spot_img
Home Blog Page 2

बगनासकालीमा सडक स्तरोन्नतीको काम धमाधम हुँदै

0

पाल्पा । बगनासकाली गाउँपालिका भित्रका सडकको स्तरोनन्नती कार्य धमाधम चलिरहेको छ । सडक र पुर्वाधार विकास योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी गाउापालिकाको तर्फबाट सम्वन्धित निर्माण ब्यवसायीलाई ध्यानाकर्षण गराउनुका साथै योजनाहरुको प्रभावकारी अनुगमन समेत हुदै आएको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

गौरवको योजनाको काम अगाडि बढ्यो
बगनासकाली गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको चिलांगदी, मालारानी, राम्दी सडकको स्तरोन्नती कार्य अगाडि बढेको छ । चालु आर्थिक वर्षमा यो बाटोका लागि गाउँपालिकाले रु १ करोड बिनियोजन गरेको थियो ।

बिनियोजित रकमबाट उक्त सडकको चिलांगदी देखि अगाडि ९ सय मिटर सडक पिच गर्नका लागि उनालोम इन्जिनियरिङ् कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिले २०८१ बैशाख मसान्तभित्र काम सक्ने गरी ७४ लाख ६८ हजार ३ सय ६० रुपैयाँमा सम्झौता गरेको छ ।

यो योजनाको काम सुरू भइसकेको र सकेसम्म चैत मसान्तभित्रै काम सम्पन्न गर्ने गरी कार्य अगाडि बढेको गाउ“पालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । यो सडक निर्माणपछि बगनासकाली गाउँपालिका अन्तरगतका वडा नं. ५, ६, ७, ८ र ९ साथै तानसेन राम्दी हुदै पोखरा जाने यात्रुका लागि पनि सहज हुनेछ ।

अन्य सडकहरुको स्तरोन्नती पनि चल्दैछ
चिलाङ्दी, नायर, खानीछाप राम्दी सडकको स्तरोन्नती तथा पिच कार्य अगाडि बढेको छ । संघीय समपुरक बजेट १ करोड २० लाखबाट निर्माण कम्पनी उनालोम इन्जिनियरिङ् कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिले ६ सय मिटर पिच, ६ सय ५० मिटर नाली निर्माण र १ सय २० मिटर बाटो ढलाई गर्ने गरी ८५ लाख ४६ हजार ४ सय ३७ रुपैयामा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । यो योजनाको काम हालसम्म ५० प्रतिशत बढी भइसकेको र बैशाख मसान्तभित्र योजना सम्पन्न गर्ने कार्य अगाडि बढाइएको इन्जिनियर कुवरले बताउनुभयो ।

चालु आर्थिक वर्षमै सडक बोर्ड र गाउँपालिकाको बजेटबाट जरवादी चिलाङ्दी मोटरबाटोको रिपेयर्स कार्य सम्पन्न भएको छ । १९ लाख ५० बजेट यस योजनाका लागि रहेको थियो । सडक योजना अन्तरगत नै प्रदेश समपुरक बजेटबाट झिरभञ्ज्याङ्, देउराली, खानीगाउ वडा कार्यालय मिलनचोक मोटरबाटो पिच कार्य पनि तीव्र रुपमा अगाडि बढेको छ । यो योजना अन्तरगत यस वर्ष ४ सय मिटर बाटो पिच गर्ने योजना रहेको र ६० प्रतिशत बढी काम सम्पन्न भइसकेको कुवरले बताउनुभयो । त्यस्तै दरुङ्गा मिलनचोक दर्लममहाकाली सुपारे ढाप मोटरबाटोको स्तरोन्नतीको योजना पनि चलिरहेको छ । यो योजनाका लागि प्रदेश समपुरकबाट ५० लाख बजेट रहेको थियो । यो योजनामा यस वर्ष ३ सय मिटर पिच गर्ने योजना रहेको र टिए कन्स्ट्रक्सनमार्फत हालसम्म ५० प्रतिशत पूरा भइसकेको छ ।

त्यस्तै सिद्धार्थ राजमार्ग ३ नं. वडा कार्यालय हुँदै चौपारी मोटरबाटोको स्तरोन्नतीको काम पनि तीव्र रुपमा भइरहेको छ । ५० लाख बजेट यो योजनामा रहेको थियो । सन्त कन्स्ट्रक्सनमार्फत हालसम्म ६४ प्रतिशत बढी काम सम्पन्न भइसकेको इन्जिनियर कुँवरले बताउनुभयो । त्यस्तै सिद्धार्थ राजमार्ग फुलवारी सिखर टु माडी चक्रपथ कृषि सडकका लागि प्रदेश समपूरकबाट बिनियोजित रु ५० लाखबाट काम भइरहेको छ । यो योजनामा ६५ मिटर पिच र २ सय मिटर बाटो ढलाई हुनेछ । हालसम्म ८५ प्रतिशत बढी काम सम्पन्न भइकसकेको बताइएको छ ।

यी बाहेक अन्य योजनाहरू पनि गाउँपालिका भित्र संचालनमा रहेका छन् । सडक र भवन निर्माणका कामहरुले तीव्रता पाएको छ । गाउँपालिका अन्तरगतका वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईका भवनहरुको निर्माण तथा मर्मत कार्य पालिका अन्तरगतबाट हुदै आएको छ । हाल वडा नं. १ चिर्तुङ्धारामा वडा कार्यालयसगै रहेको गाउपालिकालाई चिलाङ्दीमा सार्ने गरी भवन निर्माण कार्य सम्पन्न भइसकेको छ ।

गाउँपालिकाले चिलाङ्दीमा १५ शैयाको अस्पताल निर्माण कार्य अगाडि बढाएको छ । अस्पतालको जम्मा लागत रकम भ्याट सहित १७ करोड ८ लाख, ५९ हजार ६ सय ४ रुपैयाँ रहेको छ । अस्पतालमा मेडिकल अधिकृत सहित डाक्टर र नर्ससहितको टिम रहने छ ।

अस्पताल निर्माण भएपछि गाउपालिकाबासीले चिकित्सकीय सेवा, आकस्मिक, ओपिडी, फार्मेसी, ल्याब, रेडियोलोजी लगायतका सुविधा प्राप्त गर्ने छन् । स्वास्थ्यको पहुच भन्दा बाहिर रहेका नागरिकलाई स्वास्थ्य सेवामा सहजै पहुच पु¥याउन संघीय सरकारको अवधारणा अनुसार १५ शैयाको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले सडक निर्माणको काम तीव्र भएको र गाउँपालिकाभित्र भएका भौतिक योजनाहरुको अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाएको र भौतिक तथा पुर्वाधार विकासका योजनाहरुलाई गुणस्तरीय बनाउन गाउँपालिकाले हरसम्भव प्रयास गरेको बताउनुभयो । हरेक वडामा प्राविधिक मार्फत प्राविधिक अनुगमन हुने गरेको उहाँले बताउनुभयो । पालिका भित्रै ल्याव पनि रहेकोले नियमित रुपमा गुणस्तरीयताको परीक्षण समेत गर्दै आएको अध्यक्ष चिदीले बताउनुभयो ।

सहकारी अभियन्ता पाण्डे माथि रामपुरमा आक्रमण

0

पाल्पा । जिल्ला सहकारी संघ लि. पाल्पाका अध्यक्ष, वचत तथा ऋण सहकारी संघ लि, का सल्लाहकार, पाल्पा जिल्ला सहकारीका अभियन्ता भुपति पाण्डे माथि मंगलवार रामपुरमा सांघातिक आक्रमण भएको छ ।

आक्रमणमा परी अभियन्ता पाण्डे घाइते हुनुभएको छ । उहाँको अहिले युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाको बिषयलाई लिएर जिल्ला सहकारी संघ र जिल्ला बचत संघले दोषीमाथि कारवाहीको माग सहित बिज्ञप्ति जारी गरेका छन् । सहकारी संघका सचिव कृष्ण भुसाल र बचत संघका अध्यक्ष जगदीश भट्टराईद्धारा जारी बिज्ञप्तिमा आज मिति २०८० साल चैत्र १३ गतेका दिन दिउसो १ वजे रामपुरमा भएको सांघातिक आक्रमणको घटनाले सिंगो सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस बर्षको सरकारी अभियानको नारा नै “सहकारी मा सुशासन प्रबिधि र एकीकरण“ भन्ने नारा लाई सार्थक बनाउनको निमित्त रामपुरको सुर्योदय सहकारी र ताल पोखरा कृषि सहकारी बिच एकीकरणका बिषयको छलफलका क्रममा रामपुर निवासी सोमबहादुर सेन र रुद्र नारायण श्रेष्ठ लगायतका व्यक्तिहरुले सुनियोजित रुपमा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष माथी सांघातिक आक्रमणले गर्दा गम्भीर घाइते हुनु भएको छ । उहाको मिशन अस्पताल तानसेनमा उपचार भई रहेको छ । उक्त बिज्ञप्तिमा उल्लेख छ ।

सहकारी अभियानलाई जताततैबाट विभिन्न किसिमबाट प्रहार भई रहेको वर्तमान अवस्थामा छलफल,सहमति र सहजताका साथ हुनपर्नेमा व्यक्तिगत रुपमा सांघातिक आक्रमण हुनु निन्दनीय र गैरकानूनी कार्य हो तदर्थ यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानून बमोजिम कडा भन्दा कडा कार्यवाहीको माग गर्दै घाईते भुपति पाण्डेको सिघ्र स्वास्थ्य लाभको कामना गर्र्दछौ । उक्त बिज्ञप्तिमा उल्लेख छ ।

 

रामपुरको कालीगण्डकी नदीको बडभानघाटमा शवदाहस्थल निर्माण हुदै

0

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पा रामपुरको बडभानघाटमा शवदाहस्थल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी नदीको वडभानघाटमा शवदाहस्थल निर्माण कार्य भइरहेको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयको दुुई लाख वजेट सहयोगमा शवदाहस्थल निर्माण सुरु गरेको रामपुर ४ का वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिनुुभयो ।

“वर्षायामका बेला नदीमा पानीको बहाव बढ्ने हुदा शव जलाउन निकै समस्या हुन्थ्यो” वडाध्यक्ष रानाले भन्नुुभयो,–“नदीमा पानीको सतह बढ्ने र आकाशबाट लगातार पानी पर्ने समस्याले वर्षायाममा शव जलाउन कठिनाई झेल्नुपर्ने अवस्था छ, सो समस्यालाई सहज बनाउन घाटमा शवदाहस्थल निर्माण कार्यमा वडाले सहयोग गरेको छ” । शवदाहस्थल निर्माणका लागि संगम समाज टोल विकास संस्थालाई जिम्मेवारी दिइएको वडाध्यक्ष रानाले बताउनुुभएको छ । उहाँका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव पाँच लाख रकम लाग्ने अनुमान गरिएको छ ।

“शव जलाउँदा जलाउँदै कहिलेकाँही वर्षाका बेला पानी नदीमा ह्वात्तै बढेर आउँदा जलेर नसकिदै शव नै पानीले बगाएर लैजाने हो कि भन्ने समस्या निक्कै पिरोल्थ्यो, अब व्यवस्थित शवदाहस्थल निर्माण भएपछि नदीमा पानी बढेर आएका बेला शव जलाउने समस्या सधैँका लागि हट्नेछ” वडाध्यक्ष रानाले भन्नुुभयो । दुुईवटा शवदाहस्थलमध्ये एकवटा छानो भएको र एकवटा छानो नभएको हुनेछ । एकै पटक दुुईवटा शव जलाउनुुपर्ने अवस्था आउन सक्ने हुदा एउटै घाटमा दुुईवटा शवदाहस्थल भएपछि दाहसंस्कार गर्न सहज हुने रामपुर ४ का वडा सचिव सविता आलेले बताउनुुभयो ।

शवदाहस्थल निर्माणमा वडामा रहेका १२ वटै टोल विकास संस्थाले जनश्रमदान तथा आर्थिक सहयोग गरेका छन् । संगम समाज टोल विकास संस्थाले संरक्षण तथा रेखदेख गर्ने गरी वडाले शवदाहस्थल निर्माणमा जिम्मेवारी दिएको हो ।
संगम समाज टोल विकास संस्थाका अध्यक्ष हरष रानाले हिन्दु धार्मिक शास्त्र अनुसार मानिसले मृत्युवरण गरेपछि सामाजिक परम्परा अनुसार नदीका घाटमा लगेर सामाजिक परम्परा अनुसार दाह संस्कार गर्ने चलन रहेकाले शवदाहस्थल निर्माण भएपछि दाह संस्कार गर्न धेरै सजिलो पर्ने बताउनुुभयो ।

सामाजिक हितका गरिएको यस कार्यमा जनप्रतिनिधि, टोल विकास संस्था, स्थानीयवासी लगायतको साथ सहयोग रहेको संगम समाज टोल विकास संस्थाका सचिव विष्णु सेनले बताउनुुभएको छ । करिव एक महिनाअघि देखि निर्माण कार्य सुरु भएको यस शवदाहस्थल यही चैत महिनाभित्र निर्माण सक्ने गरी कामलाई धामधम अगाडी बढाइएको छ ।

हिन्दु धर्म संस्कार अनुसार मानिस मृत्यु भए पश्चात् उसको पार्थिक शरीरलाई नदीका घाटमा जलाउने परम्परा छ । वर्षाका बेला नदी तथा खोलाका घाटमा शव जलाउन कठिनाई छ । शवदास्थल नभएका ठाउँमा पानी बढेर आउँदा घाट नै नपाइने, कतिपय अवस्थामा पानी परिरहदा शव जलाउने कार्यमा धेरै समस्या भइरहेको पाइन्छ ।

रामपुर नगरपालिकामा पहिलो पटक स्थानीय सरकारको सहयोगमा कालीगण्डकी नदीको बडभानघाटमा शवदाहस्थल निर्माण हुदै गरेको छ । स्थानीयले शव जलाउन वर्षायाममा पानीका कारण निकै दुुुखकष्ट भोग्दै आएका थिए । छिटो सम्पन्न गर्न वडाले नियमित अनुुगमन कार्य गरिरहेको छ ।

रामपुर नगरपालिका वडा नं ४ को कार्यालयले गरेको यस कार्यको अन्य वडा तथा स्थानीय निकायले पनि अवलम्वन गरेर नदी तथा खोलाका किनारमा शवदाहस्थल निर्माण गरिदिए शव जलाउन सहज पर्ने थियो । यस वडाले सामाजिक कार्यमा रचनात्मक खालका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

मिसन अस्पतालमा स्वास्थ्य बीमा संचालन गर्न अधिकारकर्मीको ध्यानाकर्षण

0

पाल्पा । युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालनका लागि जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

उक्त कार्यक्रममा अस्पतालका प्रमुख सहित प्रतिनिधि, मानवअधिकार रक्षक सञ्जाल, बिभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । सञ्जालका संयोजक भगवान भण्डारीको नेतृत्वमा पुगेको टोलीले अस्पतालका कार्यकारी निर्देशक डा. रचेल कारख, ब्यवस्थापक जीवन भट्टराई, कर्मचारी ब्यवस्थापन प्रमुख गणेश प्रसाद घिमिरेसँग भेट गरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालनका लागि रहेका जटिलताहरुको समाधान र संचालन प्रक्रियाको बारेमा छलफल गरेको हो ।

भेटघाट तथा अन्तरक्रियाका क्रममा संयोजक भण्डारीले मिसन अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालन हुँदाको अवस्थामा धेरै गरिव तथा बिपन्न परिवारका नागरिकहरुले निःशुल्क उपचार पाउँदै आएकोमा बीमा कार्यक्रम बन्द भएपछि समस्या भएको बताउनुभयो । उहाँले मिसन अस्पताल जिल्लाकै पुरानो अस्पतालको रुपमा रहेको र यो अस्पताल प्रति धेरै बिरामीहरुको उच्च बिश्वास रहेका कारण पनि यहाँ स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा लागू हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान सचिव किरण कौशलले मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सनाले मिसन अस्पतालले बिरामी बिरामीहरुलाई उपचार गर्दै आएकोमा यो अस्पतालप्रति धेरै बिरामीहरुको उत्तिकै बिश्वास रहेको बताउनुभयो ।

युनाइटेड मिसन अस्पतालकी कार्यकारी निर्देशक डा. रचेल कारखले यसअघि मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालन हुँदै आएकोमा बिमा बोर्डबाट पाउनुपर्ने बक्यौता रकम पाउनमा ज्यादै ढिलाई भई अस्पतालको नियमित सेवा प्रवाह प्रभावित हुने अवस्था आएपछि बिमा कार्यक्रम स्थगन गर्न बाध्य भएको बताउनुभयो ।

अस्पतालका ब्यवस्थापक जीवन भट्टराईले मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालन हुँदा धेरै गरिव तथा बिपन्न नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने भएकोले पनि यस कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारबाट पाउनुपर्ने बक्यौता रकम समयमा प्राप्त भई आगामी दिनमा पनि सोही बमोजिम रहने अवस्था भएमा मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

 

 

पाल्पामा १८ वर्षीया युवती मृत फेला, हत्याको आशंका

0

पाल्पा । पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाकी १८ वर्षीया पद्मा विश्वकर्माको शव मंगलबार बेलुका फेला परेको स्थानीयले जनाएका छन् ।

मंगलबार बिहान ९ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको ख्याहाका वडाध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । युवतीको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको उनले बताए ।

घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेको छ । हत्याको आशंका गरिए पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मास्टरले ध्वस्त पारेको सामुदायिक विद्यालय !

0

नविन श्रेष्ठ

एक विद्यालयको वार्षिकोत्सवमा एक नेताको भाषणको वाक्याशं यस्तो थियो–“सरकारी तलब भत्ता खाएर मास्टरले कतिपय विद्यालय ध्वस्त पारे । यिनको ध्यान दिनभर ठग्ने र स्कूल छुट्टी भएसी राजनीति गर्ने हो । सरकारी स्कूल बनाउने हो भने पहिले मास्टर सुध्रनु पर्छ । खाली तलव थाप्ने र राजनीति गर्ने काम गर्न बन्द गर्नुपर्छ । सामुदायिक विद्यालय ध्वस्त पार्न पाइदैन ।” नेताको यस्तो भाषण सुनेपछि अभिभावक र अतिथिले बेथितिपूर्वक पर्रर्र ताली ठोके । विद्यालयका शिक्षकले मलिन अनुहार लागाए । म टँ्वा परें ।

सोही कार्यक्रमका वक्ता शिक्षाका कर्मचारीले नेताको बोलीलाई सही थामे ।

जिल्ला स्तरको नेताले बोलेको वाक्याशंले मलाई भित्र–भित्रै बोगट्यो । चिथोर्यो । निद्रा हराम बनायो । काउकुती बनायो । के सामुदायिक विद्यालय मास्टरले ध्वस्त बनाएकै हुन् त भन्ने कुरोको खोजीमा लागें ।

खोजीको पहिलो चरणमै यो कुरा पत्ता लाग्यो कि ति भाषण गर्ने नेता र ति शिक्षाका कर्मचारीको छोराछोरी नै नीजि बोर्डिङ् स्कूलमा पढ्दा रहेछन् । यो कुराले मैले खोजी गर्न लागेको विषयमा ध्यान अन्तै मोडियो ।

कुनैबेला देशमा नीजि विद्यालय नै थिएनन् । त्यतिबेला पढ्ने बालबालिका जति सबै सामुदायिक विद्यालयमा पढ्थे । पढ्नेहरुमा शिक्षाको गुणस्तर निकै राम्रो थियो । धनी र गरिबका छोराछोरी एउटै विद्यालयमा पढ्थे । शिक्षित समुदायको प्रभावले सबै बालबालिकालाई शिक्षामा समान अवसर र प्रतिष्पर्धा गराएको थियो । शिक्षा एक धारको मात्रै थियो ।

नेपालमा बहुदल आएपछि नीजि विद्यालय खोल्न धमाधम अनुमती दिइयो । शिक्षाको धार सामुदायिक र नीजिमा परिणत भयो । नीजि स्कूलमा गरिएको लगानीले व्यापक मूनाफा दिन थालेपछि नेता, व्यापारी, निजामती कर्मचारी, क्याम्पसका प्राध्यापक र विद्यालयका टाठाबाठा शिक्षकले समेत नीजि बोर्डिङ स्कूलमा लगानी गरेर मुनाफा प्राप्त गर्न थाले । एउटा समय यस्तो आयो कि नीजि बोर्डिङ र नीजि कलेज खोल्नेको लहड नै चल्यो । नीजि बोर्डिङ र कलेज खोल्न अनुमती दिए वापत शिक्षाका केही कर्मचारी मोटाए ।

नेताले सामुदायिक विद्यालयको भाषणमा मास्टरले विद्यालय भ्याए भन्नुमा अर्को एउटा तर्क के पनि छ भने २०५२ सालमा खोलिएको शिक्षकको विज्ञापन २०६० सालसम्म लन्ठ्याइयो । त्यसबीचमा खुलेका दरबन्दीमा आफ्ना कार्यकर्ता भर्ना गरे । त्यस्तै, २०७० सम्म नेताले आफ्ना कार्यकर्तालाई शिक्षामा कार्यकर्ता भर्तिको केन्द्र बनाए । अब तिनीहरुलाई जति गाली गरेपनि सहन्छन् । चुप लागेर बस्छन् भन्ने मनसाय बन्यो शिक्षामा ।

२०५२ सालमा नेकपा माओवादीले गरेको शसस्त्र द्वन्द्वका कारण गाउँघरको मझेरीसम्म पुगेको बोर्डिङ स्कूल केही बन्द हुन पुगे भने केही मुस्किलले चले । शहर बजारमा पनि बोर्डिङ स्कूल सञ्चालक डरले थरथर काँपेका थिए । द्वन्द्वको समयमा पनि गाउँबाट लखेटिएका ठूलाबडा शहर छिरेर आफ्ना छोराछोरी बोर्डिङ स्कूल मै पढाए । ०६२/०६३ सालको दोस्रो जनआन्दोलन पछि माओवादी शान्ति प्रक्रियामा आयो । माओवादी सत्तामा आएपछि नीजि स्कूल बन्द हुन्छ भन्ने थियो । त्यो भ्रम मात्रै भयो । आम्दानी हुने देखेपछि उनीहरु पनि सञ्चालकसँग घाँटी जोड्न पुगे । त्यसपछिका दिनमा पुनः बोर्डिङ स्कूल र नीजि शैक्षिक संस्थाहरु मौलाउने थाले । तिनैको बोलवाला चल्यो ।

द्वन्द्वले थिलो–थिलो भएको सामुदायिक विद्यालय पुनः लयमा फर्काउने ध्यान कुनै नेतामा आएन । राजनीतिक खिचातानी, सत्ताको खेल र संविधान निर्माणको कामले शिक्षा क्षेत्र सधै ओझेलमा पर्यो । सत्ताको स्वाद सबै नेताले चाखे । कर्मचारीले पानी बढुवा खाए । सामुदायिक विद्यालयका शिक्षक भोटर्स र गालीका पात्र मात्रै बने । ०६२/०६३ सालको परिवर्तन पछि नेता, कर्मचारी, व्यापारी प्राध्यापक लगायत लगानी कर्ताको ध्यान नीजि स्कूलमा पर्न गयो । स्कूल नै मुनाफाको केन्द्र बन्न थाल्यो । नीजि स्कूलको प्रभाव यतिसम्म पर्न थाल्यो कि त्यसले प्रभाव नपारेको कुनै क्षेत्र नै बाँकी रहेन ।

मध्यम र निम्न वर्गसम्म अंग्रेजी मोह – धनाड्य वर्गले मात्रै नीजि विद्यालय पढ्छन् भन्ने कुरामा परिवर्तन आउन थाल्यो । अंग्रेजी मोहका कारण मध्यम वर्गीय परिवारले समेत आफ्नो धेरै पैसा छोराछोरीका लागि बोर्डिङ स्कूलमा खर्च गर्न थाले । सरकारी कर्मचारी, शिक्षक, सेना, पुलिस, आर्मि लगायत समाजका सबै मध्यम वर्गका मानिसले धमाधम नीजि विद्यालयमा छोराछोरी भर्ना गर्न थाले । अंग्रेजी विश्व भाषा हो । अंग्रेजी जानेमा अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देश जान पाइन्छ भन्ने भयो । हुँदा–हुँदा निम्न वर्गका मानिसले पनि आफूले अत्यन्त दुःख गरेर पनि छोराछोरीलाई नीजि विद्यालयमा पढाएका छन् । यो अहिलेसम्म निरन्तर छ ।

नीजिका निःशुल्क विद्यार्थी- नीजि विद्यालयले जल्दोबल्दो नेता, उच्चस्तरका कर्मचारी, शिक्षा कार्यालयका कर्मचारी र विद्यालय निरीक्षकका छोराछोरीलाई बोर्डिङको दश प्रतिशत निशुल्क शिक्षा अन्र्तगत निःशुल्क पढाए । जिल्ला जिल्लामा कुन कर्मचारीका र नेताका छोराछोरीलाई कुन नीजि स्कूलमा निःशुल्क पढाउने भन्ने भित्र भित्रै कानेकुथी सहित बाँडफाँड भयो । नेता र उच्च तहका कर्मचारी नीजि विद्यालयमा पढ्न थालेपछि नीजि स्कूलका सञ्चालकलाई समेत विद्यार्थी तान्न सजिलो भयो । “फलानोको छोराछोरी हाम्रोमा पढ्छन” भनेर भर्ना अभियान नै चलाउन थाले । समाजमा नीजि विद्यालयमा छोराछोरी पढाए हैसियत उच्च जस्तो व्यवहार हुन थाल्यो ।

नीजिको अब्बल नतिजा- उच्च वर्ग र टाठाबाठा सबैका छोराछोरी नीजि विद्यालयमा पढ्न थालेपछि नतिजा पनि उच्च हुने नै भयो । अब, सामुदायिक र नीजि विद्यालयको नतिजामा तुलना हुन थाल्यो । जसले आफ्ना छोराछोरी नीजिमा पढाएर नतिजा देखाए तिनैले सामुदायिक विद्यालयको दोहोलो काढ्न ताले । अर्कोतर्फ, तिनै कर्मचारी र नेता जसले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाएर सामुदायिक विद्यालयको वार्षिकोत्सवमा अतिथि बनेर गए अनि सामुदायिक विद्यालयलाई तथानाम गाली बर्षाउन थाले । क्षमतावान विद्यार्थी जति नीजिमा राखेर सामुदायिकलाई शैक्षिक गुणस्तर खोज्नु र शिक्षकमाथि गाली बर्षाउनु अपराध सम्झेनन् । गर्व ठाने ।

राज्य नै नीजिको पोल्टामा –राज्यको नीति बनाउने ठाउँमा नै नीजि विद्यालयको सञ्चालक छ । नीजि विद्यालयको लगानी कर्ता छ । चुनावका बेला नीजि विद्यालयको खर्चले चुनाव जितेको मनुवा छ । स्थायी सरकार मानिएको कर्मचारी सबैका छोराछोरी नीजि विद्यालयमा पढ्छन् । उसले कसरी आफ्ना छोराछोरीका विद्यालयको विरोध गर्छ ? शिक्षामा नियमनकारी निकायमा नीजिले जे भन्यो त्यहि हुन्छ । जता मोड्यो उतै मोडिन्छ । जता बटार्र्यो उतै बटारिन्छ । सामुदायिक विद्यालय त गरिवका छोराछोरीले पढ्ने विद्यालय उपमा बनाइएको छ । मन्त्रालय देखि कतिपय गाउँपालिका शिक्षा शाखासम्म त्यही वर्गको वोलवाला छ ।

बञ्जर गाउँ- ठूलाबडाका छोराछोरी नीजि विद्यालयमा पढेर अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देश जाने आउने गर्न थाले । क्षमता भएका मान्छेले रोजगारी सृजना नगरी आफै विदेशिएपछि देशमा रोजगारीको अवस्था ज्यादै नाजुक बन्दै गयो । निम्न वर्गीय र मध्यम वर्गीय युवा जति खाडी लगायतका कठिन काममा विदेशिन थाले । अब उनिहरुमा यस्तो भावना पलायो कि मेरा छोराछोरीलाई समेत नीजि विद्यालयमा पढाएर ठूला देश पठाउन सकिन्छ भन्ने कुरा गडेर आयो । श्रीमानको भिषा लागेपछि श्रीमतीहरु छोराछोरीलाई काखी च्याँपेर बोर्डिङ पढाउने भन्दै शहर पस्न थाले । उनिहरुको लागि शहर पस्नु एउटै कारण हो, छोराछोरीलाई राम्रो बोर्डिङ स्कूल पढाउने । गाउँ रित्तिदै गयो । गाउँमा मान्छे बस्न छाडेपछि रुखविरुवा हुर्कदै गए । जंगली जनावर घरघरमा आउन थाले । बाँकी रहेका मानिसलाई पनि गाउँ बस्न मुस्किल पर्दै गएको छ । अहिले हेर्दा गाउँ बञ्जर बनेको छ ।

गुल्जार शहर- दैनिक गाउँबाट शहर बसाइ सर्नेको ताँती नै लाग्न थाल्यो । लहर चल्यो । तराई र शहर नजानेहरुलाई गाउँमा केही गर्न नसक्ने मान्छे जस्तो बोली व्यवहार हुन थाल्यो । केही बँचेका घरहरु पनि शहरका काँठ र तराइका कँन्दरा तिर बसाइ जान थाले । रोजगारी र शिक्षाको कारण देखाउँदै धमाधम बसाइसराईले तिब्रता लियो । त्यहि मौकामा नेता र ठूला दलालले शहर र तराइका उर्वर भूमीमा विभिन्न ठाउँ प्लटिङ् गरेर घडेरी बेच्न थाले । शहर गुल्जार बन्दै गयो ।

घरघडेरीको मालामाल – नेता र ठेकेदारका हातमा कसको श्रीमान विदेश छ भन्नेको लिष्ट नै हुन थाल्यो । शहर र तराइमा घडेरी जोड्न सके निकै फाइदा हुन्छ भन्ने भ्रम फैलाइयो । केही समय फाइदा भयो पनि । आफ्ना छोराछोरीलाई एउटा कटेरो भएपनि शहरै बनाइदिन पर्छ भन्ने माहोल सृजना गरियो । शहर र तराइमा एकटुक्रो घडेरी नभए केटालाई विवाह गर्न पनि मुस्किल पर्ने भास्य बनाइयो । २०६५ देखि कोरोना काल अघिसम्म घरघडेरीको कारोवार निकै मौलायो । बैंक तथा वित्तिय संस्थाले अनुत्पादक क्षेत्र घरघडेरीको कारोवारमा निकै लगानी गरे । विदेशबाट आएको सबै रेमिटेन्स अनुत्पादक क्षेत्रमै व्यापक लगानी भयो । राम्रा घर बने । चिल्ला गाडि किनिए । विदेशको पैसा मोजमस्तीका सामग्री खरीदमा विदेशतिरै पठाइयो । कोरोना कालपछि घर घडेरीको कारोवारमा मन्दी आउन थाल्यो । बैक तथा वित्तिय सञ्चालक भागाभागको स्थितिमा पुगे । धेरथोर लगानी कर्ताहरुको बचत यतिबेला निकै जोखिममा परेको छ । जसबाट नेता र दलाल मालामाल बने । पिसिने मकै पिसिएकै छन् ।

विदेशीको गुलाम – कोदो रोपे कोदो नै फल्छ । तोरी छरे तोरी नै फल्छ भनेझै नेपालमा झाँगिएको अंग्रेजी शिक्षाले नेपाल र नेपाली माटोलाई त काम लाग्ने कुरै भएन । बालबच्चाले जे सिके त्यहि अनुसार आफ्नो क्षमताको काम खोज्दै विदेशिन थाले । जब क्षमतावान मानिसहरु विदेशिन थाले उनिहरुका छोराछोरीलाई उतै लगेर शिक्षा दिन थाले । त्यसपछि यहाँका ठूलाबडाका छोराछोरी प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षाको नाममा उतै पठाउन थाले । हुँदाहुँदै अहिले आएर मध्यम वर्गीय र निम्न वर्गीयका छोराछोरीमा समेत पछिको पढाई बाहिरी देश जाने भन्ने भावनाले जरो गाडिसकेको छ । अहिले पाँच कक्षा पढ्ने बच्चोलाई सोध्यो भने “म त विदेश जाने हो भन्छ ।” कुरा आयल्स र टोफेलको गर्छ । क्षमतावान व्यक्ति कुनै पनि हालतमा देशमा बस्ने अवस्था छैन । वातावरण पनि छैन । अहिले अधिकाशं नेता, प्राध्यापक, ठूलावडाका छोराछोरी विदेश छन् । देश केटाकेटी हुर्काउने र बुढाबुढी पाल्ने देश बनेको छ । बोर्डिङ स्कूल पढ्ने विदेश जानेको बजार मालामाल बनेको छ ।

राजनीतिमा प्रभाव – वास्तवमा राजनीति भनेको राज्यको नीति वदल्ने र देशलाई सही मार्गमा डोर्याउने माध्यम हो । राजनीति यति हदसम्म विकृत बनाइयो कि ढाँट, छलकपटी, भ्रष्टाचारी र दलाल गर्नसक्ने मात्रै रानीतिमा टिक्न सक्ने अन्यथा पत्तासाफ हुने अवस्था आयो । जो पढालेखा छैन । जो धेरै बोल्न मात्रै जानेको छ । काम फिटिक्कै गर्दैन । भिजन छनै । सोंचविचार छैन । त्यस्ताको हातमा राजनीति गयो । राम्रा त सबै विदेश पठाइसके दलालले । अब यहाँ उनिहरुको हालीमूहाली हुन थाल्यो । जसका कारण देश अस्थिरतामा धकेलियो । यतिसम्म कि विदेश पठाउने नीति सरकारले नै बनायो । विदेश पठाउने दलाल कम्पनीलाई राजनीतिक संरक्षण भयो ।

धरासायी अर्थतन्त्र- श्रमशील युवाशक्तिलाई विदेश धकेलेपछि उत्पादन गर्ने मानिस नै भएनन् । बौद्धिक पलायन भयो । भएका उद्योगधन्दा समेत कौडिको भाउमा बेचियो । कच्चा पदार्थ उत्पादन गर्ने कृषकको मनोबल कहिलै नउठ्ने गरी गिराइयो । आयात व्यापक हुन थाल्यो । निर्यात योग्य बस्तु हुनै छाडे । तातो रगतमा होली खेलियो । विदेशमा सुविधा सम्पन्न ठाउँमा बसेकाले नेपाल फर्केपछि पनि उत्पादनमा लगानी नगरी सुखसुविधाकै क्षेत्रमा लगानी गर्न थाले । देशकै अर्थतन्त्र भत्क्यो । अहिले कराडौं रुपैयाँको कोदो, मकै गहुँ, फापर तोरी, अराबौ रुपैयाँको धान चामल आयात गर्ने देश बनाइयो ।

व्यक्तिमा एकलकाटे स्वभाव- पहिले संस्कृत शिक्षा थियो । नैतिक शिक्षा थियो । ठूलो परिवारमा हुर्कने र बढ्ने हुन्थ्यो । परिवार, छिमेकी, नातागोता, समुदाय र समाजका सबै मानिसलाई गर्ने व्यवहार सानै उमेरदेखि सिकाइ हुन्थ्यो । अंग्रेजी शिक्षासंगै भित्रिएको विकृतिले व्यक्तिलाई एकलकाटे बनायो । आफू बाहेक अरु कसैलाई नगन्ने, मर्यादा राख्न नजान्ने, हठी, अटेरी, उच्छृङ्खल, बुबाआमा प्रति हेयको भाव जस्ता कुरा पैदा हुँदै गयो । अहिलेका तन्नेरी र प्रौढ पिढीले बुढेसकालमा कुन आश्रममा बस्न पर्ने हो ? भन्ने अवस्था आइलाग्न थाल्यो । बुढाबुढी रोएको, विलौना गरेको, छटपटाएको सुन्ने र देख्ने कोही हुन छाड्यो । घरमा भएका बाआमाले छोराबुहारीबाट प्रताडित जीवन विताउन बाध्य हुने अवस्था सृजना भयो । मानवीयता हराउँदै गयो । मै खाउँ मैलाउँको भावना विकास हुँदै गयो ।

भाषा माथिको हमला- अंग्रेजी भाषाका कारण नेपाली भाषा माथि ठूलो हमला भयो । आफ्नै बालाई ड्याडी, आमालाई मम्मी, हजुरआमालाई आमा, काका काकीलाई अंकल अंटी । ऊ नाता चिन्दैन । मेरो अध्ययनले आफ्नो बोलीमा बृद्धबृद्धाले ५ प्रतिशत, ४० बर्ष उमेर माथिका सामान्य व्यत्तिले पनि २५ प्रतिशत, १५ देखि ४० बर्ष सम्मकाले ३५ प्रतिशत र १५ बर्षसम्मकाले ४० प्रतिशत बढी नेपाली भाषामा अंग्रेजी मिसाएर बोल्छन् । अझ पछिल्लो पुस्तामा त कि हिन्दी कि अंग्रेजी भाषाले ढाक्दै गएको छ । नेपाली भाषा र मातृभाषा पाखे भाषा बन्न पुगेको छ । शुद्ध नेपाली बोल्ने र मातृभाषामा बोल्नेको उछितो काढिन्छ ।

मासिएको संस्कृति- बर्थ डेमा केक नकाटे अचेलको बच्चोलाई थाम्न सकिन्न । न्वारनमा केक, भातख्वाइमा केक, बर्तनमा केक, विवाहमा केक र हुँदा–हुँदा पितृकर्मको श्राद्धमा समेत केक काटने चलन भित्रिएको छ । धत ! हाम्रो संस्कार । हुर्कदै गरेको बच्चो सानै उमेरमा नै उम्लिएको दूध झै गर्छ । परम्परादेखि चलिआएका राम्रा चलनलाई समेत इन्कार गर्छ । रितिथिति बारे सिक्न खोज्दैन । अघिल्लो पुस्तालाई जंगली मान्छ । सानै उमेरदेखि आफ्ना बा आमाको खिसिटिउरी गर्छ । अल्ली उमेरको भएसी गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड भन्दै हिड्छ । यता आफ्नो वृद्धावस्थामा आफ्नो अविगत के हुने भन्ने चिन्ता छैन । मृत्यु संस्कार कसले गर्छ पनि टुंगो छैन । गाउँमा लास उठाउने मान्छे छैन । विवाह, ब्रतबन्ध र चौरासी पूजामा क्याट्रिन नखोेजे पाहुना भोकै फर्कन पर्छ । छोराछोरी फलानो देशमा छन् भनेर बाउले गफ चुट्छ । समाजमा मैहुम् भन्छ । विरामी हुँदा सिटामोल कस्ले देला भन्ने अवस्थाको मान्छेकै ठूल्याईँ बढी छ । यि र यस्ता गतिविधिले संस्कार र संस्कृति नै धब्बा लागेको छ ।

हराएको राष्ट्रियता-  अन्तराष्ट्रिय मोहले राष्ट्रियता कमजोर बनेको छ । देशमै केही गरौं भन्ने सोचाइ हराउँदै गएको छ । यहाँको माटो चिन्ने क्षमतावान विद्यार्थी छैनन् । क्षमतावानलाई सानैदेखि विदेशको मोहमा फसाइएको छ । राष्ट्र र राष्ट्रियतालाई धमिलो परिएको छ । ठूला भनौदा अधिकाशं नेताका छोराछोरी विदशे पठाइसके । यहाँ तलवितल परे उनीहरु छोराछोरी कै शरणमा पुग्ने हुन् । यतिबेला देश बनाउँछु भन्न छाडेका छैनन् । धेरै नेताको राष्ट्रियता विदेशतिर छ ।

नेताज्यू, के मास्टरले विगारेको हैछ सामुदायिक विद्यालय ? के ति ठूलाठालूका छोराछोरी र गरिव गुरुवाका छोराछोरीले एउटै विद्यालयको एउटै बेन्चमा बसेर पढ्न मिल्दैन ? अर्थात तपाईँको छोराछोरीले सामुदायिक विद्यालयमा पढ्न मिल्दैन ? सामुदायिकमा पढाउने शिक्षकले ति क्षमतावान विद्यार्थी पढाउनै नपाउने हो ? मास्टरलाई गाली गरेर सामुदायिक विद्यालय सुध्रन्छ ? आफ्ना छोराछोरी निजीमा पढाएर मास्टरलाई गाली गर्न सुहाउँछ ? ए जनप्रतिनिधि, ए कर्मचारी, ए प्रध्यापक, ए शिक्षक पहिले आफ्ना छोराछोरी लगेर सामुदायिक विद्यालयमा भर्ना गर अनि मात्रै शिक्षकमाथि औंला ठड्याउ । खवरदार, आइन्दा सामुदायिक विद्यालयको शिक्षकलाई गाली नगर ।

सामुदायिक विद्यालयका आदरणीय गुरुवर्ग, आगामी भर्ना अभियानमा तिनै नेता, जनप्रतिनिधि, पत्रकार, प्राध्यापक, कर्मचारी र कतिपय सामुदायिक विद्यालयमा पढाएर छोराछोरी नीजि विद्यालयमा पढाउने नैतिक हराम शिक्षकका घर–घर गएर सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न दबाव दिनुस् । तपाईँहरु शिक्षक मात्रै होइन, यो समुदायको सचेत वर्ग हो । असल नागरिक पनि हो । सरकारी तलवभत्ता बुझ्नेले सामुदायिक विद्यालयमा पढाउनै पर्ने बाध्यता र्सिजना गर्नुस् । अनि मात्रै तिनले तपाईँलाई गुरुको सम्मान दिनेछन् नत्र तपाईँ जहिलेसुकै मास्टर बन्नुहुन्छ । ति नैतिकहिन वर्गले तपाईँलाई कहिलै गाली गर्न छाड्नेवाला छैनन् ।

 

 

 

 

 

 

 

 

 

 

माथागढीको चिदीपानीमा वडा कार्यालयको समन्वयमा फागु खेलिदै

0
पाल्पा । माथागढी गाउँपालिका–१ चिदीपानी वडा कार्यालयको समन्वयमा यस वर्ष फागु खेलिने भएको छ ।
मौलिक चाडपर्वको संरक्षण तथा वडा स्तरीय साँस्कृतिक समूह निर्माण गर्ने उद्देश्यले चैत १० र ११ गते वडाभित्रका बिभिन्न टोलहरुमा पुगेर फागु खेल्ने तयारी गरिएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
यसरी स्थानीय तह मार्फत फागु खेल्न लागिएको जिल्लामै यो नौलो अभ्यास हो । टोल टोलमा पुगेर फागु खेलिने र संस्कृति संरक्षण सम्बर्धनमा टेवा पु¥याउने योजना रहेको अध्यक्ष पन्थीले बताउनुभयो ।
फागुको ऐतिहासिक महत्व
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो फागु पर्वसँग जोडिएको छ ।  त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पाइन्छ ।

फागु पुर्णिमाको दिन पोखराथोक लालपाटीमा बिशेष मेला लाग्ने

0

पाल्पा । फागु मेला लाग्ने मुख्य स्थानको रुपमा परिचित बगनासकाली गाउँपालिका–२ पोखराथोक लालपाटीमा यस वर्ष फागु पर्वको दिने बिशेष मेला लाग्ने भएको छ ।

चैत ८ गते लालपाटी नरसिंह मन्दिरमा रथयात्रा सहित मूर्तिको प्राणप्रतिष्ठा गरिने कार्यक्रम रहेको चैत ११ गते फागु बिशेष कार्यक्रम संचालन हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र ढकालले बताउनुभयो । कार्यक्रमकै अवसरमा बनसँग सेलीब्रेटी कार्यक्रम पनि संचालन हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । स्थानीय कलासंस्कृतिको समेत प्रस्तुती रहने अध्यक्ष ढकालले बताउनुभयो ।

मेला संचालनका लागि लालपाटी नरसिंह मन्दिर, लोक साँस्कृतिक साहित्य कार्यक्रम संचालन तथा ब्यवस्थापन समिति पोखराथोक र डिभिजन वन कार्यालयको समन्वय रहेको छ । लालपाटीको मुख्य बिशेषता फागु पुर्णिामामा हुने मेला हो । यहा्रँ प्रत्येक बर्ष फागु पुर्णिमाका दिन पाल्पा लगायत विभिन्न जिल्लाबाट पनि मान्छेहरू जम्मा हुन्छन । एकदिन मात्र हुने मेलामा चारैतिरबाट युवायुवतीहरू जम्मा भएर रङ दलेर र नाचेर रमाइलो गर्दछन् । मेलाका दिन व्यपार गर्न तानसेन र वरिपरिबाट खेच्रीमिच्री सामान बोकेर व्यपारी ओइरिन्छन् । केही वर्ष अघिसम्म यहाा रमाइलो गर्न माथागढी, डा“डाडुम,सपाङदी र चिर्तुङ्धाराबाट झाम्रे, ठूलो नाँच र रौराहरू लिएर आउँथे । अचेल अलि कम भएको छ । व्यापार गर्नेहरू पनि विभिन्न सर–समान सहित आउथे । केटाकेटीलाई खुशी पार्ने सामान र खानपिनका सामान मेलामा बढी हुन्थे । पछिल्लो वर्षहरुमा यहाँ फागु रौनक हराउँदै जान थालेपछि गत वर्षदेखि व्यवस्थित रुपमा फागु मेला गर्न लागिएको हो ।

लालपाटी मेलामा रमाईलो संग संगै भक्तिभाव र शिव अराधनको आस्थाले पनि मान्छे उपस्थित हुन्छन् । यहाँ सानो पोखरीको दह थियो । शिवजीको मन्दिर रहेको छ । बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोकमा पर्ने लालपाटी माँडी फाँटको काखमा सजिएर रहेको छ । पुर्वी सीमामा भैसिपुर र भलुवा डाँडा । पश्चिम सीमामा गोर्सत टोल रहेको छ । जहाँ दुवै क्षेत्रमा कुमाल जनजातिहरुको बाक्लो बस्ती छ । दुई बाक्लो बस्तीको बीचमा रहेको एउटा (डाँडा) थुम्को नै लालपाटी हो । लालपाटी ठूलो क्षेत्रमा फैलिए पनि जम्मा सात घरको मात्र बसाई छ ।

अहिले तीन घर ब्राह्मण, तीन घर मगर रएक घर नेवार मात्र छन् । केही घर नेवारहरू ब्यापारको लागि बसाई सरेर बाहिर गएको स्थानीयको भनाई छ । पहिले बटौलीबाट नुन, तेल र खाद्य बस्तु डोकोमा बोकेर आउने डोके बटुवाहरू यहि बास बस्थे । पाल्पा पुर्वी भेगका ताहँु, सर्देवा,रामपुर र पुर्वखोलाका सबै यहि बाटो भएर हिड्थे गर्थे । स्याङ्जा, पर्वत, पोखरा जाने पनि डोको भरी सामान बोलेर आँउथे । यहाँ एउटा ठूलो पाटी चौतारी थियो । साँझ घाम डुब्ने बेलैबाट यहि पाटीमा बास बस्ने भएरै लालपाटी भनिएको बुढापाकाहरुको भनाई छ ।

किशोरीहरुलाई आत्मरक्षा तालिम

0

गोपाल प्रसाद बस्याल । पाल्पा
तानसेन, पाल्पास्थित मोहन कन्या माध्यमिक विद्यालयमा किशोरीहरूका लागि ५० दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत जम्मा ३५ जना छात्राहरूले हरेक दिन बिहान तालिम पूरा गरेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित आत्मरक्षा तालिममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक वीर बहादुर कुमालले किशोरीमाथि हुने बलात्कार, लाठीले टाउकोमा हान्ने, पछाडिबाट हान्ने, कम्मर अठ्याउने, चुल्ठोमा लुछ्ने लगायतका शारीरिक हिंसाको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्ने सिपको अभ्यास गराएका थिए । यसका साथै छात्राहरूलाई कराँतेका केही सिपहरू पनि सिकाइएको थियो ।

तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रकुख महेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त सिपका आधारमा किशोरीहरूले आत्मरक्षाका साथै शारीरिक तन्दुस्ती, स्वास्थ्य स्फूर्ती प्राप्त गरेका र राष्ट्रिय स्तरमा समेत यी आत्मरक्षा कार्य सिप र खेलको माध्यमबाट आफ्नो ब्यक्तित्व विकास गर्न सक्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले प्रदेश सरकारले छात्राहरू लक्षित यस कार्यक्रमबाट छात्राहरूमा आत्मरक्षा सिप विकास भएको बताउनुभयो । कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक एवम् प्रशिक्षक धनपति गैरेले यस तालिमबाट आफूमाथि हुने हिंसात्मक आक्रमणबाट बच्नका लागि किशोरीहरू सक्षम भएको बताउनुभयो ।
तालिममा सहभागी कक्षा ११ का छात्रा प्रकृति थापाले आफूहरूमाथि हुने शारीरिक आक्रमणको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्न प्रशस्त सिप विकास गर्न सकेको बताउनुभयो । उहाँले तालिमका क्रममा गरिएको अभ्यासबाट आफ्नो रक्षाका लागि प्रतिकार गर्ने आत्मविश्वास बढेको, अनुशासन, आत्मसम्मान जस्ता सिपको विकास भएको बताउनुभयो ।

डिभिजन कार्यालयका प्रमुख मित्र प्रसाद गौतमले यो पहिलो चरणको कार्यक्रमबाट आधारभूत सिप प्रदान गरिएको बताउँदै सबैलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रम डिभिजन कार्यालयका दल बहादुर रास्कोटीले सञ्चालन गर्नुभएको थियो ।

 

तानसेन महोत्सवको समिक्षाः उपलब्धी एउटा मात्रै , धेरै हानी

0

पाल्पा । १० दिनका लागि तय भएको तानसेन महोत्सव २ दिन थप गरियो । थपिएको समयसँगै १२ दिने तानसेन महोत्सव बिहीवार सकियो । थपिएको २ दिनको विषय र आर्थिक चलखेलबारेको समाचार यसअघि पाल्पा समाचार डटकममा प्रकाशन भइसकेको छ ।

यो महोत्सव अन्य संघ संस्थाले गर्नु र स्थानीय सरकारले गर्नुमा धेरै फरक छ । स्थानीय सरकारको आयोजना रहेको महोत्सव भएकोले पनि नागरिकको चासो बढी हुनु स्वभाविक हो । यस वर्ष भएका कमीकमजोरीलाई महसुस गर्दै आगामी बर्षको योजना निर्माणमा नगरपालिकाले बिशेष ध्यान दिनु आवश्यक छ ।

एउटा मात्रै उपलब्धीः ६१ लाख आन्तरिक आय
महोत्सवका नाममा ठेकेदार कम्पनी राजधानी राइड्ससँग तानसेन नगरपालिकाले बोलकबोलबाट ६१ लाख रुपैयाँ आन्तरिक आय संकलन गरेको छ । यही रकमबाट नगरपालिकाले महोत्सव प्रयोजनमा १७ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरिसकेको छ । कम्तीमा १७ लाख खर्च भयो भयो भने नगरपालिकामा महोत्सवबाट बापत रहने रकम ४४ लाख मात्रै हो । नगरपालिकाको भनाईमा सबैभन्दा ठूलो उपलब्धी यही हो ।

यसअघि भएका महोत्सवमा नगरपालिकाले २ लाख रुपैयाँ पनि संकलन गर्ने अवस्था थिएन । कतिपय महोत्सवमा नगरपालिकाले टुँडिखेलसँगै उल्टै आर्थिक सहयोग समेत ग¥यो । अघिल्लो वर्ष टुँडिखेलम मैदानमै उद्योग बाणिज्य संघले गरेको महोत्सवबाट १ लाख ५० हजार हाराहारी मात्रै राजश्व संकलन नगरपालिकाले गरेको थियो । उद्योग बाणिज्य संघले महोत्सवको आय ब्यय औपचारिक रुपमा अहिलेसम्म पनि सार्वजनिक गर्न सकेको छैन । महोत्सव सकिएको १५ दिनभित्रै आयब्यय सार्वजनिक गरिने जनाइएपनि बर्ष दिन हुन लाग्दा समेत तानसेनबासीले यसबारे जान्ने बुझ्ने मौका पाएका छैनन् । यद्यपी संघका सचिव बिदुर घिमिरेले संघको साधारणसभामा सदस्यहरुलाई यसबारे जानकारी गराइएको बताउनुभयो । उक्त प्रतिबेदन कतै सार्वजनिक भएन ।

६१ लाख भित्रिदा करोडौ रकम बाहिरियो
तानसेन नगरपालिकाले महोत्सवको मुख्य सफलताको रुपमा ६१ लाख रुपैयाँ सकंलनलाई लियो । तर महोत्सवका नाममा जिल्लाको करोडौ रकम बाहिरिएकोमा नगरपालिकाको नजर छैन । महोत्सव स्थलमा घरेलु तथा उद्यमशीलताका २० वटा हाराहारी मात्रै स्टल थिए । त्यसबाहेक २८० हाराहारी स्टल लत्ताकपडा, खानेकुरा, होटल, जुत्ता चप्पल, श्रृंगारिक सामान लगायतका देखिए । यी मध्ये ८० प्रतिशत बढी स्टल जिल्लाबाहिरबाट आएका थिए ।

अव लागौ बाल उद्यानतर्फ । बालउद्यान अधिकांश भारतीय नागरिकका हुन् । बाल उद्यानबाटै करोडौ रकम बाहिरएको छ । बालउद्यानका लागि प्रवेशद्धारका भन्दा मंहगा टिकट थिए । सर्वसाधारणले बाल उद्यानमा कम्तीमा ५० देखि १५० रुपैयाँसम्म बुझाए ।

कलाकारको अपमान भयो
महोत्सवका नाममा बनेका ब्यानर, प्रचार सामाग्रीमा पाल्पाली सहित धेरै कलाकारको नाम राखिएको थियो । चर्चित कलाकारहरु नारायण रायमाझी, पुष्कल शर्मा, एलिना चौहान, राजु परियार, समिक्षा अधिकारी, अस्मिता अधिकारी, पुरुषोत्तम भण्डारी, हुम गैरे, पुरुषोत्तम गैरे, शान्तिश्री परियार लगायतको पनि नाम चर्चा भयो तर यी मध्ये धेरै कलाकारले मेलाको सुइको समेत पाएनन् ।

एउटा स्थानीय सरकारको मुख्य आयोजना रहेको महोत्सवमा यति हदसम्मको कमजोरी होला भन्ने धेरैले सोचेका पनि थिएनन् । तर यस्तो संवेदनशील बिषयमा तानसेन नगरपालिकाले ध्यान दिन सकेन । आफ्नो जिल्लाका लागि परेमा निःशुल्क सेवा गर्न आतुर कलाकारहरु नगरपालिकाको यो कार्यबाट निराश भए ।

मेयरको काम अध्यक्षता ग्रहण मात्रै
तानसेन नगर क्षेत्रको बिकास कमजोर हुँदै गएको छ । अहिलेका जनप्रतिनिधिबाट नगरका जनतामा कुनै आशा छैन । अध्ययन बिनाको दैनिकी र सीमित गुटका कारण तानसेन नगरपालिका थप सुनसानतर्फ उन्मुख हुँदै

छ । जम्बो टोली सहितको सल्लाहकार समिति छ तर सल्लाहकारलाई नै सल्लाह चाहिने अवस्था छ ।
यो महोत्सवको सन्दर्भमा तानसेनका मेयर सन्तोषलाल श्रेष्ठको भूमिका अध्यक्षता ग्रहण गर्नेमा मात्रै सीमित देखियो । उद्घाटन र समापन कार्यक्रममा अध्यक्षता ग्रहण गर्ने बाहेक महोत्सव र यसको औचित्यबारे मेयर श्रेष्ठले १ मिनेट पनि सोचेको हामीले पाएनौं ।

महोत्सवको अवधि २ दिन थप्ने कार्यपालिकाको निर्णय लगत्तै हामीले मेयर श्रेष्ठलाई प्रश्न गरेका थियौ तर मेयर श्रेष्ठ आफ्नै अध्यक्षतामा भएको निर्णय प्रति जानकार देखिनुभएन ।

जनप्रतिनिधि कर्मचारी नाचगानमा सेवाग्राही मर्कामा
तपाइँले महोत्सवको प्रत्यक्ष प्रसारणको भिडियो त पक्कै हेरिरहनुभएको थियो होला । भिडियोमा को को नाचेको देख्नुभयो । पक्कै यहाँहरुको जवाफ आउँछ जनप्रतिनिधि र कर्मचारी बढी । स्टेजमा मच्ची मच्ची नाच्ने उनै जनप्रनिनिधि र कर्मचारी नै हुन् ।

हाम्रो आसय उनीहरु नाच्नुहुँदैन भन्ने हुँदै होइन । सोही समयमा उनीहरुको कार्यालयमा आएका सेवाग्राहीहरुको हालत के थियो होला ? अव नाच्ने जनप्रतिनिधि र कर्मचारीको मानवअधिकार हेर्ने कि सेवाग्राहीको ? तलव खाएर जनताको सेवा गर्न आएका जनप्रतिनिधि र कर्मचारीको मानवअधिकार सम्झेर सेवाग्राही खुम्चनुपर्ने अवस्था भयो ।

यो महोत्सवले खास प्रभाव पार्न नसकेको धेरैको बुझाई छ ।  बरु आयातित म्याद गुज्रनै लागेका सामाग्रीहरुको बिक्रीका लागि टेवा पुर्यायो । स्थानीय सरकार स्थानीय नागरिकको गौरव पनि हो । सरकारलाई परेको बेला नागरिकले सहयोग पनि गर्छन् । महोत्सव स्थलबाहिर रहेका एक जना सचेत नागरिकले भन्दै थिए । नगरपालिकालाई ६१ लाख नै चाहिएको हो भने बरु मेला हेर्न आएका ३ लाख दर्शकबाट २० रुपैयाँ ३३ पैसा बढी रकम टिकटमा जोडेर लिएर यो मेलालाई हेर्न लायक बनाउन सकिन्थ्यो नि ।