पाल्पा । नेकपा माओवादी केन्द्र तानसेन नगर कमिटिको अधिवेशनबाट प्रतिक्षा सिंजालीको अध्यक्षतामा तानसेन नगर समिति गठन गरिएको छ । सिंजालीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित नगर समिति उपाध्यक्षहरु युवराज पन्त, अमर राना र मञ्जु बिक, सचिव नवराज बस्याल सहसचिव, नेत्र गौतम र कोषाध्यक्ष बासुदेव अर्याल चयन हुनुभएको छ ।
नेकपा माओवादी तानसेन नगर समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीलाई कमजोर पारिए समानुपातिक समावेशी व्यवस्थामाथि खतरा उत्पन्न हुने चेतावनी दिनुभएको छ । उहाँले माओवादीको योगदानकै कारण देशमा समानुपातिक समावेशी व्यवस्था स्थापित भएको भन्दै यसलाई जोगाउन पार्टीलाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।
नेता श्रेष्ठले भन्नुभयो “माओवादीलाई कमजोर पारियो भने समानुपातिक समावेशी व्यवस्था खोसिन्छ । त्यसपछि तपाईंहरूको हालत के हुन्छ ?” उहाँले महिला, दलित, जनजाति तथा पिछडिएको वर्गको अधिकार सुरक्षित गर्ने सवालमा माओवादीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
श्रेष्ठले संघीयताको महत्व दर्शाउँदै अहिले स्थानीय तहलाई सशक्त बनाइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “पहिले सांसद र मन्त्री समातेर सिंहदरबार धाउनुपर्ने बाध्यता थियो, तर अहिले वडामै ५०–७० लाखका योजना कार्यान्वयन हुने व्यवस्था छ ।” माओवादीकै योगदानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र संघीयता कार्यान्वयन सम्भव भएको उहाँको भनाइ थियो । उहाँले सबैलाई माओवादीलाई शक्तिशाली बनाउन एकताबद्ध हुन आह्वान गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सीता बौडेलले नेपालमा ठूलो जनसमुदाय कम्युनिष्ट आस्थामा रहेको उल्लेख गर्दै पाल्पाले लोकतान्त्रिक परिवर्तनमा ऐतिहासिक योगदान दिएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पुरन केसी, अनिल किशोर घिमिरे र नेत प्रसाद पाण्डेयले माओवादीलाई वृहत् शक्तिशाली बनाउन सबै नेता तथा कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सचिव यज्ञ पोखरेल र जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले पछिल्लो समय माओवादीप्रति जनलहर बढेको दाबी गर्दै पार्टी पुनः सशक्त बन्दै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नयाँ कार्यकर्ताहरूलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अविर लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र नगर समिति अध्यक्ष प्रतिक्षा सिंजालीको अध्यक्षता र मथुरा ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।