले र विगत ३० वर्षदेखि यता नयाँ Antibiotic  औषधिको आविष्कार नै नभएको अवस्थामा यसबारे हामी सचेत हुन अपरिहार्य छ । यसको अलावा हाम्रो देश नेपालको विशेषगरी ग्रामीण समुदायमा कुखतको ठिम्रा भन्दै Tetracycline Antibiotic जथाभावी प्रयोग गरेको पाइन्छ । आज भन्दा तीन/चार दशक अगाडिसम्म हैजा (Cholera) रोगको सबैभन्दा प्रभावकारी औषधि Tetracycline Antibiotic औषधिलाई जनताहरुले सामान्य ARI  तथा रुघाखोकीमा पनि कुखतको ठिम्राको रुपमा अनियमित र अनियन्त्रित प्रयोग गर्दा सबैभन्दा बढी रेसिस्टेन्ट हुन पुगेको छ । Tetracycline औषधिलाई हिजोआज पनि  छिटफुट विशेषगरी प्राइभेट क्षेत्रमा विना जाँच विना पुर्जी पनि सर्बसाधरणले over the counter किन्न माग्ने र दिने प्रवृत्ति कायमै छ ।

अझै मैले कतिपय स्वास्थ्यकर्मी साथीहरुले  कुखतको ठिम्रा नै हो अझै राम्रो काम गर्छ भनेर Amoxycilin Antibiotic बिना चेक जाँच त्यो पनि अपूर्ण मात्रामा दिएको देखेको छु । AMR  को लागि सबैभन्दा गलत र गैर जिम्मेवार अभ्यास अनि प्रवृत्ति पनि यही हो । यसमा आम जनता हामी स्वास्थ्यकर्मी र सरोकारवालाहरू सबै जिम्मेवार छौँ । हाम्रो समुदायमा स्वास्थ्य सेवा क्षेत्रको यो अभ्यास र Antibiotic Resistance  विकास यही क्रममा बढ्दै गयो भने यसले नकारात्मक असर पार्नुको साथै मेडिकल साइन्सलाई नै चुनौती  थपिदिनुको साथै ठूलो संकट उत्पन्न भइसकेको छ । रोक्नका लागि हामीले हाम्रो अभ्यासलाई परिमार्जन गर्नुपर्छ र बिरामीहरूको अवधारणालाई पनि उपयुक्त परामर्श मार्फत परिवर्तन गर्नु आवश्यक छ र एन्टिबायोटिक तथा अन्य औषधिजन्य पदार्थहरूको समुचित प्रयोगबारे नयाँ ढङ्गबाट सचेत गराउनु अपरिहार्य छ ।

भनिन्छ, ५० प्रतिशत रोग परामर्श र सुझाव सल्लाहबाट निको हुन्छ ।  त्यसैले प्रश्न हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बीच आइसकेको छ हाम्रो काँधमा भएको दायित्वलाई सकारात्मक ढंगले पुरा गर्न कतै पछि परिरहेका त छैनौ ?  आउनुस् अब हामीले नेपालमा अनावश्यक रूपमा Antibiotic तथा अन्य औषधिहरुको सिफारिस गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै  सरकारी स्वास्थ्य संस्थाहरूमा आउने बिरामी तथा सेवाग्राहीहरूलाई उपयुक्त परामर्श गर्ने बानीको विकास गरौं र हाम्रो दैनिक जीवनमा काम गर्दा हरेकपटक आवश्यकता अनुसार सम्पूर्ण बिरामी सेवाग्राही तथा आम जनताहरुलाई Antibiotic  र अन्य औषधिजन्य पदार्थहरूको समुचित प्रयोग गर्न (6R) Right Patient/Disease, Right Medicine, Right Dose, Right Rime, Right Route and Right Documentation को बारेमा परामर्श प्रभावकारी रुपमा दिने बानीको विकास गरौं ।  हामीले हाम्रो पालिका भित्र यो अभ्यास सुरु गर्दा राज्य र जनसमुदाय स्वास्थ्यमा ठूलो परिवर्तन त ल्याउन नसकिएला तर कम्तीमा Antibiotic Resistance  र अन्य औषधि हरुको  गलत (Irrational)  प्रयोगले हुने र हुन सक्ने सम्भावित असरहरुमा कमी आउने र प्रत्यक्ष रुपमा बिरामी जनता र हामी सबै स्वास्थ्यसँग सम्बन्धित कर्मचारीहरुलाई पनि काम गर्न सहज हुने साथै हाम्रो अभ्यास पनि सकारात्मक हुनेछ ।  मैले व्यक्तिगत र संस्थागत दुवै रुपमा उल्लेखित गलत अभ्यासहरुलाई निरुत्साहित गर्ने प्रयास गर्दै आएको छु,  आउनुस् यस विषय र मुद्दासँग सम्बन्धित हामी सबै मिलेर अगाडि बढौँ जसले स्वस्थ र समृद्ध कालीगण्डकी गाउँपालिका र सिङ्गो नेपाल निर्माणमा सकारात्मक इट्टा थपोस् ।

(सि.अहेव)

कालीगण्डकी अस्पताल प्रशासन प्रमुख

बगनासकालीको पहिचानः शिद्धबाबा मालारानी मन्दिरमा महायज्ञको तयारी (मन्दिरको किवंदन्ती सहित)

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा

बगनासकाली गाउँपालिका अन्तरगतको धार्मिक तथा साँस्कृतिक पहिचानको रुपमा रहेको वडा नं. ९ स्थित शिद्धबाबा मालारानी मन्दिरमा महायज्ञ संचालनको तयारी गरिएको छ ।

प्राचीन धार्मिक धरोहरको रुपमा रहेको यस सिद्धबाबा मालारानी मन्दिर संरक्षण समितिले यहि आउदो मंसिर २३ –२९ गते सम्म धन धान्याञ्चल सप्ताह महायज्ञ गर्ने तयारी अगाडि बढाएको मन्दिर ब्यवस्थापन समितिका सचिव तीर्थराज बस्यालले बताउनुभयो । तिहार लगत्तै आमभेला गरी महायज्ञको थप तयारी गरिने बताइएको छ । महायज्ञबाट यस क्षेत्रको प्रवर्धनको अपेक्षा राखिएको छ । त्यस्तै संकलित रकमबाट मन्दिर र अन्य संरचनाहरु निर्माण गरिने मन्दिर बयवस्थापन समितिका अध्यक्ष डिल्लीराम बस्यालले बताउनुभयो ।

पाल्पा जिल्लाकै ऐतिहासिक, धामिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र हो मालारानी मन्दिर । चारैतिर हरियाली वनजंगल, मिलेका डाँडा, विविध खालका ढुङगाका आकृति, नजिकैको मालारानी मन्दिर, सिद्धबाबा मन्दिर सँगै रहेको गुफाले यस क्षेत्रलाई थप आकर्षित बनाएको छ ।

यहाँको मालारानी मन्दिर, सिद्धबाबा मन्दिर, मालारानी गुफा, हात्तीपाइले ढुङ्गा पर्यटकको मुख्य आर्कषणको केन्द्र बनेको छ । पाचँ देवीहरू मध्ये कन्या देवी, खाड देवी बगनासदेवी चादनी देवी (मालारानी) यहाँ रहेका छन् एउटा देवीको भने अहिले सम्म पनि नाम खुलेको पाएको छैन ।

मालारानी मन्दिर
मालारानी मन्दिरलाई हरियाली बनजंगल, डाँडा, हराभरा वातावरणले थप आकर्षक बनाएको छ । जिल्लाकै ऐतिहासिक, धामिक तथा पर्यटकीय महत्व बोकेको मालारानी क्षेत्रलाईलाई पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ । यस क्षेत्रमा पर्यटकहरु घुम्नका लागि मात्र नभई मालारानी मन्दिरको दर्शनले मनोकाक्षा पूरा हुने जनविश्वासका कारण पूर्णिमाका दिन भक्तजनहरु पूजाआजाका लागि पुग्ने गर्दछन् ।

यस मालारानी मन्दिरमा चोखो मनले भाकल गरे आपूmले मागेका कुरा पूरा हुने जनविश्वस छ । मालारानी मन्दिरमा पुगेर आफूले मनले मागेका कुराहरु पुग्ने धार्मिक जनविश्वास रहेको छ ।
धार्मिक किंवदन्तीहरुका अनुसार पाचँ देवीहरु मध्ये कन्या देवी, खाड देवी बगनासदेवी चादनी देवी (मालारानी) यहाँ रहेका छन् एउटा देवीको भने अहिले सम्म पनि नाम खुलेको पाएको छैन ।

यहाँ भगवान राम, सिता, लक्ष्मणको पूजा हुने गर्दछ । यस क्षेत्रमा रहेको ठूला–ठूला ढुङगाहरुमा बाघको पाईला, चराको पाईला, हात्तीको पाईला, विभिन्न चमत्कारी पत्थरहरु देख्न सकिन्छ । ढुगांमा हात्तीको पाईला भएकै कारण यस ठाउँको ठुलो ढुङ्ंगालाई हात्ती पाईले ढुंगा भनि नाम राखिएको हो ।

मालारानी मन्दिर सालघारीको बीचमा भए पनि धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्र्ण मानिन्छ । यस मन्दिरमा जेठ महिनाको पूर्णिमा र मंसिर महिनाको पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । यतिबेला विशेष पूजाआजाका लागि भक्तजनहरुको घँुइचो लाग्ने गर्दछ । जिल्लाका विभिन्न स्थानहरु सहित जिल्ला बाहिरबाट पनि दर्शनार्थीहरु पूजा र मेला अवलोकनका लागि आउने गर्दछन् । दर्शनार्थी तथा भक्तजनहरुले दान, दक्षिणा गर्ने गर्दछन् । पूजा र मेला अवलोकनका लागि आएका भक्तजनहरुले गरेको दान मन्दिर संरक्षण समितिले मन्दिरको स्तरोन्नतीका लागि खर्च गर्ने गरेको छ ।

सिद्धबाबा मन्दिर
तिनाउँ गाउँपालिकामा अवस्थित ठूलो सिद्धबाबा मन्दिरको झल्को मेटाउने सिद्धबाबा मन्दिर पनि यही क्षेत्रमा अवस्थित छ । सडकदेखि माथि पहाडको बीचमा सिद्धबाबा मन्दिर बनाइएको छ ।

सिद्धबाबा मन्दिरमा टाढाटाढाबाट पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुग्ने गर्दछन् । सिद्धबाबा मन्दिरको कोखैबाट १ सय ६१ सिडी पारगरेपछि मालारानी मन्दिर पुग्न सकिने भएकाले पनि सिद्धबाबा आउने भक्तजनहरु मालारानी नपुगि फर्कदैनन् । सिद्धबाबा मन्दिरमा भक्तजनहरु आफ्नो भाकल लिएर भाकल गर्न पूजा आजाका लागि पुग्न गर्दछन् । प्रत्येक महिनाको पूर्णिमाका दिन दुध, फलफूल चढाउने परेवा उडाउने गरिन्छ । सिद्धबाबा मन्दिरमा गएर आफूले मागेको भाकल गरेको पुग्ने जनविश्वास छ । मालारानी, सिद्धबाबा मन्दिर, गुफा अवलोकनका लागि यस क्षेत्रमा पुग्ने पर्यटकहरुलाई सहजाका लागि सिडीसँगै फलामे रेलिङ बनाइएको छ । यहाँको शान्त वातावरण, ऐतिहासिक तथा धार्मिक विविधताले यहाँ घुम्न आउने पर्यटकहरु दिनानुदिन बढ्दै गएका छन् ।

मालारानी गुफा
यहाँ अवस्थित मालारानी गुफाको पनि विशेषखालको महत्व रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु मालारानी गुफा अवलोकनका लागि यहाँ पुग्ने गर्दछन् । गुफा भित्र गाईको थुनहरु, ढुङगाको मूत्र्ति, चरा, नाग, वन्यजन्तु लगायतका आकृतिहरु, सिद्धबाबा आदि अवलोकन गर्न सकिन्छ । गुफा भित्र रहेको प्राकृतिक ढुंगाका आकृतिहरुले दर्शनार्थीहरुलाई चकित बनाउने बनाउछ । गुफा अवलोकनका लागि समेत आन्तिरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । गुफाबाट सुरुङमार्ग हँुदै राम्दी निस्किन सकिन्छ भन्ने पुराना पुस्ताको भनाइ छ ।

हात्तीपाइले ढुङ्गा

मन्दिर नजिकै रहेको हात्ती पाइले ढुंगा पनि यहाँको पहिचान हो । यहाँ घुम्न आउने पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । ढुंगामा हात्तीका पाइला देख्न सकिने भएकाले यसलाई हात्ती पाइले ढुंगा भनिएको हो । तिन तला रहेको यो ढुङ्गा निकै आकर्षक छ । हात्ती पाइले ढुङ्गाले पर्यटकको मन लोभ्याउने गरेको छ । यो ढुङ्गामा विभिन्न खालका धार्मिक आकृतिहरु अवलोकन गर्न सकिन्छ ।

देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम

गोपाल प्रसाद वश्याल । पाल्पा
वाङमय प्रज्ञा—प्रतिष्ठान, पाल्पाको आयोजनामा ११५ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती तथा ७३ औं प्रतिभा संगम कार्यक्रम तानसेनको जनता माध्यमिक विद्यालयमासम्पन्न भएको छ ।

कार्यक्रममा उपप्राध्यामक डा. टंक पन्थले महाकवि देवकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै राष्ट्रकवि माधव प्रसाद घिमिरेले भानुभक्त आचार्यको आदिकवि र देवकोटाको महाकवि सम्मान जनअनुमोदित भएको बताएको उल्लेख गर्नुभयो । त्यसैगरी नाटककार बालकृष्ण समका शब्दमा महाकवि देवकोटा तीन पटक जन्मिएका छन्  मुनामदन, शाकुन्तल र पागल कवितामा । डा. पन्थले देवकोटाको बहुआयामिक दृष्टिकोण उनका विभिन्न कृतिमा पाइने तथ्य उदाहरणसहित प्रस्तुत गर्दै देवकोटा मानवतावादी, भौतिकवादी, प्रगतिवादी र मूलतः सामाजिक एवम् मानवीय विकृतिहरूमाथि प्रहार गर्ने ब्यक्ति भएको बताउनुभयो ।

महाकवि देवकोटाका जीवनका रोचक प्रसंगहरू कोट्याउँदै प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्यालले देवकोटा नेपाली साहित्यका अतुलनीय, सर्वमान्य र विलक्षण प्रतिभाका धनी ब्यक्तित्व मात्र होइनन् उनको जीवन चाखलाग्दा घटनाहरूले भरिएको बताउनुभयो । देवकोटामा भएको आँसुकवि प्रतिभा, नेपाली र अंग्रेजी दुवै भाषामा अत्यन्तै उत्कृष्ट कृतिहरू सिर्जना गरेका, स्वच्छन्दवादी कविता, निबन्ध, नाटक, कथा लगायत विधामा उत्कृष्टता देखाएका देवकोटाको विराट प्रतिभा नेपालले पाउनु सौभाग्य भएको अध्यक्ष वश्यालले बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरू डा. टंक पन्थले देवकोटासम्बन्धी कविता, डा. शंकर गैरेले गजल, कवि आर बि निश्चलले प्रदेशबाट फर्कन आह्वानसहितको गद्य कविता, प्रगतिशील लेखक संघका अध्यक्ष रामप्रसाद अर्यालले मुक्तकहरू, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मीले वीर तथा श्रृंगारिक रसका शीतहरू, साहित्यकारहरू धातानन्द शर्माले देवकोटाको अन्तिम कविता वाचन र लक्ष्मी मा वि को सम्झना कविता, गोम बिक्रमले चाडपर्व विशेष मुक्तक र लघुकथा, रोहित ज्ञवालीले गुलेली कविता, युवा कवि शंकर ढकालले संस्कृत भाषामा देशप्रेम कविता, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, जनता मा. वि.का प्रधानाध्यापक हरि प्रसाद घिमिरे र राम ज्ञवालीले कविता वाचन गरे भने प्रतिष्ठानका सचिव गणेश नेपालीले गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत रचनाहरूको डा टंक पन्थले समिक्षा गर्नुभयो । उहाँले प्रस्तुत रचनाहरूको छुट्टाछुट्टै टिप्पणी गर्दै प्रस्तुतिहरू लक्ष्मी जयन्तीसँग सान्दर्भिक, छन्द एवम् गद्य लयमा र कविताका विभिन्न विधामा संरचित, विविध भाव, रस र चेतनाले भरिएका रहेको बताउनुभयो । रचनाहरूमा स्व—मूल्यांकन, राष्ट्रप्रेम, आर्थिक एवम् सामाजिक अवस्था, अभाव, प्रकृति र मानवीय क्रियाहरूको विमर्श, माता र मातृभूमिप्रति सद्भाव र श्रृंगार झल्किएका थिए ।

प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्यालको अध्यक्षता र सचिव गणेश ज्ञवालीको सञ्चालनका चलेको कार्यक्रममा प्रमुख अतिथि जनता मा वि का प्रधानाध्यापक हरि प्रसाद घिमिरे र शिक्षक राम प्रसाद ढकालले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा सबै साहित्यकारहरूले तिहार, नेपाल सम्बत् र छठ पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए ।

सशस्त्र प्रहरी बल पाल्पाको बाह्रौ स्थापना दिवस कार्यक्रम सम्पन्न

पाल्पा । शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हे.क्वा. पाल्पाको बाह्रौ स्थापना बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
पाल्पामा रहेको यो गुल्मले शान्ति सुरक्षाका लागि जनताको सुख दुखमा सारथीको भुमिका निर्वाह गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महानिरीक्षक बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल रहनुभएको थियो । उहाँले आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै पाल्पामा रहेको यो गुल्म मार्फत हुँदै आएका महत्वपूर्ण जिम्मेवारीहरुको प्रसंशा गर्नुभयो । कार्यक्रममा धन्यवाद ब्यक्त गनुहुँदै गुल्मपति श्याम संगती महर्जनले सबै क्षेत्रको साथ र सहयोगले गुल्मले महत्वपूर्ण जिम्मेवारीहरु पूरा गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्थित बिभिन्न बिशिष्ट पाहुनाहरुको सहभागिता रहेको थियो । यो गुल्मले बिभागीय जिम्मेवारी शान्ति सुरक्षासँगै जिल्लाका बिभिन्न समस्याहरुमा सच्चा सेवकको भूमिका निर्वाह गर्दै आएको छ । बिपद्का समयमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको छ ।

दिवसको अवसरमा गुल्मले बिभिन्न प्रतियोगिताहरु समेत संचालन गरेको थियो । दिवसकै अवसरमा हाजिरीजवाफ, सचेतनामूलक कक्षा, बिभिन्न खेलकुद प्रतियोगिताहरु, मन्दिर सरसफाई, दिपावली लगायतका कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमकै अवसरमा प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । त्यस्तै बिभिन्न सहयोगी ब्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रमको संचालन हुमनाथ अधिकारीले गर्नुभएको थियो ।

 

बुबाआमाको चौरासी पुजामा कृति बिमोचन

पाल्पा । वाङमय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद वश्यालले आफ्ना पिता गुणाखर वश्याल र माता यमकला वश्यालको चौरासी पुजाका दिन आफ्ना अंग्रेजी भाषामा लेखिएका कविताहरूको सँगालो द जर्नी एण्ड अदर पोएम्स् को बिमोचन गरिएको छ ।

आमाबुबाको चौरासीमा उपस्थित पाहुनाहरूका विच कृतिकारका बुबाआमा, लुम्बिनी प्रदेश सभासद वीर बहादुर राना, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराई, जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खरालसहितले कृतिको बिमोचन गर्नुभएको हो ।

कृतिको बिमोचन गर्दै साँसद राना, अध्यक्ष भण्डारी र प्रमुख भट्टराईले साहित्यकार वश्यालले शिक्षा र साहित्यका क्षेत्रमा गरेको योगदान र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उहाँजस्ता सर्जकले समाजलाई असल बाटोमा लैजान मद्दत गरेको बताउनुभयो ।

नेपाली तथा अंग्रेजी दुवै भाषामा साहित्य रचना गर्ने कवि वश्यालले यस कृतिमा विभिन्न समयमा लेखिएका २७ वटा कविताहरू समावेश गरेका छन् । यी कवितामा मूलतः मानवीय समवेदना, सामाजिक सन्देश, राष्ट्रप्रेम, पेशाप्रतिको सम्मान र सामाजिक एवम् राजनीतिक विकृतिहरूमाथि ब्यंग्यात्मक प्रहार रहेको स्रष्टा वश्यालले बताउनुभयो ।
पण्डितहरूले स्वस्तिवाचन गरेर सुरू गरिएको कृति बिमोचन कार्यक्रमको सञ्चालन पोखराथोक साहित्य संगमका पूर्व अध्यक्ष हरि प्रसाद भट्टराईले गर्नुभएको थियो ।

लुम्बिनी साहित्य सङ्गमको सिर्जना वाचन कार्यक्रम सम्पन्न

धातानन्द शर्मा गैरे
पाल्पा । लुम्बिनी साहित्य सङ्गम लुम्बिनी प्रदेश नेपालले ११६ औं लक्ष्मी जयन्ती तथा वृहत साहित्यिक समारोह तानसेनमा संस्थाका अध्यक्ष भावना खनालको अध्यक्षता तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का संघीय सांसद माननीय ठाकुरप्रसाद गैरेको पमुख आतिथ्यमा भव्यरुपमा सम्पन्न गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो । उहाँले महाकविको कृतिबाट आफ्नो जीवनलाई सफल र समृद्ध बनाउनुका साथै हामी र हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मार्गदर्शन गरेको छ भन्नुभयो । साहित्यमार्फत उहाँले दिएको सन्देश हामीले व्यवहारमा उतारेर समाजमा व्याप्त विभेद अन्त्य गर्न सकेमात्र देवकोटाप्रति सच्चा सम्मान हुने उहाँको विचार थियो । उहाँले पाल्पाको लोकसाहित्य र संस्कृतिको महत्त्वको चर्चा गर्दै कार्यक्रमको सफलताका साथै हालै स्थापना भएको यो साहित्यिक संस्थाको प्रगतिको शुभकामना दिनुभयो । सो अवसरमा उहाँले संस्थामा आजीवन सदस्यता लिनुहुने सदस्यहरुलाई सदस्यताको प्रमाण–पत्र पनि प्रदान गर्नुभएको थियो ।

लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष वरिष्ठ साहित्यकार कृष्णराज डि.सी. ले महाकवि लक्ष्मीप्रसादको व्यक्तित्त्व तथा कृतित्त्वका विविध पक्षहरुमा सविस्तार प्रकाश पार्नुभयो । छोटो अन्तरालमा देवकोटालाई परेको पुत्रशोक, मातृशोक र पितृशोकले उहाँको जीवनमा निकै आघात पारेको प्रसंग पनि उठाउनु भयो । उहाँमा कविता सिर्जना गर्ने अद्वितीय क्षमताका कारण १० दिनमै सुलोचना महाकाव्य रचना गर्न सकेको भन्दै उहाँले रचना गनुभएको सबै महाकाव्यहरुको संक्षिप्त चर्चा गनुभएको थियो । उहाँका खण्डकाव्य, लघुकाव्य, कालजयी कृति मुनामदनको पनि चर्चा गर्नुभयो । देवकोटा क्षमतालाई बुझ्न नसकेको तत्कालीन नेपाली समाजले उहाँलाई पागल घोषणा गरी उपचारका लागि राँची पठाएको तर त्यहाँका चिकित्सकले उहाँको प्रतिभा पहिचान गरी गलत भूगोलमा उहाँको जन्मले उहाँको क्षमता चिन्न नसक्दा यो समस्या आएको भन्ने विचार राखेको चर्चा गर्नुभयो । उहाँले सुमधुर स्वरमा शार्दूल विक्रीडित छन्दमा देवकोटाको कृति र व्यक्तित्त्व सम्बन्धी कविता र मुनामदनको केही अंश पनि वाचन गर्नुभयो ।

नागरिक समाज दाङ्का अध्यक्ष निमबहादुर थापाले आफू पहिलो पटक पाल्पा आउँदा घटेका रोचक दुई घटना सुनाउँदै उक्त घटनाले आफूलाई पराई धनप्रति निस्पृह हुन सिकायो भन्नुभयो । उहाँले लक्ष्मीप्रसादको गजल र आफ्नो “म स्वदेश आउँछु” शीर्षकको आशावादी कविता सुनाउनु भयो । संस्थाका सल्लहकार डा। नारायणप्रसाद पंतले देवकोटा के हुन् भन्दा पनि उनी के होइनन् भन्ने प्रश्न मनमा उठ्छ भन्नुभयो । देवकोटालाई गरीब भनिएकोमा आफू असहमत रहेको बताउँदै जन्म, पैत्रिक सम्पत्ति, विलक्षण प्रतिभा, कृति, पद, प्रतिष्ठा भएको बहुआयामिक व्यक्तित्त्वलाई गरीब भन्न नमिल्ने उहाँको तर्क थियो ।

सल्लाहकार राजनप्रसाद पंतले आफू १४ वर्षको प्राध्यापन छोडेर राजनीतिमा लागेको, साहित्य सिर्जनामा भने भर्खरै मात्र कलम चलाउन थालेको हो भन्नुभयो । देवकोटा गरीब नभै आर्थिक व्यवस्थापनमा भएको कमजोरी र दीनदुःखीप्रतिको उहाँको उदार भावनाका कारण पनि आर्थिक कष्ट भोगेको विचार राख्नुभयो । उहाँले देवकोटाको बारेमा “अतृप्त सपना” शीर्षकको कविता वाचन गर्नुएभयो । पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्दप्रसाद खनालले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै शार्दूल विक्रीडित छन्दमा “बाँचेर खै के भयो” शीर्षकको कविता सुनाउनु भयो ।

कार्यक्रममा सिर्जना बाचन गर्ने स्रष्टाहरुमा धर्मचन्द नेपालले देवकोटाको मृत्यु शैयाको कविता, सीता खनालले “हावाहुरीले नढालोस्” शीर्षकको कविता, गङ्गाबहादुर खत्रीले “सिँह दरबार टाढा पुगे जस्तो लाग्छ” शीर्षकको कविता, रामप्रसाद अर्यालले “चोरको जीवन” शीर्षकको गद्य कविता, आर। बि। निश्चलले “मुक्त आकाशको खोजीमा” शीर्षको दार्शनिक कविता, शोभा कडरिया कोइरालाले झ्याउरे लयमा “फर्कन युवा” शीर्षकको कविता, सरोज काफ्लेले शार्दूल विक्रीडित छन्दमा “माथा फुटाए पनि” शीर्षकको कविता, जनका नेपालले “खटिरो” शीर्षकको कविता र गजल, नेत्रप्रसाद न्यौपानेले श्रृङ्गारिक शैलीका मुक्तक, धातानन्द शर्मा गैरेले जुवातास विरोधी छेस्का कविता र साइनो कविता सुनाउनु भयो । त्यस्तै मनबहादुर खत्रीले “सरकार पो किन चाहियो” शीर्षकको व्यङ्ग्य कविता, विशाल दर्लामीले युवा पलायन सम्बन्धी गजल, सन्तवीर बरालले झ्याउरे छन्दको कविता, महेन्द्र पन्थीले “रातरानी फूल” शीर्षकको गद्य कविता, सूर्यबहादुर बोहराले भजन, शोभा पाण्डेले गजल, पुष्कर आचार्यले “फेर्ने मन छ” शीर्षकको कविता, च्न्द्रकला न्यौपानेले झ्याउरे छन्दको कविता, नारायणी शर्माले “लक्ष्मीप्रसाद देवकोटा” शीर्षकको कविता, विमला गैरेले “एक्लो व्यक्ति हैन म” शीर्षकको कविता, रोहितप्रसाद ज्ञवालीले केही गुलेली कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष भावना खनालले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्न सहयोग पुर्याउने स्रष्टाहरु, आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिनुभयो । उहााले कलम यस्तो हतियार हो जस्ले ठूलाठूला परिवर्तन परिवर्तन ल्याउन सक्छ भन्ने विचार राख्नुभयो । सिर्जनामा मिठो नसा हुन्छ भन्ने विचार राखदै साहित्य सिर्जनामा सक्रिय रहन सबैलाई आह्वान गर्नुभयो । उहाँले पञ्चचामर छन्दमा “जानकी” शीर्षकको कविता सुनाउनु भयो ।
कार्यक्रम संस्थाका कोषाध्यक्ष रमा पन्तको स्वागत तथा सहसचिव मनबहादुर खत्रीको सञ्चालनमा चलेको थियो ।

रम्भाको फोक्सिङकोटमा ऐतिहासिक तथा साँस्कृतिक मारुनी नाच नाचियो

एवत सारू

रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा मगर समुदायमा नाचिने मौलिक तथा साँस्कृतिक मारुनी नाच नाचिएको छ । फोक्सिङ्गकोटको रानीबास गाउँमा नाचिएको मारुनी नाचलाई जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, पाल्पा जिल्ला अदालतका प्रमुख माननीय न्यायधीश दलबहादुर केसी, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालको टोलीबाट मारुनी नाचको अवलोकन समेत गरिएको छ । गाउँको आमा समूहको व्यवस्थापनमा बडा दशैंको अवसरमा मारुनी नाच नाचिएको मारुनी नाचका अगुवा रौरा देवेन्द्रकुमार सारुले बताउनु भयो ।

मारुनी नाचमा ऐतिहासिक राजा महाराजाका गीत, भगवान श्री राम, श्री कृष्णका कथाहरु, मझौटे, डाडी, ख्याली, झुमरी विधाका गीतहरु गाएर भर्खरका युवाहरुलाई मारुनीको भेषमा सिंगार गरेर नाच्ने प्रचलन रहेको छ । भरखरका युवालाई मारुनी बनाएर चोलीया, टिकी, फरिया, कण्ठ, पटुकी लगायतका परम्परागत पहिरन लगाई पुर्छङ्गे संगै नचाउने चलन रहेको छ । मारुनी संगै जोडी मिलाएर नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । पुर्छुङ्गेलाई धुन, धोेती, टोपी, कोट र फेट्टा लगाएर सिंगार्ने गरिन्छ । पुर्छुङ्गे र मारुनीलाई नचाउनको लागि मादले आवश्यक पर्छ । ख्याली गीतमा एकजना मादलेले मारुनी र पुर्छुेङ्गेलाई नचाउँछन भने मझौटे, रामायण, चरित्र नाचमा दुई जना मादलेले ३ जना मारुनी र ३ जना पुर्छुेङ्गेलाई नचाउने गरिन्छ । मारुनी नाच फोक्सिङ्गकोटको रानीबासमा हाल गल्याङ्ग नगरपालिका मालुङ्गाका बोझा दीबाट भित्रयाएको भन्ने गरिन्छ । यस नाचका अधिकांश शब्दहरु हिन्दी, मैथली शैलीमा रहेको छ ।

देखो हो महारानी चाँदीको ढोका हे यति रमाईलो दरिबार ख्याली गीत हो । यसै गरि अर्को ख्याली गीत राम रस मुरली गोकुलैमा कृष्णले बजायो भन्ने रहेको छ । मारुनी नाचको शुरुमा सरस्वतीको गीत गाउने चलन छ । यो गीत झण्डै एक घण्टा लामो रहेको छ । लोग्ने मानिसहरु दुई समूहमा बाँडिएर पालैपालो भाखा हालेर गीत गाउने मारुनी नाच लोपोन्मुख अवस्थामा पुगेको छ । मारुनी नाच नाचेर रानीबास गाउँका गाउँलेहरुले वर्षेनी लाखौं रुपिया आम्दानी समेत गरेका छन् । गाउँमा वर्षेनी दशैं, तिहार, ठूलो एकादशी र मंसिरे पुजा पछि चारपटक मारुनी नाच नाच्ने चलन रही आएको छ । दशैंमा नाचेको आम्दानी ४० हजार भन्दा बढी भएको रौरा देवेन्द्र सारुले बताए । नाचन कोषबाट मारुनी नाचका कपडा, मादल, मजुरा खरिदका साथै गाउँको विकासमा समेत लगानी गरिएको छ ।

यो नाचले सामाजिक एकता समेत कायम भएको छ । नाच्ने दिन आमा समूहले सामूहिक भोजको व्यवस्था गर्दछन । प्रत्येक घरबाट चामल, तरकारी, चिनी, चट्नी, बटुक, रोटी संकलन गरि खादा अलग्गै मजा आउने दशैं मान्न आउन गाउँ आएकाहरु बताउछन । मारुनी नाच ऐतिहासिक, मौलिक, धार्मिक तथा सांस्कृतिक पक्षले भरिपूर्ण रहेकोले यसको संरक्षण र सम्बर्धनमा सबै लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनु भएको छ । नाच हेर्न स्थानीयवासीका साथै रम्भा १ हुँगीबाट ठूलो संख्यामा दर्शक पुगेका थिए । मगर समुदायमा रहेको कला संस्कृतिको जगेर्ना गर्न युवाहरुको भूमिका प्रसंसनीय रहेको रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताउनु भयो ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीय लोकसंस्कृतिको जगेर्ना गर्न रम्भा गाउँपालिकाले सदैव सहयोग गर्ने बताउनु भयो । पाहुनाहरु मारुनी नाच संगै झाम्रे नाचमा समेत सरिक भई नाच्दा गाउँलेहरु पनि रमाएका थिए ।

सिलुवामा डेढ लाख पुरस्कार राशी सहितको भलिवल खेल हुँदै

पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा यही कार्तिक २१ गतेदेखि २४ गतेसम्म आठौ मण्डली कप भलिवल खेत प्रतियोगिता हुने भएको छ ।

मण्डली स्पोर्ट्स क्लब पूर्वखोलाको आयोजनामा प्रतियोगिता हुन लागेको प्रतियोगितामा पुरूषतर्फ र महिला तर्फको भलिबल खेल हुने क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले बताउनुभयो । पुरूषतर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार राशीको र महिलातर्फ ३० हजार रूपियाँ राशीको पुरस्कार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघिका वर्षहरुमा पुुरुष भलिवल मात्र हुने गरेमा यस वर्ष सबैको सुझाव बमोजिम महिला भलिवल खेल समेत थप गरिएको उहाँले बताउनुभयो ।

पुरुष भलिबलतर्फ प्रथम हुनेले १ लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्, त्यस्तै द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ठ खेलाडीलाइ पनि नगद सहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद र कपका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

पुरुष भलिबलतर्फ ६ टिम सहभागी हुनेछन् भने महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्टिूय तथा अन्तरराष्टिूय खेलाडी पनि समावेश हुने बताइएको छ ।

प्रतियोगितासँगै बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको जमघट रहनेछ । कार्यक्रम संचालनका लागि पूर्वखोला गाउँपालिकाको ५ लाख सहयोग रहने र अन्य सहयोगी संस्था र ब्यक्तिहरुबाट सहयोग स्वरुप संकलन गरिने क्लवका सचिव कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

अर्गानिक खेतीतर्फ पाल्पाका किसानहरू

विष्णुप्रसाद घिमिरे
कृष्ण बहादुर विष्ट स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्छ । ५ वर्ष अगाडीदेखी पशुपालन गर्दै आएपनि तरकारी खेती गर्ने आँट भने आएको थिएन् । विषादी नहाली तरकारी उत्पादन नै हुदैन भन्ने लागेको थियो । साथीभाई र छिमेकले पनि विषादीविना तरकारी फल्दैन भन्दथे । विष्टलाई कृषि पाठशालाले विषादी मुक्त तरकारी खेती गर्न सिकायो । उहाँले अहिले गोठेमल र झोलमल प्रविधिमा अर्गानीक तरकारी उत्पादन र विक्री गर्दै आउनुभएको छ ।

तानसेन ६ ओढारे पाल्पाका कृष्ण बहादुर विष्टले १२ रोपनी जग्गामा टमाटर, काक्रा, तिते करेला, वोडी, सिमी लगायतका तरकारीहरु फलाएर विक्री समेत गर्नुभयो । हेफर ईन्टरनेशनल नेपालको सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाले विषादी मुक्त तरकारी खेती प्रविधि सिकाउँदा विष्ट र उहाँका छिमेकीहरु पनि अर्गानीक तरकारी उत्पादन गर्दै आउनुभएको छ । विष्टले गएको ६ महिनामा २ लाख वढीको तरकारी विक्री गर्नुभयो ।

विष्ट जस्तै कृषिमा कर्म गर्न खोज्नेहरुलाई हेफर ईन्टरनेशनलले सघाएको छ । तानसेन स्थित ग्रामिण आर्थिक विकास संघ रेडा मार्फत विउ, मल, टनेल, मल्चिङ्ग, तालिम र प्राविधिक सहयोगमा हातेमालो गरेको छ । कृषकहरुलाई गोलबद्ध गरी कृषि पाठशाला मार्फत हेर्दै सिक्दै गर्ने व्यवस्था गरिएको छ । कृषि प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा तरकारी खेती गर्दा सहयोग पुगेको रेडाकी कृषि प्राविधिक प्रतिक्षा क्षेत्रीले बताउनुभयो ।

तानसेन मदनपोखराका, नर बहादुर सार्की पनि अर्गानीक तरकारी खेती गरी आम्दानी गर्दै आउनुभएको छ । १२ रोपनी जग्गा वार्षिक ४५ हजार रुपैया भाडामा लिएर कृषि कर्म गर्दै आउनुभएको छ । ज्यामीको काम गर्दै आउनुभएका नर बहादुरलाई घरपरिवार चलाउन हम्मे हम्मे परेपछी तरकारी खेती सुरु गर्नुभएको थियो ।

गएको जेठमा लगाएको काक्राले राम्रो उत्पादन दियो, ४८ हजारको विक्री गर्नुभयो । काक्राले मात्रै जग्गाको भाडा उठाईदिएको छ । टमाटर, वोडी, करेला २ लाखको विक्री गर्नुभयो । अहिले काउली, वण्डा, सिमी लगायतका तरकारी हुर्कदै छन् । वार्षिक खर्च कटाएर ५ ६ लाखको विक्री गर्दै आउनुभएका नरबहादुरलाई घर खर्च चलाउन र छोराछोरी पढाउन तरकारीले सहज बनाएको नर बहादुरको भनाई छ ।

तानसेन प्रभासकी अम्बिका कोईरालालाई कृषि काम गर्छु भन्ने नै लागेकै थिएन् । मास्टर दोश्रो सेमेष्टर अध्ययन गर्दै गर्नुभएकी अम्बिकाले कृषि पाठशालाको तालिममा सहभागी भएपछि भने उत्प्रेरणा र हौसला मिल्यो । अन्तत समूह बनाएर ५५ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक कृषि अंगाल्नुभयो । उहाँहरुको समूहले खुर्सानी, बोडी ,करेला, काक्रा लगायतका तरकारीहरु खेती गर्दै आउनुभएको अम्बिका बताउनुहुन्छ ।

हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडाले कृषि परियोजना संचालन गरेपछी कृषकहरु अर्गानीक तरकारी खेतीतर्फ आर्कषित भएका हुन् । परियोजनाले पाल्पा जिल्लाका तानसेन, रिब्दीकोट, निस्दी, रम्भा र पूर्वखोला गरी ५ वटा पालिकाहरुमा काम गर्दै आएको छ । यहाँका कृषकहरुलाई वर्षभरी तरकारी उत्पादन गरी आत्मनिर्भर बनाउन विउ विजनहरु, मल्चिङ्क, टनेल, सिंचाई प्रविधि लगायतका सहयोग गर्दै वजारीकरणमा प्रतक्ष्य हातेमालो गरेको परियोजना संयोजक नृप परियारको भनाई छ ।

 

मेरूदण्डको पक्षघात पीडित सीता पराजुलीको उपचार सहयोगका लागि अपिल

पाल्पा । बगनासकाली ९ चापपानीकी सीता पराजुली खत्री विगत १ वर्षदेखी मेरुदण्ड पक्षघातको समस्याबाट ग्रुजिरहनुभएको छ । ३५ वर्षकी सीता विरामी भई थलिएपछि परिवार आर्थिक विचल्लीमा परेको छ ।

उहाँलाई २०७८ सालमा नसा सम्बन्धी समस्या भएपछी उपचार गरिएको थियो । पटक पटक अप्रेसन गर्दा पनि रोग निको नभएपछी झण्डै एक वर्षदेखी कोमामा रहनुभएको छ ।

झण्डै ९ महिना लामो समय काठमान्डौं वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइएको थियो । अहिले उहाँ कोमामा हुनुहुन्छ, एक घण्टाको अन्तरालमा विभिन्न उपकरणको सहायतामा सास नलीहरुको सफाई र उपचार घरमै गरिएको छ । श्रीमान् र दुई छोराछोरीकी आमा सीता लामो समयदेखी पक्षघात भई थला पर्दा, श्रीमान्ले स्याहार सुसार गर्दै आउनुभएको छ । गाउँघर, छरछिमेक र ईस्टमित्रको सहयोगमा अहिलेसम्म उपचार धानिरहेपनि अव थप उपचार गर्न र छोराछोरीको लालनपालन गर्न सक्ने अवस्था उहाँको श्रीमान्को छैन् । श्रीमान् शंकर विदेश पुग्नुमात्र भएको थियो, घरमा विरामी भएपछी साथीहरुको सहयोगमा फर्कनुपरयो । पटक पटक र लामो समय अस्पतालको उपचारले आर्थिक अवस्था नाजुक बनायो । अहिले विरामीको उपचार त परै जाओस छोराछोरी पाल्ने अवस्था नै कठिन भएको छ ।

विभिन्न व्यक्ति तथा संघसस्थाहरुले सहयोग गर्दै आएका छन् । वडा कार्यालय र गाउँपालिकाले असक्त अपांगताको सहयोग गर्ने वातावरण वनाएका छन् । नेपाली हट ग्रुप चितवन कार्यसमितिले ५० हजार रुपैया सहयोग गरेको छ ।
सीता विरामी पर्दा श्रीमान्ले स्याहारसुसारमै ध्यान दिनुपरेको छ । रोजगारीको लागि कतै जान सक्ने वातावरण छैन् । छोराछोरी साना छन् । पठनपाठन र लालनपालनमा कतैबाट सहयोग जुटेहुनेथियो भन्ने शंकरको अपेक्षा छ ।