spot_img
Home Blog Page 21

किशोरीहरुलाई आत्मरक्षा तालिम

गोपाल प्रसाद बस्याल । पाल्पा
तानसेन, पाल्पास्थित मोहन कन्या माध्यमिक विद्यालयमा किशोरीहरूका लागि ५० दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत जम्मा ३५ जना छात्राहरूले हरेक दिन बिहान तालिम पूरा गरेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित आत्मरक्षा तालिममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक वीर बहादुर कुमालले किशोरीमाथि हुने बलात्कार, लाठीले टाउकोमा हान्ने, पछाडिबाट हान्ने, कम्मर अठ्याउने, चुल्ठोमा लुछ्ने लगायतका शारीरिक हिंसाको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्ने सिपको अभ्यास गराएका थिए । यसका साथै छात्राहरूलाई कराँतेका केही सिपहरू पनि सिकाइएको थियो ।

तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रकुख महेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त सिपका आधारमा किशोरीहरूले आत्मरक्षाका साथै शारीरिक तन्दुस्ती, स्वास्थ्य स्फूर्ती प्राप्त गरेका र राष्ट्रिय स्तरमा समेत यी आत्मरक्षा कार्य सिप र खेलको माध्यमबाट आफ्नो ब्यक्तित्व विकास गर्न सक्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले प्रदेश सरकारले छात्राहरू लक्षित यस कार्यक्रमबाट छात्राहरूमा आत्मरक्षा सिप विकास भएको बताउनुभयो । कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक एवम् प्रशिक्षक धनपति गैरेले यस तालिमबाट आफूमाथि हुने हिंसात्मक आक्रमणबाट बच्नका लागि किशोरीहरू सक्षम भएको बताउनुभयो ।
तालिममा सहभागी कक्षा ११ का छात्रा प्रकृति थापाले आफूहरूमाथि हुने शारीरिक आक्रमणको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्न प्रशस्त सिप विकास गर्न सकेको बताउनुभयो । उहाँले तालिमका क्रममा गरिएको अभ्यासबाट आफ्नो रक्षाका लागि प्रतिकार गर्ने आत्मविश्वास बढेको, अनुशासन, आत्मसम्मान जस्ता सिपको विकास भएको बताउनुभयो ।

डिभिजन कार्यालयका प्रमुख मित्र प्रसाद गौतमले यो पहिलो चरणको कार्यक्रमबाट आधारभूत सिप प्रदान गरिएको बताउँदै सबैलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रम डिभिजन कार्यालयका दल बहादुर रास्कोटीले सञ्चालन गर्नुभएको थियो ।

 

तानसेन महोत्सवको समिक्षाः उपलब्धी एउटा मात्रै , धेरै हानी

पाल्पा । १० दिनका लागि तय भएको तानसेन महोत्सव २ दिन थप गरियो । थपिएको समयसँगै १२ दिने तानसेन महोत्सव बिहीवार सकियो । थपिएको २ दिनको विषय र आर्थिक चलखेलबारेको समाचार यसअघि पाल्पा समाचार डटकममा प्रकाशन भइसकेको छ ।

यो महोत्सव अन्य संघ संस्थाले गर्नु र स्थानीय सरकारले गर्नुमा धेरै फरक छ । स्थानीय सरकारको आयोजना रहेको महोत्सव भएकोले पनि नागरिकको चासो बढी हुनु स्वभाविक हो । यस वर्ष भएका कमीकमजोरीलाई महसुस गर्दै आगामी बर्षको योजना निर्माणमा नगरपालिकाले बिशेष ध्यान दिनु आवश्यक छ ।

एउटा मात्रै उपलब्धीः ६१ लाख आन्तरिक आय
महोत्सवका नाममा ठेकेदार कम्पनी राजधानी राइड्ससँग तानसेन नगरपालिकाले बोलकबोलबाट ६१ लाख रुपैयाँ आन्तरिक आय संकलन गरेको छ । यही रकमबाट नगरपालिकाले महोत्सव प्रयोजनमा १७ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरिसकेको छ । कम्तीमा १७ लाख खर्च भयो भयो भने नगरपालिकामा महोत्सवबाट बापत रहने रकम ४४ लाख मात्रै हो । नगरपालिकाको भनाईमा सबैभन्दा ठूलो उपलब्धी यही हो ।

यसअघि भएका महोत्सवमा नगरपालिकाले २ लाख रुपैयाँ पनि संकलन गर्ने अवस्था थिएन । कतिपय महोत्सवमा नगरपालिकाले टुँडिखेलसँगै उल्टै आर्थिक सहयोग समेत ग¥यो । अघिल्लो वर्ष टुँडिखेलम मैदानमै उद्योग बाणिज्य संघले गरेको महोत्सवबाट १ लाख ५० हजार हाराहारी मात्रै राजश्व संकलन नगरपालिकाले गरेको थियो । उद्योग बाणिज्य संघले महोत्सवको आय ब्यय औपचारिक रुपमा अहिलेसम्म पनि सार्वजनिक गर्न सकेको छैन । महोत्सव सकिएको १५ दिनभित्रै आयब्यय सार्वजनिक गरिने जनाइएपनि बर्ष दिन हुन लाग्दा समेत तानसेनबासीले यसबारे जान्ने बुझ्ने मौका पाएका छैनन् । यद्यपी संघका सचिव बिदुर घिमिरेले संघको साधारणसभामा सदस्यहरुलाई यसबारे जानकारी गराइएको बताउनुभयो । उक्त प्रतिबेदन कतै सार्वजनिक भएन ।

६१ लाख भित्रिदा करोडौ रकम बाहिरियो
तानसेन नगरपालिकाले महोत्सवको मुख्य सफलताको रुपमा ६१ लाख रुपैयाँ सकंलनलाई लियो । तर महोत्सवका नाममा जिल्लाको करोडौ रकम बाहिरिएकोमा नगरपालिकाको नजर छैन । महोत्सव स्थलमा घरेलु तथा उद्यमशीलताका २० वटा हाराहारी मात्रै स्टल थिए । त्यसबाहेक २८० हाराहारी स्टल लत्ताकपडा, खानेकुरा, होटल, जुत्ता चप्पल, श्रृंगारिक सामान लगायतका देखिए । यी मध्ये ८० प्रतिशत बढी स्टल जिल्लाबाहिरबाट आएका थिए ।

अव लागौ बाल उद्यानतर्फ । बालउद्यान अधिकांश भारतीय नागरिकका हुन् । बाल उद्यानबाटै करोडौ रकम बाहिरएको छ । बालउद्यानका लागि प्रवेशद्धारका भन्दा मंहगा टिकट थिए । सर्वसाधारणले बाल उद्यानमा कम्तीमा ५० देखि १५० रुपैयाँसम्म बुझाए ।

कलाकारको अपमान भयो
महोत्सवका नाममा बनेका ब्यानर, प्रचार सामाग्रीमा पाल्पाली सहित धेरै कलाकारको नाम राखिएको थियो । चर्चित कलाकारहरु नारायण रायमाझी, पुष्कल शर्मा, एलिना चौहान, राजु परियार, समिक्षा अधिकारी, अस्मिता अधिकारी, पुरुषोत्तम भण्डारी, हुम गैरे, पुरुषोत्तम गैरे, शान्तिश्री परियार लगायतको पनि नाम चर्चा भयो तर यी मध्ये धेरै कलाकारले मेलाको सुइको समेत पाएनन् ।

एउटा स्थानीय सरकारको मुख्य आयोजना रहेको महोत्सवमा यति हदसम्मको कमजोरी होला भन्ने धेरैले सोचेका पनि थिएनन् । तर यस्तो संवेदनशील बिषयमा तानसेन नगरपालिकाले ध्यान दिन सकेन । आफ्नो जिल्लाका लागि परेमा निःशुल्क सेवा गर्न आतुर कलाकारहरु नगरपालिकाको यो कार्यबाट निराश भए ।

मेयरको काम अध्यक्षता ग्रहण मात्रै
तानसेन नगर क्षेत्रको बिकास कमजोर हुँदै गएको छ । अहिलेका जनप्रतिनिधिबाट नगरका जनतामा कुनै आशा छैन । अध्ययन बिनाको दैनिकी र सीमित गुटका कारण तानसेन नगरपालिका थप सुनसानतर्फ उन्मुख हुँदै

छ । जम्बो टोली सहितको सल्लाहकार समिति छ तर सल्लाहकारलाई नै सल्लाह चाहिने अवस्था छ ।
यो महोत्सवको सन्दर्भमा तानसेनका मेयर सन्तोषलाल श्रेष्ठको भूमिका अध्यक्षता ग्रहण गर्नेमा मात्रै सीमित देखियो । उद्घाटन र समापन कार्यक्रममा अध्यक्षता ग्रहण गर्ने बाहेक महोत्सव र यसको औचित्यबारे मेयर श्रेष्ठले १ मिनेट पनि सोचेको हामीले पाएनौं ।

महोत्सवको अवधि २ दिन थप्ने कार्यपालिकाको निर्णय लगत्तै हामीले मेयर श्रेष्ठलाई प्रश्न गरेका थियौ तर मेयर श्रेष्ठ आफ्नै अध्यक्षतामा भएको निर्णय प्रति जानकार देखिनुभएन ।

जनप्रतिनिधि कर्मचारी नाचगानमा सेवाग्राही मर्कामा
तपाइँले महोत्सवको प्रत्यक्ष प्रसारणको भिडियो त पक्कै हेरिरहनुभएको थियो होला । भिडियोमा को को नाचेको देख्नुभयो । पक्कै यहाँहरुको जवाफ आउँछ जनप्रतिनिधि र कर्मचारी बढी । स्टेजमा मच्ची मच्ची नाच्ने उनै जनप्रनिनिधि र कर्मचारी नै हुन् ।

हाम्रो आसय उनीहरु नाच्नुहुँदैन भन्ने हुँदै होइन । सोही समयमा उनीहरुको कार्यालयमा आएका सेवाग्राहीहरुको हालत के थियो होला ? अव नाच्ने जनप्रतिनिधि र कर्मचारीको मानवअधिकार हेर्ने कि सेवाग्राहीको ? तलव खाएर जनताको सेवा गर्न आएका जनप्रतिनिधि र कर्मचारीको मानवअधिकार सम्झेर सेवाग्राही खुम्चनुपर्ने अवस्था भयो ।

यो महोत्सवले खास प्रभाव पार्न नसकेको धेरैको बुझाई छ ।  बरु आयातित म्याद गुज्रनै लागेका सामाग्रीहरुको बिक्रीका लागि टेवा पुर्यायो । स्थानीय सरकार स्थानीय नागरिकको गौरव पनि हो । सरकारलाई परेको बेला नागरिकले सहयोग पनि गर्छन् । महोत्सव स्थलबाहिर रहेका एक जना सचेत नागरिकले भन्दै थिए । नगरपालिकालाई ६१ लाख नै चाहिएको हो भने बरु मेला हेर्न आएका ३ लाख दर्शकबाट २० रुपैयाँ ३३ पैसा बढी रकम टिकटमा जोडेर लिएर यो मेलालाई हेर्न लायक बनाउन सकिन्थ्यो नि ।

एमालेले पार्टी सदस्यहरुको परीक्षा लिँदै

पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परिक्षा लिन केन्द्राध्यक्ष र केन्द्र तोकेको छ । पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउने अभियान अन्र्तगत तानसेन नगर पालिकाका १४ वटै वडामा यही चैत्र ५ गते ११.३० देखी १२.०० बजेसम्म संगठीत सदस्यहरुको उपस्थितीमा परीक्षा सञ्चालन गर्ने नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । आत्रेयका अनुसार नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार परिक्षामा १५ वटा बहुबैकल्पिक प्रश्न आउनेछ र परिक्षार्थीले सहि उत्तरमा टिक लगाउनुपर्नेछ ।

लुम्बिनी प्रदेश कमिटीले तयार पारेको प्रश्न नेकपा एमाले र समसामयिक विषयसंग सम्बन्धित हुनेछ, जुन केन्द्राध्यक्षले जिल्ला पार्टी कार्यालयबाट लैजानुपर्नेछ । नेकपा एमालेका थप जिम्मेवारीमा जान अनिवार्यरुपमा परिक्षामा समावेश भएको हुनुपर्ने व्यवस्था गरेको छ । आफ्नो वडाभन्दा बाहिर रहेका संगठित सदस्यको अनलाईनबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।

परिक्षा सञ्चालनको लागी विहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटी पाल्पाको पदाधिकारी बैठक बसी प्रत्येक वडामा जिल्ला कमिटी सदस्यहरुबाट केन्द्राध्यक्ष, सहजकर्ता र परिक्षा केन्द्र तोकेको छ । जसमा केन्द्राध्यक्षले वडा कमिटी अध्यक्ष र सहजकर्ता संग समन्वय गरि परिक्षा सञ्चालन गर्ने छन् । बैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नारायणी शर्मा र जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज दामोदर घिमिरेले लामो समय पार्टीमा लागेर समाज रुपान्तरणको लागी काम गरिरहनुभएका संगठीत सदस्यहरु परिक्षामा सहभागी हुदा थप ज्ञानको हासिल हुने र पार्टी अझ चलायमान हुने बताउनुभयो ।

सोही बैठकले तानसेन नगरपालिका भित्रका कुखुरा र बाख्रा पालक किसानहरुको लागी चैत्र ९ गते शुक्रबार तानसेनमा विशेषज्ञ पशु डाक्टर र बैकंरबाट कुखुरा र बाख्रा पाल्ने तरिका लयायत व्यावसायिक योजनाका बिषयमा बिशेष तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सदस्यहरुलाई उद्यमशिलता बृद्धि गर्न पेशा गरिरहेका वा गर्ने योजना बनाउनुभएका सदस्यहरुलाई तालिममा सहभागीता गराउने नगरकमिटीले जनाएको छ । साथै बैठकले तानसेन नगरकमिटीको पूर्ण बैठक आउदो चैत्र १७ गते शनिवार तानसेनको पर्यटकिय स्थल रानीमहलमा गर्ने निर्णय गरेको छ । तानसेनको महत्वपूर्ण पर्यटकीयस्थलको थप प्रर्वधनको लागी रानीमहल बैठक प्रभावकारी हुने नगर कमिटी सचिव महेशलाल शाक्यले जानकारी दिनुभयो ।

तानसेन महाेत्सवकाे म्याद थप्ने बिषयमा आर्थिक चलखेलकाे आंशका

पाल्पा । तानसेन टुँडिखेलमा जारी प्रथम तानसेन महोत्सवको म्याद थप गर्ने विषयमा आर्थिक चलखेलको तानसेन बासीले आंशका गरेका छन् ।

तानसेन नगरपालिकाको मुुख्य आयोजना रहेको ब्यानर र प्रचार प्रसार गरिएपनि मेलाको सबै जिम्मेवारी ठेकेदार कम्पनी राजधानी राइड्स नेपालको हो ।

१० दिने मेला संचालनका लागि ठेकेदार कम्पनीले तानसेन नगरपालिकालाई रु ६१ लाख बुझाइसकेको छ । सम्झौता बमोजिमको समय पनि आज फागुन २९ गते सकिदैछ ।
तर तानसेन नगरपालिकाले ठेकेदार कम्पनीसँगको मिलेमतोमा पुुनः २ दिनको म्याद थपेको छ । यसमा सरासर आर्थिक चलखेल भएको जानकारहरुको भनाई छ ।

सम्झौता बमोजिम नगरपालिकाले प्रति दिनको ६ लाख १० हजार रुपैयाँ पाउछ । तर थपिएको २ दिनको रकम नगरपालिकाको खातामा जम्मा नहुने निश्चित छ । यसबाट पनि २ दिन मेला थपबाट आर्थिक चलखेल भएको एउटा सरल मान्छेले पनि बुझ्न सक्ने अवस्था देखिन्छ ।

मेलाको म्याद थप्ने सम्बन्धी निर्णय तानसेन नगरपालिकाको फागुन २९ गतेको कार्यपालिका बैठकले गरेको हो । तर बैठकको अध्यक्ष समेत रहनु भएका नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ आफैले गरेको निर्णयबारे जानकार छैनन् । उनले म्याद थप्ने निर्णय भएको तर अन्य विषयमा आफूजानकार नभएको भन्दै राजश्व शाखासँग बुझ्न भने ।

राजश्व शाखा झनै अन्यौल छ । यो समाचार तयार पार्दासम्म मेलाको म्याद थप र आर्थिक विषयमा भएको निर्णय के हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको राजश्व शाखा प्रमुख मधुसुधन घर्तीले बताए ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले ठेकेदार कम्पनी र तानसेन नगरपालिकाबिच भएको सम्झौताको ११ नम्बर बुँदामा बिपद् परेमा म्याद थपिन सकिने उल्लेख रहेको बताए । तर म्याद थप्दा आर्थिक व्यवस्था के हुने भन्नेबारे केही पनि उल्लेख छैन । यसर्थ पनि यो सम्झौतापत्रको प्रारम्भिक समयबाटै चलखेल भएको बुुझिन्छ ।

तानसेनको राजश्व शाखा अरु बेला कडा रहेको जनाउँछ । सामान्य नागरिकहरुलाई समेत पटक पटक दुख दिएको छ । राजश्व तिराएको छ । तर यति गम्भीर विषयमा यो शाखाले गर्ने भूमिका हेर्न तानसेनबासी आतुर छन् । पाल्पा समाचारपत्रसँगको कुराकानीमा राजश्व शाखा प्रमुख घर्तीले आफू यो बिषयमा नचुक्ने बताए । निर्णय कता के भएको छ थाहा छैन तर शाखा चुक्दैन । घर्तीले भने ।

ल मानौ विपद् पर्यो । यो बीचमा सामान्य पानी परेको एक दिन मात्रै हो । त्यस दिनलाई छुट दिने हो भने १ दिन थपे भइहाल्थ्यो । तर नगरपालिकाले २ दिन थपेको छ । यसबाट पनि आर्थिक चलखेलको शंका उत्पन्न भएको तानसेनका नागरिकहरुको बुझाई छ ।

किसानले गोरू बेचेर लैनो भैसी किन्न थाले

पाल्पा । केही वर्ष अघिसम्म बराङ्दी, चापपानी, खानीगाउँका अधिकांश किसान बिहान सबेरै दुध दही बेच्न तानसेन आउथे । अहिले गाउँमै सहकारी संचालनमा आएपछि उनीहरुलाई सहज भएको छ । मान्छेले बोकेर तानसेन ल्याउनुपर्ने समस्या टरेको छ, गाडीले बजारसम्म पु¥याउँछ ।

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीले भैसी प्रवर्धन कार्यक्रम संचालन गरेपछि किसानहरू खुशी भएका छन् । भैसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि कतिपयले हलगोरू बेचेर लैनो भैसी किनेका छन् ।

स्थानीय ६३ वर्षीय गोपी गैरेले दैनिक १० लिटर दुध बेच्ने गरेको बताउनुभयो । गोठमा एउटा लैनो र अर्को बर्केनो गरी २ ओटा भैसी छन् । दुध बेच्न समस्या छैन । गैरेका ४२ वर्ष हलो जोतेरै बिते । ३० वर्ष हलगोरू आफै पाल्नुभयो । बेशीको स्याले खेतमा गोठ बनाएर गोरु पाल्दै आउनुभएका गैरेले गत असारमा गोरू बेचेर अर्को लैनो भैसी थप्नुभयो । “गाउँ गाउँमा हाते ट्याक्टर आएपछि जोत्न समस्या छैन । गोरू पाल्न भन्दा भैसी पाल्न ठिक ठानेर भैसी पाल्न थाले ।” उहाँले भन्नुभयो । अव बर्केनो बेचेर लैनो थप्ने तयारीमा रहेको उहाँको भनाई छ ।

४२ वर्ष अघि हलो जोत्न जाँदा दिनको ५ रुपैयाँ ज्याला आउथ्यो । त्यसै गरी यो बीचका वर्ष बिते । अहिले दैनिक १ हजार ज्याला पुगेको थियो । भैसी पाल्न थालेपछि दैनिकी पनि फेरिएको छ । आयआर्जन पनि बढेको छ । उहाँले भन्नुभयो ।

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले भैसीपालन किसानका लागि प्रोत्साहन तथा दुध संकलन र बिक्रीमा सहयोग गर्न थालेपछि गैरे जस्तै धेरै किसानले भैसीपालन थालेका छन् । ११ वर्ष कतार बसेर २०७५ सालमा घर फर्कनुभएका स्थानीय ४८ वर्षीय बिष्णु प्रसाद भुसालको दैनिकी पनि सहकारीकै कारण फेरिएको छ । सहकारी मार्फत भकारो सुधार र गोठ सुधारमा ५० प्रतिशत अनुदान पाएपछि उहाँले ३ ओटा भैसी पाल्नुभएको छ । १ वर्षमा ३ हजार ४ सय २५ लिटर दुध बिक्री गरी उत्कृष्ट किसानको रुपमा पुरस्कृत भुसालले सरकारको तर्फबाट अझ केही सहयोग पाएमा भैसी थप गर्ने योजना रहेको बताउनुभयो ।

सहकारीले भैसीपालन प्रवर्धनका साथै कुरियो, बेसार पकेट क्षेत्र बनाई काम गरेको छ । सहकारीका अध्यक्ष कृष्ण भुसालका अनुसार कृषकहरुलाई भैसी खरिद देखि दुधको वजारीकरणसम्मको काममा सहकारीले सहयोग गर्दै आएको छ । यहाँ अहिले १ सय वढी भैसीपालक कृषकहरुले व्यवसायिक भैसी पालन गरी दुध विक्री गर्दै आएका छन् । प्रति परिवार दैनिक ३ लिटर देखि १५ लिटर सम्म दुध विक्री गर्छन् ।

२०७६ साल असोजमा ३ वटा सहकारीहरुलाई एकीकृत गरि सञ्चालन गरिएको यो सहकारीले कृषि उत्पादन र वजारीकरणलाई प्राथमिकता दिँदै आएको छ । भैसी खरिद, थरी र गोठ सुधारमा ५० प्रतिशत अनुदान दिएपछि किसान भैसीपालनमा आर्कषित भएका हुन् ।

सहकारीले बराङ्दीमा डेरी र तानसेनको नारायणस्थानमा संकलन र विक्री कक्ष स्थापना गरेको छ । शुद्व दुधको नामबाट सहकारीले परिचय बनाएको छ । यहाँ दैनिक ४ सय देखि ५ सय ५० लिटरसम्म दुध संकलन आएको छ । दुधको साथै शुद्ध घिउ र कुराउनी बनाएर सहकारीले नै बजारीकरण गर्दै आएको छ । सहकारीका सचिव कमलराज तिमिल्सेनाले भैसी पालन र डेरी संचालनको अलावा सहकारीले कुरिलो खेती देखि अकवरे खुर्सानी प्रर्वद्धन सम्मका कार्यक्रमहरू संचालन गर्दै आएको बताउनुभयो ।

चापपानीमा ८० वर्ष माथिका जेष्ठ नागरिक सम्मानित

भोजराज तिमिल्सिना । चापपानी
बगनासकाली गाउँपालिका–९ चापपानीले एक कार्यक्रम गरि ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वडा सदस्य कृष्णप्रसाद भुसालले सम्मान कार्यक्रमले घरपरिवारलाई समेत हामीले पनि बृद्ध बुवा आमालाई केही गर्नु पर्दछ भन्ने सन्देश दिने बताउनुभयो ।

कार्यक्रममा वक्ताहरुले घरपरिवारमा बेमेलका कारण वृद्ध आश्रम सम्म पुग्न र छुट्टै भान्सामा आगो बाल्न नपरोस साथै समय परिवेश सुहाउँदो परिवर्तन हुन जेष्ठ नागरिकहरुलाई समेत आग्रह गरेका थिए । कार्यक्रममा वगनासकाली पत्रकार समुहका अध्यक्ष भोजराज तिमिल्सिना, राम प्रसाद अर्याल वडा सदस्य यमलाल तिमिल्सिना लगायतका वत्त्ताहरुले जेष्ठ नागरिकहरू जिउदो भगवान भएको हुदा उहाँहरुको आशिर्वाद लिएर काम गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो।

आर्थिक बर्ष २०८० । ०८१ को लक्षित कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको लागि विनियोजित बजेट रकम रु ५० हजार बाट स्विटर र टोपी प्रदान गरि सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चापपानीका वडाध्यक्ष ठानेश्र्वर तिमिल्सिनाले जेष्ठ नागरिकहरुले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले जेष्ठ नागरिकहरु समाजको गहनाको रुपमा रहनुभएकोले उहाँहरुको अनुभवलाई युवा पुस्ताले समेत समेट्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वडा भित्र स्थायी बसोवास गरि नेपाली नागरिकतामा ८० बर्ष उमेर पुगेका ५४ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । वडा सचिव तिलक बहादुर बुचाको सन्चालन र जेष्ठ नागरिक समन्वय समितिका संयोजक पिताम्वर गाहाको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रतिभा संगम कार्यक्रम सम्पन्न

गोपाल प्रसाद वश्याल । पाल्पा
वाङमय प्रज्ञा–प्रतिष्ठान, पाल्पाको आयोजनामा नियमित मासिक प्रतिभा संगम कार्यक्रमको ६९ औं श्रृंखला तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा जम्मा १३ जना साहित्यकारहरूले कविता, मुक्तक, लघुकथा, गजल, हाइकु, साइनो, गुलेली कविता र समीक्षा जस्ता विविध विधामा रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार उपप्राध्यापक महेन्द्र पन्थीले “जीवन्त काकाकूल” शिर्षकको कवितामार्फत सिमितबाहेक भोक प्यासका कारण जीवनभर तड्पिनुपरेको नेपाली समाजको नियतिलाई उजागर गर्नुभयो । उहाँले कार्यक्रममा बाचन गरिएका रचनाका बारेमा टिप्पणी गर्दै रचनामार्फत श्रृंगार, ब्यंग्य, सौन्दर्यता र बिम्बमार्फत कविहरूले रोमाञ्चक जीवनका साथै समाजमा भएका विविध विकृतिको चिरफार गरेको बताउनुभयो ।

साहित्यकार राम प्रसाद अर्यालले हाइकुमार्फत सिर्जनाको संरचना तथा वाचन पक्ष बलियो भएको टिप्पणी राख्दै वाङमय प्रज्ञा–प्रतिष्ठान, पाल्पाले साहित्य क्षेत्रमा गरेको याृगदानको प्रशंसा गर्नुभयो । त्यस्तै कवि लक्षिमा ज्ञवालीले नारी शीर्षकको शार्दूलबिक्रडित छन्दको कवितामा नारीको योगदानको मूल्य दिनका लागि समाज आनाकानी गरिरहेकोप्रति आक्रोश ब्यक्त गर्नुभयो । अर्का कवि पुरुषोत्तम अर्यालले श्रृंगारिक र कारुणिक दुवै भावका भावका कवितामार्फत प्रेम र दया दुवै पक्षको जोडदार प्रस्तुति गर्नुभएको थियो । अर्का कवि धातानन्द शर्मा गहिरेले हाइकु, साइनो मार्फत प्रकृति सौन्दर्य र मानवीय विकृतिको चिरफार सँगसँगै गर्नुभएको थियो । गैरेले कार्यक्रममा प्रस्तुत रचनाहरूमाथि टिप्पणी समेत गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार हरि प्रसाद भट्टराईले राजनीतिक विकृतिका लागि सर्बसाधारणको पनि भूमिका दर्शााउने ब्यंग्यप्रधान गद्य कविता प्रस्तुत गर्नुभयो । अर्का साहित्कार गोम विक्रमले कमला भण्डारी ढकालको आधा जुन नामक मुक्तक संग्रह कृतिबाट र आफ्नै हालै प्रकाशित सुस्केरा मुक्तक संग्रहबाट मुक्तकहरूबाचन गर्नुभएको थियो । उहाँका मुक्तकमा राजनीतिक एवम् सामाजिक विकृतिमाथि प्रहार गरेको पाइयो । त्यसैगरी साहित्कार नेत्र प्रसाद न्यौपानेले श्रृंगारिक भावका मुक्तकहरू बाचन गर्नुभयो ।

साहित्यकार शंकर ढकालले आफ्नै कृति सारंगी वियोगबाट झ्याउरे भाकाका कविता वाचन गर्नुभयो । त्यस्तै गुलेली काब्यका रचनाकार रोहितप्रसाद ज्ञवालीले राजनीतिक विकृतिमाथि प्रहार गर्ने गुलेली कविता वाचन गर्नुभयो । उहाँले विकृत बैवाहिक सम्बन्धमाथि टिप्पणी राख्ने लघुकथा पनि सुनाउनुभएको थियो । नवोदित साहित्यकार कुन्दन अर्यालले इन्द्रेणी शीर्षकको कवितामार्फत नयाँ विहानीको आगमनसँगै सुन्दर भविष्यको आशावादी दृष्टिकोण दिएका छन् । वाङमय प्रज्ञा–प्रतिष्ठान, पाल्पाका महासचिव गणेश नेपालीले गजल र अध्यक्ष गोपालप्रसाद नारी शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

बगनासकालीमा ओम शान्ति ज्ञान मन्दिर भवन शिलन्यास

पाल्पा । बगनासकाली–१, चिर्तुङ्गधारा हिराबारी पाल्पामा ओम शान्ति ज्ञान मन्दिर भवनको सिलान्यास गरिएको छ । शनिबार महाशिवरात्री पर्वको अवसर पारेर ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाले ज्ञान मन्दिर भवन सिलन्यास, स्नेह मिलन, प्रवचन तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज विकासका पक्षमा साझा संकल्प आवश्यक हुने धारणा राख्नुभयो । उहाँले राजयोग, साधना र दिव्य प्रवचनसहितका कार्यक्रमले मानवीय मूल्य मान्यताको विकास गरी सकरात्मक संकल्प र कर्मबाट खराब आचरण त्याग्न सकिने बताउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका संयोजक एवम् ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पा क्षेत्रका सचिव ब्रह्मकुमार भानुप्रकाश पौडेलले प्रवचनहल, आधारभूत पूर्वाधारसहित ५ करोडको लागत अनुमानमा भवन निर्माणको संकल्प रहेकोले भवन निर्माण सहजताको लागि स्थानीय सहजीकरण आवश्यक हुने बताउनुभयो । उहाँले समाजमा सकरात्मक सोच, तनाव व्यवस्थापन र ईश्वरीय ज्ञान प्रवाह गर्न र वृहत कार्यक्रमसहित पाल्पाको पर्यटकीय विकासमा समेत पूर्वाधार निर्माणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव हरि नेपाल, इतिहासविद् निर्मल श्रेष्ठ, सामाजिक अभियन्ता शुकदेव खनाल, भैरहवा शाखाबाट ब्रह्मकुमार भुवन, बह्मकुमारी कमला लगायतले विचारको शुद्धिकरणले मन शुद्धिकरण हुने भन्दै जीवन सहज र सार्थक बनाउन ईश्वरीय ज्ञान आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवा, रामपुर, मदनपोखरा, गुल्मी, रुपन्देही लगायतका क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको थियो । बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्गधारामा रामप्रसाद ढुंगाना, शम्भु ढुङ्गानासहित चारजना ढुङ्गाना पहिवारले ५ रोपनी जग्गा भवन निर्माणको लागि प्रदान गर्नुभएको छ । समारोहमा जग्गा प्रदान गर्ने दाताहरूलाई अभिनन्दन गरिएको थियो ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पा क्षेत्रकी सञ्चालिका प्रेमा दिदीको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन रामपुर शाखाकी सञ्चालिका ब्रह्माकुमारी सरस्वतीले गर्नुभएको थियो ।

 

फोक्सिङकोटमा पनि मनाइयो अन्तराष्ट्रिय नारी दिवस

एवत सारू । पाल्पा
११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर रम्भा गाउँपालिका २ फोक्सिङकोटमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका सदस्य भोबीसरा सारूले वर्तमान संविधानले महिलाहरूलाई समानता प्रदान गर्न विभिन्न सुविधाहरू प्रदान गरिएकोले सबै महिला अझ जागरुक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रम्भा गाउँ कार्यपालिका सदस्य सरस्वती बिक तथा वडा सदस्य दुर्गाबहादुर थापाले महिला सशक्तिकरण र सचेतना आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा वडा सचिव धनकुमारी सारु, फोक्सिङकोट स्वास्थ्य चौकीका विष्णुमाया राना, जिल्ला समन्वय समितिका सदस्य भविसरा सारुलाई सम्मान गरिएको
थियो ।

कार्यक्रममा वडा सचिव धनकुमारी सारु, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक कृष्ण माया पाँडे मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो । फोक्सिङकोटका महिलाहरू वडा कार्यालयको प्राङ्गणमा जम्मा भएर महिला हक अधिकारका नारा लेखिएका प्लेकार्ड सहित ¥याली निकालेका थिए । कार्यक्रम महिला सञ्जाल समिति फोक्सिङकोटका अध्यक्ष उमी सरा सुनारीको अध्यक्षता र मनिषा आलेको सञ्चालनमा भएको थियो ।

नारी दिवस बहिस्कार गरें

भूकम्प भत्खौरु
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यामेराको ढुम्रो बोकेर बजार निस्कें । नारी दिवस मनाउन ताँती बाँधेर निस्केका महिला पुरुष सबैका अनुहार खुसी देखिन्थे । धेरै महिला थोरै पुरुष निस्केका । कसैका हातमा प्लेकार्ड, केही महिला पुरुषले व्यानर बोकेका । कसैले नारा भट्याएका त कसैले हैसेमा मच्चिदै कराएका । नारी एकता–जिन्दाबाद, ११४ औं नारी दिवस–मनाउँछौं मनाउँछौं, महिला पुरुष एकै हौं–एकै हौं, एकै हौं । यि र यस्तै विषयको हल्लाले तातेको माहोल ।
म बाटोको यौटो कुनोमा उभ्भेर व्यानर सहितको फोटो खिच्न क्यामेराको ढुम्रो ते¥स्र्याएँ । क्यामेराले क्लिक गर्न नपाउँदै मेरा हात लुलिए । फत्रक्क हात गले । मेरो क्यामेराले देखिहाल्यो–ब्यानर नेरै बसेको जनप्रतिनिधि । ति जनप्रतिनिधि जसका दुई श्रीमती छन् उही व्यानरको अगाडि नारी दिवस मनाउन हिँडेका । जेठी श्रीमती र आफ्ना नाबालक छोराछोरीलाई हेला गरेर कान्छी तिर घरजम गरेर बसेको कुपात्र नै मेरो क्यामेराले देखिहाल्यो । अनि नारी दिवसको त्यो फोटो खिच्नै सकेन मेरो क्यामेराको ढुम्रोले ।
त्यो देखेपछि मेरा मनले अनेकन सोंच्न थाले । केहिबेर बाटोमै उभिइरहें । र्याली केही अगाडि बढेपछि पुनः अर्को व्यानर सहितको लर्को आयो । यसलाई खिचेर समाचार लेख्छु भन्यो मनले र क्यामेरा व्यानर पट्टी ते¥स्र्याएँ । नियालेर हेरें । फेरी पनि फोटो खिच्न सकिन । ढुम्रोले देखिहाल्यो महिला हिंसाका नायक ।
उनका अल्ली धेरै श्रीमती । आफ्नै पेशामा रमेको व्यक्ति तर श्रीमती जम्मा गर्न सिपालु ।  तिनै मध्येकी एक श्रीमतीको निकै दर्दनाक कथा यस्तो थियो ।–“पहिले त तिमिलाई कान्छी बनाएर राख्छु भनेर नानाथरी प्रलोभन देखाएर फसायो । जब तेस्रोसँग पनि पल्केर उनलाई पनि ल्यायो अनि म झस्किएँ । मलाई देखाएका सपनाहरुका बारेमा सोधें । त्यसपछिका दिनमा मलाई निकै शारिरिक र मानसिक यातना दिन थाल्यो । यतिसम्म अमानवीय व्यवहार गर्यो कि–मेरो गुप्ताङ्गमा कहिले खुर्सानीको धुलो खन्याउथ्यो त कहिले चुरोटको ठुटोले झोस्थ्यो । कैयन दिन घरभित्रै थुनेर राख्थ्यो । यातना सहन नसकेपछि मैले डिभोर्स मागें र छुट्टै बसें । अहिले बल्ल होस खुलेको छ कि म सौता थपिन जानुको पाप व्यहोरेकी रहेछु । मैले अर्को एक नारी माथि नै हिंसा गरेंछु ।”
ति दिदी बोलेका आवाजहरु कानमा गुञ्जन थाले । केहिबेर टोलाएँ । क्यामेराको मुन्टो भूइँतिर फर्काएर उभिइरहेंँ । नारी दिवसका आवाजहरु ठूला स्वरमा बाटोमा घन्किरहेका थिए ।
म उभिएको ठाउँ फेर्ने निधो गरें र कार्यक्रमको मञ्च भएतिर जाने निधो गरें । भोलीको पेपरमा मञ्चको फोटो राख्छु भन्ने सोंच बनाएँ । मञ्चमा पनि कोहि महिला महिला हिंसा गरेका, कोहि महिला पुरुष हिंसा गरेका त कोहि पुरुषले महिला हिंसा गरेका धेरै देखें । क्यामेरा झिक्न मन लागेन र कार्यक्रम बाटै फर्कने निधो गरें । मेरो तर्फबाट आजको कार्यक्रम बहिस्कारै भयो ।
आइन्दा महिला दिवसमा यस्ता व्यक्ति उभिएका कार्यक्रमको फोटो नखिच्ने र समाचार नलेख्ने निधो गरें ।
फर्कदाँ चोकमा दुई दाजुहरु मज्जाले गफ चुटेका । छिमेकी दाइलाई सोधें –दाजु कता हो चट्ट परेर ? “बुढीयाले नारी दिवसको कार्यक्रममा आउनू भनेकी छ । आफूचाँही विहानै गइसकी म घरको मेलोमेसो मिलाएर आउँदा ढिला भयो ।” ति दाजुको बारेमा अलि पहिलै गाउँमा खुब गाँइगुईँ चलेको थियो । गाईँगुँई यस्तो थियो– “ जेठी श्रीमती सुत्केरी हुन नसकेका बेला आफै यौनाङ्गमा हात हालेर बच्चो थुते । श्रीमती पनि मरिन, बच्चो पनि मर्यो । त्यो अपराधि हो ।” हरेक क्षण भेट हुँदा उनको अनुहार हेर्नासाथ यहि कुराले मन विझेको हुन्थ्यो । आज पनि विझायो ।
महिला माथि हुने अनेक हिंसाका बारेमा बोल्ने दिन आज । लेख्ने दिन आज । छलफल गर्ने दिन आज । घर भित्र बर्षदिनका काममा कतै महिला हिंसा त भएनन् भरेर सल्लाह गर्ने दिन आज । आफ्नो समाजमा बर्षदिनमा केही घट्ना घटेकी भनेर खोज्ने दिन आज । आफ्नो वार्ड भित्र महिला हिंसाका घटना खोज्ने र निराकरणका लागि योजना बनाउने दिन आज । आफ्नो पालिका भित्र महिला हिंसाका घटना खोज्ने र समस्या समाधानका लागि योजना बनाउने दिन आज । साथसाथै महिला हिंसा सम्बन्धी विविध कार्यक्रम मार्फत जागरण ल्याउने र हिंसाका घटना न्यूनीकरण गर्न काम थाल्ने दिन आज ।
तर आज पनि विहान महिला हिंसा गरेको पुरुष दिउँसो नारी दिवस मनाउन हिड्यो छ । हिजो महिलामाथि कुकर्म र अपराध गरेको मान्छे पनि नारी दिवस मनाउन हिड्यो छ । दाइजो थोरै भयो भन्नेले पनि नारी दिवसको शुभकामना भनेर श्रीमतीसँगै फोटो राखेर सामाजिक सञ्जाल रंग्याएको छ । श्रीमतीलाई घरका काममा जोतेर आफू सुटेड बुटेड बनेर हिडेकै छ । चख्ख छ यो दुनिँया ।
अहिले पनि हाम्रो समाजमा छोरा नपाएको निहुँमा श्रीमती भकुरिएका छन् । बच्चा नपाएको निहुँमा श्रीमती पिसिएका छन् । अन्तर जातीय विवाह गर्यो भनेर बुहारीलाई घरबाटै लखेटिएका छन्, कुटिएका छन्, मारेर फालिएका छ्न । श्रीमतीले जागिर खाइन भनेर साँझ विहान टर्चर सहनेको कुनै हिसाबै छैन । घरकी स्वास्नी राम्री छैन भनेर अन्त मेसो मिलाएको छु भन्ने मेरै कानले सुनेका छन् । यस्ता तमाम् उदाहरण हाम्रो नेपाली समाजका महिलाले भोगिरहेका छन् । सहन बाध्य छन् । सामाजिक संरचनाले नै बाध्य पारेको छ ।
आजको कार्यक्रम बहिस्कार पछि मनमा धेरै तरंग उब्जे । कम्तिमा यि कुराबारे नारी दिवसमा छलफल हुनुपर्ने होइन र ?
१. हरेक वडा तहमा कति बालिकाहरुको शैक्षिक योग्यता के छ त्यस बारेमा कम्तिमा वडा कार्यालयलाई थाहा होस् । विद्यालय जान नपाएका र पढ्न नपाएका नानीलाई पढ्ने वातावरण बनाइयोस् ।
२. आफ्नो वडा कार्यालय तथा पालिका भित्र महिला हिंसाका घट्ना के के छन ? के के भए ? के कसरी समस्याको समाधान भयो ? आगामि दिनमा यस्ता घटना हुन नदिन के गर्ने भन्ने योजना बनोस् ।
३. आर्थिक रुपले समस्या ग्रस्त परिवारका लागि महिला लक्षित सिपमूलक तालिम सञ्चालन गरेर उनीहरुको आम्दानी बढाउने खालका कार्यक्रम घोषणा र कार्यान्वयन होस् ।
४. महिला मैत्री पालिका बनाउन के के गर्ने भनेर टोल टोलमा छलफल गरी निर्णय गरेर पालिकाभर कार्यान्वयन होस् ।
५. बाल विवाह, महिला माथि हुने यौन हिंसा, हेपाइ लगायतका दर्जनौं विषयमा पालिका र वार्ड स्तरबाटै कठोर निर्णय गरी कार्यान्वयन होस् ।
६. महिला स–सक्तिकरण र अवसरका क्षेत्र पहिचान गरी कार्यक्रम बनाई कार्यान्वयन होस् ।
७. घरभित्र हुने महिला हिंसा, विद्यालयमा हुने महिला हिंसा, समाजमा हुने महिला हिंसा, कार्य स्थलमा हुने महिला हिंसाका प्रकृति र सो को उपचारको कानूनी प्रवन्धका बारेमा आम महिलालाई सचेत पार्ने खालका गतिविधि गरियोस् ।
८. महिलाले महिलामाथि नै गर्ने अन्याय, अत्याचार, दमन र शोषण पनि खोजि गरी अन्त्य गरियोस् ।
९. राज्यका हरेक निकायमा बराबरी अवसर प्रदान गर्न काम पालिकास्तरबाटै सुरुवात गरियोस् ।
१०. हाम्रा सार्वजनिक कार्यक्रमका मञ्चमा जति जना पुरुष बस्छन् त्यतिनै महिला राखौं ।  पुरुष मात्रै मञ्चमा बस्ने प्रणालीको अन्त्य गरियो भन्ने सुन्न पाइयोस् । लेख्न पाइयोस् । अनि बल्ल मेरो क्यामेराको ढुम्रोले नारी दिवस देख्ने छ । मेरा कलमले नारी दिवसका समाचार लेख्नेछ ।
–जय नारी